जनकपुरधाम-विशेषतः असुरक्षित यौन सम्पर्कका कारण संक्रमण हुने एचाईभी एड्सबाट धनुषामा १२० जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षदेखि चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म धनुषा एचआई एड्सका कारण १२० को मृत्यु भएको हो।
एचआईभी एड्सबाट विभिन्न उमेर समूहका महिला तथा पुरुष संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।
२१ औँ विश्व एड्स दिवसको अवसर पारेर जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म १३ जना नयाँ एचआईभी संक्रमित पता लागेको छ ।
एचआईभीका फोकल पर्सनका अनुसार विभिन्न स्वास्थ्य संस्था तथा ‘पीएएमटीसीटी’ सेन्टरहरुमा कूल ६ हजार ५ सय ८५ जनाको परीक्षण गरिएको थियो । जस मध्ये ११९ जनामा एचआइभी पोजिटिभ फेला परेको छ ।
यसैगरी गर्भवती महिलाको स्वास्थ्य परीक्षण गर्दा १३ जनामा एचआईभी पता लागेको कर्णले जानकारी दिए । एचआईभीबाट प्रभावित भएका ८ सय ४४ जना उपचार गराई औषधि सेवन गरी रहेको उनले बताए ।
एचआईभी एड्स नियन्त्रण गर्न विभिन्न खाले चेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेपनि नियन्त्रण हुन नसकेको फोकल पर्सन कर्णको भनाइ छ । असुरक्षित यौन सम्पर्क तथा लागुऔषध दुव्र्यसनीजस्ता कुलतमा फसेकाहरुमा विशेष रुपले संक्रमण देखिएको उनले बताए । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांक अनुसार एचआईभी एड्सको संक्रमणबाट बालबालिकादेखि व्यस्क उमेर समूहका व्यक्ति रहेका छन् ।
एचआईभी एड्सबारे जनचेतना फैलाउने उद्देश्यले ‘एचआईभीको जाँच गराऔं, आफ्नो अवस्था थाह पाऔं’ नाराका साथ ३१ औं विश्व एड्स दिवस मनाइएको छ । विश्व एड्स दिवसको अवसरमा जनकपुरमा चेतनामूलक र्याली निकालिएको छ । र्यालीमा विद्यार्थी, युवा, स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरुको उपस्थिति थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४