शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'नेपालको शान्ति प्रक्रियाले बन्दूकमाथि मतको सर्वोच्चता स्थापना गरेको छ'

'नेपालको शान्ति प्रक्रियाले बन्दूकमाथि मतको सर्वोच्चता स्थापना गरेको छ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा द्वन्द्वको शान्तिपूर्ण समाधानले गोलीमाथि मतको सर्वोच्चतालाई स्थापना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताएका छन्।

एशिया प्रशान्त शिखर सम्मेलनलाई सम्बोधन गर्दै  प्रधानमन्त्रीले नेपालजस्तो विविधतापूर्ण समाजमा वार्ता, समझदारी, आपसी सम्मान, सम्झौता र संलग्नताले भित्री र बाह्य द्वन्द्वलाई सफलतापूर्वक समाधान गर्न सकिन्छ भन्ने देखाएको बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक सङ्क्रमणबाट पार भई इतिहासमा महत्वपूर्ण उपलब्धि हासिल भएको र सन् २००६ मा आरम्भ भएको विस्तृत शान्ति प्रक्रिया सफल भएको बताए।
नेपालको शान्ति प्रक्रिया नेपालीले नै स्थापना र नेतृत्व गरेको, स्वामित्व लिएको र बलियो बनाएको तथा नेपाली जनताले साहासीपूर्ण र दृढ निर्णय लिएको प्रधानमन्‍त्रीको भनार्इ छ ।

'हामीले शान्ति प्रक्रियालाई आधारभूत रुपमा सम्पन्न गरेका छौँ र हामीले हाम्रो इतिहासको सबैभन्दा कठिनमध्ये एक समयलाई पछाडि छाडेका छौँ । मुलुकको मौलिकतामा भर पर्ने हाम्रो सफल पाठले अरुलाई पनि उदाहरणका रुपमा सिकाउन सक्छ । हामीले जनताका प्रतिनिधिबाट संविधान लेखनको ऐतिहासिक जिम्मेवारी पनि सम्पन्न गरेका छौँ' प्रधानमन्‍त्री ओलीले भने, 'हाम्रो उद्देश्य भनेको समग्र लोकतन्त्र हो जसले व्यक्ति र राष्ट्रिय जीवनलाई सामाजिक तथा आर्थिक न्यायका साथै सबै अधिकार तथा स्वतन्त्रतामा सबल बनाउँछ । प्रतिस्पर्धात्मक बहुदलीय प्रजातन्त्र, कानूनी राज्य, स्वतन्त्र न्यायपालिकाका साथ हामीसँग सबैभन्दा राम्रो संविधानमध्ये एक छ भन्ने म विश्वास गर्छु । नेपालको इतिहासमा पहिलो पटक संविधानले जनतालाई वास्तवमै सार्वभौम बनाएको छ र अब हामीले राजनीतिक रुपमा थप सङ्घर्ष गर्नु पर्र्दैन, यसले नेपाली जनताका लागि नयाँ युग उपलब्ध गराएको छ ।'

प्रधानमन्त्री ओलीले जनताका यी बलिया उपलब्धिमा टेकेर सामाजिक तथा आर्थिक प्रगति गर्न नसकिए दिगो नरहने भएकाले नेपाल सरकारले दिगो आर्थिक विकासलाई प्राथमिकता दिएको र सरकारको कार्यसूची ‘सुखी नेपाली र समृद्ध नेपाल’ मा आधारित भई सामाजिक आर्थिक सङ्क्रमणतर्फ लक्षित भएको बताए।

उनले नेपाली जनताले २०७२ सालमा व्यापक क्षति पुर्‍याउने भूकम्पपछि पनि राजनीतिक, आर्थिक तथा सामाजिक उद्देश्यका लागि एकीकृत र दृढ भएर शान्ति र सहयोगात्मक रुपमा उच्च लचकता देखाएको बताउँदै हाल पुनःनिर्माणले गति लिएको र आफूहरु छोटो समयमा सो कार्यलाई सम्पन्न गर्ने दृढ रहेको बताए।

तीनै तहको निर्वाचनपछि बनेको सरकारलाई संसद्को तीन चौथाइ समर्थन प्राप्त भएको र आफ्नो दलको करीब दुई तिहाइ बहुमत भएको उल्लेख गर्दै राजनीतिक स्थायित्वले महत्वपूर्ण नीतिगत स्थायित्व ल्याएको र यसले समाजिक आर्थिक विकासको कार्यमा महत्वपूर्ण प्रभाव पारेको पनि उनले बताए ।

प्रधानमन्त्री ओलीले नेपालले समानता, आपसी सम्मान तथा लाभका सिद्धान्तका आधारमा छिमेकी मुलुकसँग मैत्रीपूर्ण, सहयोगात्मक, सन्तुलित सम्बन्ध राखेको र स्वतन्त्र कूटनीति सञ्चालन गरेको बताउँदै विश्वका प्रमुख शक्तिसँग नेपालको सम्बन्ध हुनाका साथै क्षेत्रीय सम्बन्ध बलियो, बढी स्पष्ट र उत्पादक बनेको बताए ।

उनले नेपाली जनताले यी उपलब्धिका लागि ठूलो मूल्य तिरेको तथा अनेकतामा एकता र राष्ट्रियता विश्वासका कारण मुलुकको प्रमुख अभिरुचि भन्दा अन्य कुनै पनि विषय ठूलो हुँदैन भन्ने बुझेको बताउँदै नेपालका मित्र तथा शुभचिन्तकले पनि नेपाललाई शान्तिपूर्ण, स्थिर, लोकतान्त्रिक तथा समृद्ध मुलुक भएको देख्न चाहेको बताए।रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।