धनगढी–निर्मला पन्तको न्यायकालागि काठमाडौंका सार्वजनिक स्थलमा टाँसिएका पोष्टर प्रहरीले च्याते पनि गृह जिल्ला कञ्चनपुरमा भने पोष्टर छ्याप्छ्याप्ती छन् । निर्मलाकै दिदी मनिषा र केही अधिकारकर्मीले महेन्द्रनगर बाजारका बिभिन्न ठाउँमा शुक्रबार टाँसिएका फोटोसँगै छेउमा ‘सरकार भेटियो, तर न्याय भेटिएन’ लेखिएका पोष्टर अहिलेसम्म जस्ताको त्यस्तै छन् । प्रहरीले काठमाडौंमा पोष्टर च्याते पनि कञ्चनपुरमा च्यातेको छैन । निर्मलाको तस्बिरसहितका यस्ता पोस्टर बजार क्षेत्रका विद्युतका पोल, घरका पर्खाल र रूखमा टाँसिएका छन् । पोस्टर टाँस्ने काममा मनिषा नै अगाडि थिइन् ।
उनीहरू सबैले आफ्नो पिठ्यूँमासमेत पोस्टर टाँसेका थिए । ‘देशमा सरकार त छ, तर हामीले ४ महिनासम्म न्याय पाउन सकेनौं’ पोस्टर टाँस्दै गरेकी मनिषाले भनिन्, ‘सरकारलाई थप दबाब पुगोस् भनेर यस्तो गरिरहेका छौँ ।’ उनी न्याय पाउनेमा भने विश्वस्त छैनन् । ‘अझै पनि निष्पक्ष अनुसन्धान भए अपराधी पत्ता लाग्न सक्छ भन्ने आशा कायमै छ’ उनले भनिन–‘न्यायका लागि विभिन्न किसिमका आन्दोलन तथा दबाबमूलक कार्यक्रम गरिसक्यौं ।’
निर्मलाको न्यायका लागि ४ महिनादेखि निरन्तर खटिएको मनिषाकी छिमेकी मञ्जु भट्ट बताउँछिन् । ‘सरकारले आँखा देखेन, राम्ररी हेरिदिएन भनेर निर्मलाको तस्बिरसहितको पोस्टर टाँस्ने काम गरेका हौ’ उनले भनिन् । उनले अनुसन्धान निष्पक्ष र चाँडो होस् भनेर दबाब दिन यस्तो कार्यक्रम गरिएको बताइन् । महेन्द्रनगरको मेनरोड, बसपार्क र जिल्ला प्रशासन कार्यालय क्षेत्रमा पोस्टर टाँसिएका हुन् । निजी तथा सार्वजनिक क्षेत्र जताततै पोस्टर टाँसिएको छ । यसले रचनात्मक दबाब सिर्जना गर्ने महिला अधिकारकर्मीहरू बताउँछन् ।
‘सरकारले जतिसुकै आन्दोलन गरे पनि नसुनेपछि फरक तरिका अपनाउनुपरेको हो,’ अधिकारकर्मी शारदा चन्दले भनिन्, ‘यसले न्यायका लागि थप दबाब सिर्जना गर्नेछ ।’ न्याय माग्दै पीडित परिवार कात्तिक २५ देखि अनिश्चितकालीन धर्नामा छ । जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेका निर्मलाका बुबा यज्ञराज अस्वस्थ भएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको छ । यज्ञराजसँगै उनकी पत्नी दुर्गादेवी पनि काठमाडौंमै छन् । धर्नालाई निर्मलाकी कान्छी आमा लक्ष्मीले साथ दिइरहेकी छन् । मंसिर मध्यतिर चिसो बढदै छ । टेन्टले शित पनि रोक्दैन । राति ओढ्ने, ओछ्याउने सबै शितले भिजेका हुन्छन् । तैपनि न्यायका लागि सुरु गरेको धर्नालाई निरन्तरता दिएको लक्ष्मी बताउँछिन् ।
न्याय माग्दै सांसदले बुझाए मुख्यमन्त्रीलाई ज्ञापन
यसैबीच बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका लागि न्याय माग्दै नेपाली काँग्रेसका महिला सांसदहरुले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । प्रतिनिधिसभा सदस्य डाक्टर डिला संग्रौला, प्रदेशसभा सदस्य दिव्यश्वरी शाह र नन्दा बमले शनिबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई निर्मलाका हत्यारा पत्ता लगाई तुरुन्त कारवाहीको दायरामा ल्याउन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
मुख्यमन्त्रीलाई बुझाइएको १० बुँदे ज्ञापनपत्रमा निर्मलालाई न्याय दिदै छाउपडी तथा बोक्सी प्रथा लगायतका कुरिती अन्त्य गर्नुपर्ने माग पनि गरिएको छ । हरेक बालबालिकालाई हिड्दा डुल्दा असुरक्षा महसुस गर्न नपर्ने, महिला हिंसा सामाजिक कुरिती अन्त्य गर्दै प्रदेशको विकास निर्माणका कामलाई तिव्रता दिन समेत माग गरिएको छ ।
प्रतिनिधिसभा सदस्य संग्रौला, प्रदेशसभा सदस्यद्धय शाह र बमले मुख्यमन्त्रीको निवासमै पुगेर संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार पनि निर्मलाका हत्यारा सार्वजनिक हुनुपर्ने पक्षमा रहेको बताउदै त्यसका लागि संघीय सरकारसँग समन्वयमै रहेको जनाए भने प्रदेशको विकास निर्माणका काममा पनि सरकार गम्भीर रहेको बताए ।
‘कुर्सिको आडमा निर्मलाका हत्यारा लुकाए’
नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा.डिला सग्रौलाले बलात्कारपछि हत्या गरिएकी कञ्चानपुरकी निर्मला पन्तका हत्यारालाई सरकारले नै सरक्षण गरिरहेको आरोप लगाएकी छन् ।
जसका कारण देशमा दिनप्रति सयौँ निर्मलाहरु बलात्कृत भईरहेको उनको भनाई थियो । महेन्द्रनगरमा पुगेर निर्मलाका लागि न्यायिक अभियान सञ्चालन गरेकी सग्रौलाले शनिबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापाले कुर्चिको आडमा निर्मलाका हत्यारा लुकाएको आरोप लगाईन् ।
‘सिहदरवारमा कुर्सिमा बसेर बलात्कारी र हत्यारालाई सरक्षण गरिएको छ ।’ उनले भनिन्, ‘कुर्सिको आडमा बलात्कारी र हत्यारालाई सरक्षण गर्ने प्रधानमन्त्री र गृहमन्त्रीलाई कृर्चिमा बसिरहने अधिकार छैन । राजीनामा दिनुपर्छ ।’ उनले प्रधामन्त्रीका फोटा पोल र सडकका भित्तामा टासेर नयाँ युग सुरु नहुने बताईन् । उनले भनिन्.‘फोटो हैन प्रधानमन्त्री ज्यु, फोटो हैन, न्याय नपाएकालाई न्याय दिनुस् । भ्रष्टाचार रोक्नुस । सुशासन कायम गर्नुस् । आफै सुरु हुन्छ नयाँ युग ।’