शुक्रबार, पुस ४, २०८२

हुण्डीको जालो च्यात्ने त्यो पहिलो अपरेसन

नेपाल प्रहरीले संस्थागत रुपमा कुनै अपरेसन चलाएको त्यो पहिलो पटक थियो।
 |  शनिबार, मंसिर ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३०, २०८०

काठमाडौं- २०७२ असोज दोस्रो साता नेपाल प्रहरीले एउटा यस्तो अपरेसन सुरु गर्‍यो, जसबाट हुण्डी कारोबारीहरुमा खल्बली मच्चियो। नेपाल प्रहरीले नियमित गर्ने अपराध नियन्त्रणका कामभन्दा फरक र विशेष थियो त्यो अपरेसन। महानगरीय अपराध महाशाखाको पहलकदमीमा चलाइएको उक्त अपरेसनपछि वर्षौंदेखि छानबिनको दायरामा आउनबाट जोगिएको अवैध हुण्डी कारोबार निस्तेज भएको थियो।

National life

प्रहरीले कुनै पनि अपरेसन चलाउनुअघि विभिन्न पूर्वतयारी गर्नुपर्छ। टिम बनाएर सूचना संकलन गर्ने, प्रमाणहरु जुटाउने, शंकास्पद अभियुक्तहरुलाई निगरानीमा राख्ने काम निकै चलाखीका साथ गर्नुपर्छ। 'अवैध हुण्डी कारोबार बढिरहेको र यसैमार्फत मनि लन्ड्रिङ पनि भइरहेको सूचना प्रहरीसम्म आइरहेको थियो। मनि चेन्जरहरु शंकाको घेरामा थिए। बैंकसमेत संलग्न भएको कुरा आइरहेको थियो। अन्तर्राष्ट्रिय समुदायले पनि सम्पत्ति शुद्धीकरणको विषयमा चासो राखिरहेकै थियो। यी विषयमा तथ्यगत अनुसन्धान र विश्लेषण गर्नुपर्ने आवश्यकता थियो, प्रमाणहरु जुटाउनुपर्ने थियो,' त्यतिबेला महाशाखाको नेतृत्व गरिरहेका एसएसपी सर्वेन्द्र खनाल सम्झन्छन्, 'हामीले पर्याप्त सूचना संकलन गरी प्रमाणहरु जुटाएर अपरेसन चलायौं।'

खनाल नेतृत्वकै टिमले अवैध हुण्डी कारोबारीमाथि धावा बोल्यो। करोडौं रकमसहित अभियुक्तहरु समातिए। 'ठूलो परिमाणमा कारोबार गर्नेहरुलाई पहिलो टार्गेट बनाइयो। एक-डेढ महिनाको अनुसन्धानपछि प्रमाणका आधारमा र प्रमाणसहित नै कारोबारीहरु समातिएका थिए,' खनालले भने।

नेपाल प्रहरीले संस्थागत रुपमा कुनै अपरेसन चलाएको त्यो पहिलो पटक थियो। 'फाट्टफुट्ट समातिने र राजस्व अनुसन्धान विभागमा पठाइदिने त हुन्थ्यो तर अपरेसन नै चलाएर ठूलो परिमाणमा भएको थिएन। त्यो अपरेसनपछि हुण्डी कारोबारी त्राहिमाम भए, हुण्डी उल्लेख्य रुपमा घट्न पुग्यो। एउटा माइलस्टोन नै बनेको थियो त्यो अपरेसन,' खनाल भन्छन्। आर्थिक अपराधले संगठित रूप लिँदै गएकाले समाजमा संगठित आर्थिक अपराधमा विशेष तवरले छानबिन थालिएको थियो। अवैध हुण्डी कारोबारीमाथिको कदम त्यही अभियानको एक हिस्सा थियो।

