शुक्रबार, वैशाख २१, २०८१

धानचामल उद्योगीले के मागे प्रधानमन्त्रीसँग ?

 |  बुधबार, मंसिर २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २७, २०८०

काठमाडौं- धानचामल उद्योगीले प्रधानमन्त्री पुष्पकमल दाहाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेका छन्। भेटमा उनीहरुले भारतबाट भन्सार छुट सुविधामा १० लाख टन धानको आयात गर्ने व्यवस्था गराइदिन माग गरेका छन्।

triton college

चामल‚ तेल र दाल उद्योग संघका तर्फबाट गएको उद्योगीको समूहले नेपालमा खाद्यान्न संकट र मूल्यवृद्धिलाई नियन्त्रण गर्न तत्काल भन्सार छुट सुविधाको धान आवश्यक परेको भन्दै धानको कोटाका लागि कूटनीतिक पहल गर्न आग्रह गरेको हो। संघले आर्थिक वर्ष २०८०-८१ का लागि १० लाख टन धानको अभाव हुने उल्लेख गर्दै यसका लागि सरकारले भारत सरकारलाई अनुरोध गरिसकेको स्मरण गराएको छ। तर अहिलेसम्म भारत सरकारले नेपालका लागि भन्सार छुट सुविधामा धान उपलब्ध गराउने निर्णय नगरेको हुँदा अन्योल बढ्दै गएको संघको भनाइ छ।

भारतले सन् २०२३ का लागि नेपाललाई भन्सार छुट सुविधामा ६ लाख टन धान आयातको सुविधा दिएको थियो। उक्त परिमाणको धान नेपालमा आइसकेको छ। भारत सरकारले सन् २०२४ को निर्वाचन र आन्तरिक खाद्यसुरक्षालाई दृष्टिगत गर्दै धानको निर्यातमा २० प्रतिशत महसुल निर्धारण गरेको छ। नेपालतर्फको भन्सार विन्दुमा धानको आयातमा कृषिसुधार शुल्कबापत ५ प्रतिशत तिर्नुपर्छ।

संघले प्रधानमन्त्री दाहाल र मन्त्री रिजाललाई दिएको ज्ञापनपत्रमा नेपाल र भारत दुवैतर्फ यस वर्ष धानको उत्पादनमा १५ प्रतिशत ह्रास आएको हुँदा मूल्यवृद्धि भएको उल्लेख गरिएको छ। ज्ञापनपत्रमा भनिएको छ,- ‘यसको प्रत्यक्ष असर नेपालमा परेको छ र उपभोक्ताले महँगो मूल्यमा चामलको खरिद गरिरहनु परेको छ। साथै अर्बौंको लगानीमा खुलेका नेपालका धानचामल उद्योग पनि संकटमा परेका छन्।’

प्रकाशित: Dec 13, 2023| 14:33 बुधबार, मंसिर २७, २०८०
प्रतिक्रिया दिनुहोस्