काठमाडौं–बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्चीको सम्पूर्ण काम ६० दिनमा सकाउने र त्यसपछि काठमाडौंमा पानी आउने भएको छ।
खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले आइतबारको ६० दिनपछि अर्थात २०७५ माघ १६ गतेभित्र मेलम्चीको सम्पूर्ण काम सक्ने र काठमाडौंमा पानी आउने ठोकुवा दिए।
संघीय संसद विकास तथा प्रविधि समितिको बैठकमा बारम्बर मेलम्ची खाने पानी अयोजनाले सांसद, मन्त्रीलगायत सम्पूर्णलाई गलत जानकारी दिइरहेको भन्दै सांसद खनिएपछि मन्त्रालयका सचिवले अब भने त्यस्तो नहुने र ६० दिनपछि मेलम्चीको सम्पूर्ण काम सकेर पानी आउने ठोकुवा दिएका हुन्।
पानी ल्याउने योजना
सचिव ठाकुरका अनुसार हालसम्म २४ किलो मिटर टनेलको फिनिसिङ सकिएको छ। दैनिक ९० मिटरसम्म फिनिसिङको काम भइरहेको छ। त्यसलाई कायम गरिए अबको ४० दिनमा टनेल फिनिसिङ हुन्छ।
सुरुङको फाइनल फिनिसिङ्ग गर्न दुई किलोमिटर छ। यो काम ३० दिनभित्र सम्पन्न हुने ठाकुरले बताए । दुई ओटा भेन्टिलेसन साफ्ट निर्माण गर्न बाँकी छ। जो ३० दिनमा सम्पन्न गरिने दाबी गरिएको छ।
आयोजनामा हाइड्रोमेकानिकल नौं ओटा, सुन्दरिजल सप्लाई पाईप २४० मिटर एक महिनामा सम्पन्न गरिनेछ।
इन्ट्युमेण्टेसन जडानको फाइनल फिनिसिङ्ग ४५ दिन, हेडवक्सको मुख्य संरचना, २६ ओटा हाईड्रोमेकानिकल जडान भने मार्चसम्म लाग्ने अयोजकले जनाएको छ। स्थानीयबासीको मुद्धा सम्बोधन हुन बाँकी छ साथै ठेकेदार कम्पनी सीएमसीलाई ३६ करोड रुपैयाँ लगायतका सम्पूर्ण कार्य ६० दिनभित्र गरिने दावी गरिएको छ।
मेलम्ची खाने पानी आयोजनका अनुसार हालसम्म ९०.८ प्रतिशत खर्च भइसकेको छ। भौतिक प्रगति ९६.३ प्रगति भएको छ। अहिलेसम्म २६.३५ अर्ब रुपैयाँ खर्च भइसकेको खानेपानी मन्त्रालय ठाकुरको भनाइ छ। सन् ०१४ को दरभाउअनुसार अयोजना सम्पन्न हुँदासम्म करिब २९ अर्ब रुपैयाँ खर्च हुने देखिन्छ।
सचिव ठाकुरकाअनुसार अबको ६० दिनपछि टनेलमा पानी छोडिनेछ। त्यसपछि परिक्षण सुरु गरिनेछ। टनेल भर्न ३/४ दिन लाग्नेछ। पहिलो चरणमा मेलम्ची एक हजार किलोमिटर वितरण गरिनेछ। पानी काठमाडौंको महाकालचोक, पानी पोखरी, बाँसबारीलगायतका पुरानै संरचानामा सुरुमा पानी राखिनेछ।
त्यसको छ महिनापछि नयाँ पाइपबाट पानी बितरण गरिनेछ। मेलम्चीको पानी पहिलो चरणको दैनिक १७ करोड लिटर पानीको वितरणबाट चार अर्ब र दोस्रो ३४ करोड लिटरको वितरणबाट १२ अर्ब रुपैयाँ राजस्व संकलन हुने मन्त्रालयका सचिव ठाकुरको भनाई छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४