कुनै पनि अपराध नियन्त्रणको काम जोखिमपूर्ण हुन्छ नै। त्यसमा पनि आर्थिक अपराधमा बढी जोखिम हुन्छ। अनुसन्धानमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने सम्भावना पनि हुन्छ। हुण्डीविरुद्धको अपरेसनका क्रममा ज्यान नै जोखिममा रहेको सम्झन्छन् अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत। 'जोखिमपूर्ण थियो त्यो अपरेसन। पैसाको कुरा भएपछि जोखिम झन् बढी हुन्छ। पैसा भनेको पावर पनि हो। अवैध पैसाले हतियार खरिद गरिएको हुन्छ। अपराधबाट कमाएर त्यो रकम फेरि अपराधमै खर्च गर्छन्। अपराधीहरु किनेका हुन्छन्,' उनले भने।

Laxmi sunrise bank
kumari

पर्याप्त पूर्वतयारी गरेर निकै सुझबुझका साथ एक्सनमा उत्रिएका कारण हुण्डी अपरेसनमा प्रहरीले सफलता हात पार्‍यो। 'प्रहरीलाई सबैतिरबाट सहयोग भयो। व्यापारीले नै पनि सूचना दिए। कतिपय व्यापारीलाई हामीले सुराकीकै रुपमा प्रयोग गरेका थियौं,' खनालले सम्झिए, 'अपरेसनपछि राम्रा भनिएका मान्छेको मुखुन्डो उत्रियो। देशको अर्थ व्यवस्थालाई नै डामाडोल बनाउने तहको अपराध नियन्त्रणमा महत्वपूर्ण कोशेढुंगा बन्यो हुण्डी अपरेसन। देशको अन्तर्राष्ट्रिय छविको कुरा पनि थियो। प्रहरीले जुन किसिमको परिणाम आउने अपेक्षा गरेको थियो, त्यस्तै आयो पनि। राज्यको राजस्वमा नै यसको प्रभाव देखिएको थियो। नियामक निकायलाई पनि प्रभावकारी नियमनका लागि दबाब बढ्यो।' राष्ट्र बैंकका कर्मचारीको मिलेमतोमा समेत गैरकानुनी काम भएको खुलासा अपरेसनबाट भएको थियो।

अपरेसनका क्रममा सुन्धारा, न्युरोड र ठमेलका मनि एक्सचेन्ज र ट्राभल एजेन्सीमा छापा मारिएको थियो। रेमिट्यान्स कार्यालय, ट्राभल एजेन्सी र मनि चेन्जरबाट हुन्डीको पैसासहित सञ्चालकहरू पक्राउ परेका थिए। खिचापोखरीस्थित मिलाप चन्द जैनका सञ्चालक शंकरलाल कोठारीबाट १८ लाख ३३ हजार, नर्थ प्वाइन्ट मनि एक्सचेन्जका सञ्चालक राजाराम पाण्डेबाट ५९ लाख, ठहिँटीस्थित ओम मनि ट्रान्सफरका सञ्चालक राकेश वैद्यबाट ३१ लाख ९६ हजार रुपैयाँ बरामद भएको थियो। यसैगरी आरबी कम्प्लेक्सस्थित नीलगिरि रेमिटबाट ८८ लाख ३५ हजार, सुन्धारास्थित देउराली मनि एक्सचेन्जबाट ३६ लाख ५३ हजार, सुन्धारास्थित देउराली ट्राभल्स एन्ड टुर्सबाट ७११ अमेरिकी डलर, न्युरोडस्थित केसरी चन्द कोसरियाबाट १६ लाख बरामद भएको थियो। सुनचाँदी पसलेसमेत हुण्डीमा संलग्न भएको पाइएको थियो।

