धनगढी-डा. गोविन्द केसीले निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको प्रमाण नष्ट गर्नेविरुद्ध फौजदारी अभियोग लगाएर कारवाही गर्नुपर्ने बताएका छन् ।
प्रमाण गर्नेविरुद्ध मुद्दा नलगाएसम्म सत्यतथ्य बाहिर नआउने उनको भनाई थियो । यसका लागि आफू अग्रसर हुने पनि उनको भनाई छ ।
निर्मला पन्तको न्यायको लागि भन्दै कञ्चनपुरमा जारी अनसनलाई ऐक्यवद्धता जनाउन आएका केसीले आइतवार धनगढीमा स्वास्थ्य पत्रकार समूह सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित पत्रकार भेटघाटमा केसीले सरकारले नै अपराधीलाई संरक्षण दिइरहेको आरोप लगाए ।
निर्मला पन्तको घटनाले ३ करोड नेपालीलाई नै लज्जास्पद बनाएको बताउँदै उनले राज्यबाटै प्रमाण नष्ट भएकाले राज्यले गरेको ठूलो अपराध रहेको समेत आरोप लगाएका हुन् ।
डा. केसीले राज्यबाट उपेक्षित भएकोले सुदूरपश्चिमको स्वास्थ्य अवस्था दयनीय बनेको बताए । गरीब निमुखा जनता बिरामी भए नजिकमा प्रभावकारी स्वास्थ्य सेवा दिने स्वास्थ्य संस्था नभएको कारण अझै पनि बाहिर जानुपर्ने बाध्यता रहेको बताए ।
पछिल्लो समय स्वास्थ्य सेवामा चरम व्यापारीकरण भएकाले गुणस्तरीय स्वास्थ्य सेवामा सम्मानजनक पहुँच भएको उनको धारणा थियो । जसको लागि आफू चरणबद्ध रुपमा अनसन बस्दै आएको बताउँदै उनले आफूसँग सरकारले गरेको समझौता यथाशीघ्र पास नगरे पुस २ गतेदखि पुनः अनशन बस्ने समेत चेतावनी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४