काठमाडौं– राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयलाई प्राथमिकतामा पारेका छन् ।
कसैले विवादित क्रिस्चियन संस्थाले प्रधानमन्त्रीलाई दिएको तक्मालाई मुख्य समाचार बनाएका छन् भने कसैले विदा हुने बेला भएपछि प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले लाभका मुद्दामा मात्रै ध्यान केन्द्रीत गरेको विषयलाई प्राथमिकतामा पारेका छन् ।
नेपालको असहमतिले अड्कियो प्रदेश कमिटिको नामावली शीर्षकमा एङ्कर न्यूज छापेको आजको नयाँ पत्रिकाले प्रधानमन्त्री ओलीलाई सुशासनको तक्मा शीर्षकमा मुख्य समाचार छापेको छ ।
केरलाको चर्चका पादरी मार कुरिलोसदेखि सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङसम्मले पाएको यो पुरस्कार यसपाली ओलीलाई प्रदान गरिएको छ । युनिभर्सल पिस फाउन्डेसनले लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्री केपीशर्मा ओलीलाई एक लाख डलरको लिडरसिप एन्ड गुड गभर्नेन्स अबार्ड प्रदान गरेको हो ।
यस्तै सोहि कार्यक्रममा रक्सी खुवाएर करिब १५ सयले आशिर्वाद दिइएको समाचारमा उल्लेख छ। नेकपाका नेता माधव नेपालदेखि स्थानीय तहका जनप्रतिनिधिसम्मले धार्मिक गुरु मुनबाट आर्शिवाद लिएका थिए ।
प्लास्टिकको कपमा होली वाइन अर्थात पवितत्र रक्सी खुवाएर ती जोडीलाई आशिर्वाद दिइएको थियो । होली वाइनमा युनिभर्सल पिस फाउन्डेसनका अध्यक्ष सन म्योङ मुनको शुक्रकिट रहने अन्तराष्ट्रिय सञ्चार माध्यमलाई उदृत गर्दै नयाँ पत्रिकाले लेखेको छ ।
आजको नागरिक दैनिकले भने प्रधानमन्त्री कार्यालयमा वार रुम शीर्षकमा मुख्य समाचार छापेको छ ।
विकास निर्माणका काममा ढिलासुस्ती तथा राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या समाधानका लागि सीधै प्रधामन्त्री कार्यालयबाट सम्बन्धित मन्त्रालयसँग समन्वय गर्न वार रुम प्रयोगमा ल्याउन लागिएको समाचारमा उल्लेख छ ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं सहसचिव विनोदबहादुर कुँवरका अनुसार वार रुम तयार भएपछि प्रधानमन्त्रीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग पनि ‘टेलिप्रिजेन्ट’ मार्फत संवाद गर्न सक्ने जनाइएको छ ।
यस्तै उसले प्रधानमन्त्रीले एकलाख डलरको सुशासन पुरस्कार पाएको, चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय आन्दोलन र बेथितिको अखडा बनेको विषयलाई पनि विशेष महत्वका साथ छापेको छ । समाचारमा जनाइएअनुसार स्थापनापछि अहिलेसम्म आइपुग्दा विश्वविद्यालयले पटकपटक बन्दको सामना गर्नुुपरेको छ।
पछिल्लोपटक नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना लिने सूचना जारी भएसँगै विद्यार्थीले विश्वविद्यालय नै बन्द गराएका छन्। विश्वविद्यालयद्वारा अपारदर्शी तरिकाले सम्बन्धन दिइएका निजी क्याम्पसलाई समेत समेटेर भर्ना खुलाइएको भन्दै विद्यार्थी र प्राध्यापकले विरोध जारी राखेको समाचारमा उल्लेख छ ।
यस्तै आजको कान्तिपुर दैनिकले हिड्ने बेला रुचिका मुद्दा शीर्षकमा मुख्य समाचार छापेको छ ।
अवकाश हुन एक महिना मात्र छँदा प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले केही आर्थिक र व्यापारिक मुद्दालाई छिटो–छिटो पेसीमा पारेका छन् । तिनमा एनसेलका साथै अक्सिजन ग्यासका ५, भाटभटेनीका ७, अरूण इन्टरकन्टिनेन्टलका २ लगायतका मुद्दा रहेको समाचारमा उल्लेख छ ।
कान्तिपुरले विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्थाले आयोजना गरेको एसिया प्यासिफिक समिटका विषयमा सत्तारुढ दलमा असन्तुष्टि बढेको विषयलाई पनि विशेष महत्वका साथ छापेको छ । विवादित धार्मिक संस्थाको कार्यक्रममा सरकार प्रत्यक्ष सहभागी र सहयोगी बनेको भन्दै पार्टी नेताहरूले सार्वजनिक रूपमै आपत्ति जनाएका छन् ।
आजको अन्नपूर्णले भने विदेशी लगानी आउनै बाधा शीर्षकमा मुख्य समाचार छापेको छ भने श्रम समझदारी भएको एक महिनाभन्दा बढी हुँदा पनि मलेसियाको रोजगारी खुल्न नसकेको विषयलाई प्राथमिकतामा पारेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४