शनिबार, साउन ९, २०८३

को हुन् काठमाडौंमा रमाएका हुन सेन ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एसिया प्यासिफिक समिटमा आउने विदेशी पाहुनामध्ये कम्बोडियाली शासक हुन सेनको चर्चा बढी भयो । उनी काठमाडौंमा नयाँ पाहुना थिए । खराब शासकका रुपमा छवि बनाएका हुन सेनलाई अन्तर्राष्ट्रिय र क्षेत्रीय फोरममा प्रायः निम्ता नगर्ने चलन छ। त्यसैले काठमाडौं यो समिट उनका लागि एउटा अवसर बन्यो धमिलिएको छवि सुधार गर्ने । काठमाडौं बसाइका क्रममा उनलाई नेपालका शीर्ष नेताहरूले निकै महत्त्व दिएको देखियो । साथै यहाँको आतिथ्य पाउँदा उनी निकै रमाएको देखियो । 

कम्बोडियाली वामपन्थी नेता पोल पोटको नेतृत्वमा भएको खमेर रुज विद्रोहका एक सैन्य कमान्डर थिए हुन सेन । विद्रोहकै क्रममा आन्तरिक शुद्धीकरणका लागि भन्दै उनी आफ्ना कमान्डको फौजी टुकडी लिएर भियतनामतर्फ भागेका थिए । कम्बोडियामाथि हमला गर्ने योजनामा रहेको भियतनामले विभीषण नै पायो । भियतनामकै पहलमा खमेर रुज शासन पतन हुन पुग्यो । 

त्यतिबेला हुन सेन विद्रोही सैन्य कमान्डर थिए । सन् १९७९ मा भियतनामले कम्बोडियामा कठपुतली सरकार गठन गर्‍यो, त्यो सरकारमा हुन सेन उपप्रधान तथा परराष्ट्रमन्त्री बन्न पुगे । 

उपप्रधानमन्त्री भए पनि हुन सेनको राजकीय हैसियत चानचुने थिएन । तत्कालीन सरकार प्रमुख चान साइको निधनपछि सन् १९८५ मा भएको निर्वाचनमा उनी प्रधानमन्त्री चयन भए । त्यसपछि उनलाई कहिल्यै फर्केर पछाडि हेर्नुपरेको छैन । अहिलेसम्म उनी कम्बोडियाली राज्यसत्तामा टिकिइरहेका छन् ।     प्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीको हैसियतमा सन् १९९१ को पेरिस शान्ति वार्तामा महत्त्वपूर्ण भूमिका खेलेर अन्तर्राष्ट्रिय समुदायमाझ ख्याति कमाएका थिए । 

तथापि उनीमाथि रायसत्ता दुरुपयोग गर्दै नरसंहार गरेको आरोप छ । एमनेस्टी इन्टरनेसनलको सन् १९८७ को प्रतिवेदनअनुसार कम्बोडियामा हजारौं राजनीतिक आस्थाका बन्दीलाई ‘विद्युतीय झट्का दिएर नरसंहार’ गरिएको थियो । यो नरसंहार उनकै नेतृत्वमा भएको आरोप छ । उनकै निर्देशनमा कपडामा लगाउने आइरन तताएर पनि विरोधीहरूको हत्या भएको थियो । भिन्न मत राख्ने कैयन् नागरिकलाई प्लास्टिकका थैलाभित्र हालेर हत्या गरेको आरोप उनीमाथि छ । 

उनको दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा व्यापक धाँधली गरेको प्रतिवेदन संयुक्त राष्ट्रसंघको पर्यवेक्षक टोलीले सार्वजनिक गर्दै उनलाई अयोग्य ठहर गरिएको थियो । तर उनी दोस्रो पटक प्रधानमन्त्री भए भने आफ्नो पार्टीको अध्यक्ष पनि भइरहे । हुन सेन सन् १९९३ देखि १९९८ सम्म प्रधानमन्त्री रहे । सन् १९९७ मा राजकुमार नरोद्दमसँग विवाद भएपछि उनीहरुबीच समीकरण खलबलियो ।   
 
सन् १९८५ देखि हालसम्म सत्तासीन हुन सेनको मुलुक कम्बोडियामा रोग, भोक, शोक र सामाजिक अराजकता व्याप्त छ । कम्बोडियामा सन् २०१७ भर नै नागरिकको अभिव्यक्ति स्वतन्त्रता एवं सभासम्मेलन गर्न पाउने अधिकारउपर हुन सेन सरकारले रोक लगाएको थियो ।

त्यसै बेला खमेर रुज निकट फुनसिनपेक पार्टी खुला राजनीतिमा आउन वार्तामा सामेल भयो । यस राजनीतिक घटनाक्रमलाई हुन सेनले नजिकबाट नियालिरहेका थिए । फुनसिनपेक पार्टी पनि कम्बोडियाली राजनीतिमा सामेल भएको भए हुन सेनलाई निकै गाह्रो पथ्र्यो । उनको राजनीतिक यात्रा अघि बढ्न सहज हुँदैनथ्यो ।

