शनिबार, साउन ९, २०८३

धपक्कै बलेको मुस्ताङ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
यतिबेला हिमालपारिको जिल्ला मुस्ताङ धपक्कै बलेको छ । आकास खुलेको छ, धौलागिरि र नीलगिरि हिमालको काखमा रहेको मुस्ताङका पाखापखेरा, मट्यौले डाँडा अनि कालीगण्डकीका बगर जताततै आन्तरिक र बाह्य पर्यटकको विशेष चहलपहल देख्न सकिन्छ ।

शैक्षिक संस्थामा बिदा, आकाश खुलेर हिमाल हाँस्नु अनि अनुकूल मौसमको स्वागत एकैपटक परेपछि मुस्ताङका मुख्य पर्यटकीय स्थल सदरमुकाम जोमसोमको पर्यटन तथा होटल व्यवसायीलाई भ्याइनभ्याइ छ । कालीगण्डकीको किनार र पहाडको डिलमुनि रहेको साँघुरो बजार जोमसोममा पर्यटकले खचाखच भरिएको छ । 

पर्यटकको भीड बढेपछि होटलका कोठा र खानाको दर ह्वात्तै बढेको छ । एक रातको ५–६ सय रुपैयाँसम्ममा पाइने कोठाको अहिले १५–१६ सय रुपैयाँ पर्छ । जोमसोममा विगतदेखि नै सडकको भीड हेरेर कोठाको मूल्य बढ्दै आएको छ । जोमसोमको पर्यटन बजारलाई सरकारले नियन्त्रणमा लिएर व्यवस्थापन गर्न सकेको छैन । मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले भने, ‘यहाँको मुखिया प्रथा र बजारको कथा वुझिनसक्नुको रहेछ ।’

मुस्ताङको आकर्षण जोमसोममात्र चाहिँ होइन । यो एउटा प्रवेश नाका मात्र हो । धार्मिक ऐतिहासिक, पुरातात्त्विक र प्राकृतिक धरोहरको संगम रहेको मुस्ताङमा पर्यटकका लागि विभिन्न गन्तव्य छन् । बौद्ध र हिन्दु धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ क्षेत्र यहीं छ । यहाँ दैनिक हजारौं आन्तरिक तथा बाह्य धार्मिक पर्यटक पुग्छन् । कागबेनीमा पनि श्रद्धालुको विशेष चहलपहल हुन्छ । जोमसोमबाट करिब ३ दिन हिँडेर पुगिने दामोदर कुण्ड पुग्न कठिन भए पनि लोकप्रिय छ ।

उपल्लो मुस्ताङ लोमान्थाङ, कोरला पुग्नेहरु पनि मन्त्रमुग्ध भएर प्रकृतिको गुनगान गाउँदै घर फर्कन्छन् । कागबेनीवाट करिब ४० किमि सडक दुरी रहेको लोमान्थाङ र कोरला पुग्न त्यति सहज छैन । तर पनि महँगो भाडा तिरेर त्यसतर्फ जानेको संख्या बढेको छ । मार्फा, दुम्बा तालतर्फ रमाउनेको संख्या बढेको मुस्ताङका ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक डोलेन्द्र हमालले दाबी गरे । 

भारत र तेस्रो देशका नागरिक  दामोदर कुण्डमा बढी पुग्ने गरेको एक्याप कार्यालय जोमसोमको तथ्यांक छ । 

बौद्ध र हिन्दु धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ क्षेत्र यहीं छ । यहाँ दैनिक हजारौं आन्तरिक तथा बाह्य धार्मिक पर्यटक पुग्छन् । कागबेनीमा पनि श्रद्धालुको विशेष चहलपहल हुन्छ । जोमसोमबाट करिब ३ दिन हिँडेर पुगिने दामोदर कुण्ड पुग्न कठिन भए पनि लोकप्रिय छ ।


गाडा भाडा मनपरी

मुस्ताङ जिल्ला प्रवेश गर्ने सडक पूरै कच्ची छ । सडक स्तरोन्नति गरी कालो पत्रे गर्ने ठेक्का दिइसकिएको छ तर पनि सडक निर्माणले गति लिएको छैन । घासादेखि जोमसोम हुँदै कागबेनीसम्म पुग्दा यात्रुले ठूलै युद्ध जितेको महसुस गर्नुपर्छ । कागबेनीबाट माथिल्लो मुस्ताङ पुग्न बढी जोखिमपूर्ण सडक यात्रा गर्नुपर्छ ।  

पोखरा–जोमसोम सडकको दुरी १५७ किमि छ । बसमा यात्रा गर्दा भाडा प्रतिव्यक्ति एघार सय रुपैयाँ र जिपमा १८ सय ५० रुपैयाँ तिर्नुपर्छ । जोमसोमबाट माथिल्लो मुस्ताङ ५२ किमि सडक यात्रा गर्दा गाडी भाडा १७ सय रुपैयाँ तिर्नुपरेको यात्रुको गुनासो छ । मुस्ताङमा यात्रु भाडा, होटलका बस्ने कोठा र खानेकुराको सिन्डिकेट कायमै छ । 

मुस्ताङ पर्यटनको प्रचुर सम्भावना बोकेको आसलाग्दो गन्तव्य हो । राज्यले त्यसको उचित व्यवस्थापन गरेर फाइदा लिन पूर्वाधार विकासमा जोड दिनुपर्ने पर्यटनविद् बताउँछन् । 






प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।