आठ वर्षअघि प्रहरीले अपरेसन नै चलाएर हुण्डीलाई निस्तेज पारे पनि यो आर्थिक अपराध फेरि मौलाइरहेको छ। फाट्टफुट्ट रुपमा हुण्डी कारोबारीलाई समात्ने काम त गरिरहेको छ तर संगठित रुपमै भइरहेको हुण्डी नियन्त्रण हुन सकेको छैन। पछिल्लो समय भइरहेको सुन तस्करीमा पनि हुण्डी कारोबारी जोडिएको पाइएको छ। गत सातामात्र सात किलो सुनसहित पक्राउ परेका एक व्यक्ति हुण्डी कारोबारमा पनि संलग्न रहेको पुष्टि भएको छ। प्रहरीले काठमाडौं महानगरपालिका–२२ स्थित न्यूरोडमा सञ्चालित दुईवटा सुन पसलमा छापा मारेर ७ किलो ८ सय ग्राम सुन बरामद गरेको थियो। बिलबिनाको सुनका गरगहना बिक्री गरेको तथा गैरकानुनी रूपमा हुण्डीमार्फत वित्तीय कारोबार गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

त्यसैगरी हुण्डी, अनलाइन जुवा, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबारमा संलग्न भएको आरोपमा थप तीनजना पक्राउ परेका छन्। गत ६ मंसिरमा पक्राउ परेका काठमाडौं बागबजारका रूपेश श्रेष्ठमाथि अनुसन्धान गर्ने क्रममा थप समातिएका हुन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मीनबहादुर जिसी, आशिष अग्रवाल र कुमार परियारलाई पक्राउ गरेको हो। उनीहरूले श्रेष्ठसँग मिलेर अवैध कारोबार गर्दै आएको पुष्टि भएको प्रहरीले जनाएको छ।

श्रेष्ठलाई ब्युरोले ९९ लाख रुपैयाँसहित पक्राउ गरेको थियो। उनको घरबाट ८९ लाख ६९ हजार नेपाली रुपैयाँ र अमेरिकी डलर सात हजार बरामद भएको थियो। उनले घरमा पैसा गन्ने मेसिनसमेत राख्दै आएका थिए। अनुसन्धानका क्रममा उनले दुई अर्बको हुण्डी कारोबार गरेको पुष्टि भएको छ।

के हो हुण्डी ?
एक ठाउँबाट अर्को ठाउँमा घरायसी किसिमबाट पैसा पठाउने र ल्याउने कार्यलाई हुण्डी भनेर बुझ्नु उपयुक्त हुन्छ। हुण्डी आन्तरिक र वैदेशिक दुवै हुन सक्छ। तर, वैदेशिक हुण्डीले अर्थतन्त्रलाई बढी हानि पुग्छ।

बैंकिङ माध्यमभन्दा बाहिरबाट पैसा विदेश पठाउने र विदेशबाट भित्र्याउने एउटा अवैध प्रक्रिया हो हुण्डी। सरसर्ती हेर्दा यो एक सामान्य किसिमको अपराध लाग्न सक्छ, तर यथार्थमा भने यसले देशको अर्थतन्त्रलाई नराम्ररी खोक्रो बनाइरहेको हुन्छ। यसले एकातर्फ राज्यको कर छल्ने काम गरेको हुन्छ भने अर्कोतर्फ अन्य किसिमका अपराधलाई पनि यसले प्रोत्साहन दिन्छ। सुन तस्करी र डलरको तस्करीमा समेत हुण्डीको जालो जोडिएको हुन्छ। हुण्डी कारोबारका लागि छुट्टै कार्यालय खोलिँदैन, अन्य व्यवसायको आवरणमा यस्तो काम हुने गर्छ। कपडा पसल, सुन पसल, ट्राभल एजेन्सी, मनि एक्सचेन्ज आदिको आवरणमा पनि धन्दा चल्ने गरेको पाइन्छ। हुण्डीले छाया अर्थतन्त्र अर्थात् स्याडो इकोनोमी फस्टाउने जानकारहरु बताउँछन्। हुण्डी बढ्दा राज्यलाई प्राप्त हुनुपर्ने विदेशी मुद्रा छाया अर्थतन्त्र वा गलत क्रियाकलापमा प्रयोग हुन्छ र यसबाट अवैध गतिविधि, आर्थिक अपराध र अन्य अपराधिक गतिविधिले प्रोत्साहन पाउँछन्।