त्यसलाई बुझेर सत्तासीन हुन सेनले सन् १९९७ मा सत्ता कु गरे । यसपछि हुन सेन द्वितीय प्रधानमन्त्री भए । उनले राजकुमार नरोद्दमलाई विस्थापित गरी आफ्नो अनुकूलका उङ्ग हाउतलाई प्रथम प्रधानमन्त्री बनाएर सत्ताको बागडोर आफ्नो हातबाट बाहिर जान दिएनन् । 

त्यसलगत्तै सन् १९९८ मा भएको आमनिर्वाचनमा सकेजत्ति धाँधली गरी हुन सेन आफू मात्र एक्लो प्रधानमन्त्री हुन पुगे । एमनेस्टी इन्टरनेसनलले हुन सेनमाथि ‘फुनसिनपेक पार्टीका नेताहरुलाई गैरकानुनी तवरले धरपकड गर्ने, यातना दिने र गैरन्यायिक रूपमा हत्या गरी विपक्षलाई सफाया गर्ने’ गरेको आरोप लगाएको छ ।    

तर सन् २००३ को निर्वाचनमा कम्बोडियाली सदनमा एउटा अनिर्णियको स्थिति पैदा भयो । हुन सेनको दल सिपिपीले ठूलो बहुमत त ल्यायो तथापि एक्लैले सरकार बनाउने स्थिति भने बन्न सकेन। किनकि संवैधानिक व्यवस्था भएबमोजिम हुन सेनको दलले दुई तिहाई बहुमत ल्याउनुपर्ने हुन्थ्यो । त्यो संवैधानिक गाँठो फुकाउन आखिरमा उनकै दल सिपिपी र त्यसको विरोधी दल फुनसिनपेक मिलेर सत्ता समीकरण गरी मिलिजुली सरकार बनाए । त्यस समीकरणले राजकुमार रणरिद्दलाई राष्ट्रिय सभाको सभाध्यक्ष बनायो । अनि हुन सेन फेरि शक्तिशाली कार्यकारी प्रधानमन्त्री बने । 

सन् २०१३ को निर्वाचनमा उनले व्यापक अनियमितता र धाँधली गरेको प्रशस्त प्रमाण भेटिए । शक्ति संघर्षका क्रममा उनको अगुवाइमा राजनीतिक हत्या हुन थाले । विपक्षी दलहरु, असन्तुष्ट बौद्ध भिक्षुहरु एवं अन्य प्रतिपक्षका व्यक्तिहरुले विशाल विरोध प्रदर्शन गरे । विरोधीहरुलाई तह लगाउन व्यापक रुपमा दंगा नियन्त्रण प्रहरी परिचालन गरियो । प्रदर्शनकारीहरुप्रति इंगित गर्दै उनले जति विरोध भए पनि आफू निर्वाचित प्रधानमन्त्री भएको र कुनै पनि हालतमा सत्ता पनि नछोड्ने र नयाँ निर्वाचन पनि नगराउने अडानमा रहे । 

हालसम्म सत्तासीन हुन सेनको मुलुक कम्बोडियामा रोग, भोक, शोक र सामाजिक अराजकता व्याप्त छ । सन् २०१७ भर नै नागरिकको अभिव्यक्ति स्वतन्त्रता एवं सभासम्मेलन गर्न पाउने अधिकारउपर हुन सेनको सरकारले रोक लगायो । भ्रष्टाचार नियन्त्रण गर्न बनेको सरकारी निकाय नै प्रयोग गरी हुन सेनले विरोधीहरुमाथि दमन गरिरहेका छन् । गत वर्ष उनले त्यहाँको सदनमा विपक्षी दलको उपस्थिति हटाउन अल्पमतका नेता र बहुमतका नेताको प्रावधान खारेज गरिदिए ।   

अहिले उनले विपक्षी दलका कुनै पनि नेता या कार्यकर्ताले सत्तारुढ दलका मन्त्रीहरुलाई कुनै पनि प्रश्न गर्न नपाउने व्यवस्था मिलाएका छन् । उनको अलोकतान्त्रिक कदमको विरोधमा साम रेन्सीले विपक्षी दलको नेताबाट राजीनामा दिए । तर विपक्षी दललाई बन्देज लगाउने प्रावधान राखेर उनले संविधान संशोधन गरिसकेका छन् । 

आफ्ना तीन छोरालाई विभिन्न सरकारी निकायमा नियुक्त गरी मुलुकको भावी शासकका रूपमा स्थापित गर्ने प्रयासमा छन् हुन सेन । एक छोरा हुन मनेतलाई भरखरै शाही कम्बोडियाली सेनाको चारतारे जर्नेल बनाएका छन् । अर्का छोरा हुन मानित शाही कम्बोडियाली सेनाकै गुप्तचर विभागका महानिर्देशक  र कान्छा छोरा राष्ट्रिय सभाका शिक्षा तथा संस्कृति आयोगका अध्यक्ष छन् । यसरी हुन सेनले कम्बोडियामा परिवारिक शासनलाई निरन्तरता दिन खोजेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।