काठमाडौं – राप्रपा अध्यक्ष कमल थापाले संगठन सुदृढीकरण र हिन्दू राष्ट्रका लागि पार्टीले आन्दोलन गर्ने घोषणा गरेका छन्। उनले यस बिषियमा निर्णायक आन्दोलनको तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
आइतबार आफ्नो बसोबास क्षेत्र काठमाडौं– ५ को क्षेत्रीय समिति, नगर र वडा समितिका पदाधिकारी तथा सदस्यहरुको बैठकमा अध्यक्ष थापाले विगतका गल्ती, त्रुटि र कमजोरीलाई सच्याउँदै पार्टी र नेतृत्व बारेमा फैलाइएको भ्रमलाई चिरेर युद्धस्तरमा संगठन बिस्तार तर्फ ध्यान दिन आग्रह गरे। सरकार असफलता तर्फ लागिसकेको भन्दै थापाले जनताको चाहना र भावनालाई सरकारले बुझ्न नसकेकोमा दुःख प्रकट गरे। पार्टीले देश, जनता र आर्थिक विकासलाई केन्द्रमा राखेर अगाडि बढ्न आवश्यक भएको चर्चा गर्दै अध्यक्ष थापाले विकास, आर्थिक समृद्धि र सुशासनको निमित्त स्पष्ट खाका र कार्ययोजना चाहिने बताए।
निर्मला पन्त प्रकरणमा सिङ्गो राज्य संयन्त्र असफल भएको अध्यक्ष थापाको दाबी थियो। सस्तो प्रचारबाजीमा लागेर सरकारले जनविश्वास गुमाएको उनको तर्क थियो।
सो अवसरमा पार्टीका नेताहरु भुवन पाठक, विक्रम थापा, प्रा.डा. गिताभक्त जोशी, राजाराम बर्तौला, भरत पाठक, सुनिता कुरुम्वाङ, सिर्जना रानी बर्मा, विजय खड्का, नबराज सिंखडा, केशव रेग्मी, सन्तोष अधिकारी लगायतको उपस्थिति रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४