विदेशमा आर्जन गरेको रकम औपचारिक माध्यमबाट नपठाई कुनै निजी व्यापारी, एजेन्ट, व्यक्ति वा दर्ता नभएका एजेन्सीमार्फत् स्वदेशमा पठाउने वा स्वदेशबाट विदेशमा पठाउने काम हो हुण्डी। वैदेशिक हुण्डीका कारण बाह्य मुलुकबाट देशमा आउनुपर्ने जति परिमाणमा विदेशी मुद्रा आउँदैन र राष्ट्रिय अर्थतन्त्रमा अभिलेखको रुपमा पनि देखिँदैन। रेमिटेन्स खाता घाटामा रहन्छ। अर्कोतिर देशबाट गैरकानुनी रुपमा राष्ट्रिय सम्पत्ति वा पुँजी पलायन भएर विदेश जान्छ। कतिपय अवस्थामा यही विदेश गएको रकम वैदेशिक लगानीको रुपमा फेरि अर्को बाटोबाट नेपाल भित्रिएर सम्पत्ति शुद्धीकरणको माध्यम पनि बन्न सक्छ।

नेपालमा आउने हुण्डीको रकम प्रायः विदेशमा काम गर्न गएका कामदारको पारिश्रमिक नै हो, जुन रकममा प्राप्त हुने विदेशी मुद्रा नेपालको बैंकिङ प्रक्रियामा नआई उतै रहने र सो रकमबाट तस्करी गरेर चोरी-पैठारी गरेका मालसामानको मूल्य भुक्तानीमा प्रयोग गरिन्छ।

त्यसैगरी अवैध हातहतियारको भुक्तानी, लागु पदार्थको भुक्तानी, नेपालबाट पुँजी पलायन गरी विदेश पठाउनुपर्ने रकमको भुक्तानी र सम्पत्ति शुद्धीकरणका लागि विदेशी लगानीका रुपमा नेपालका व्यापार-व्यवसायमा हुने लगानीमा समेत प्रयोग भएको पाइन्छ। यसका अलावा न्यून बिजकीकरण गरी भन्सारमा कम मूल्य घोषणा गरेर ल्याइने सामानको यथार्थ मूल्य भुक्तानी गर्न र नेपालका व्यवसायी घराना वा भ्रष्टाचारीहरूले अवैध रुपमा गरेको आर्जनलाई विदेश पठाउन समेत प्रयोग गरिन्छ। विभिन्न प्रक्रियाबाट नेपालबाट विदेशमा रकम पठाउने र विदेशबाट नेपालमा रकम भित्र्याइने गरिन्छ। यस कार्यमा एउटै समूह वा सम्पर्क कायम भएका समूह नेपाल र विदेशमा बसेका हुन्छन्। यसमा आधुनिक सूचना प्रविधिको प्रयोग गरिन्छ।

हुण्डी कार्यमा हाल प्रायः मोबाइलबाट प्रयोग गरिने भाइबर, ह्वाट्सएप, वीच्याट जस्ता प्रविधि पनि व्यापक मात्रामा प्रयोग गरिएका भेटिन्छन्। यी प्रविधि प्रयोग गरी एक देशबाट अर्को देशमा भएको व्यक्तिलाई सूचना आदानप्रदान गर्ने र त्यही सूचनाबमोजिम अर्को व्यक्तिले आफ्नो खाताबाट रकम निकालेर ग्राहकलाई भुक्तानी दिने वा ग्राहकको बैंक खातामा जम्मा गर्ने काम गरिन्छ।

प्रकाशित: Dec 16, 2023| 11:20 शनिबार, मंसिर ३०, २०८०
प्रतिक्रिया दिनुहोस्