काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार पहिलो खेलमा सीएमजी क्लब संकटा र भ्याली च्यासल युवा क्लब तथा दोस्रो खेलमा मनाङले सरस्वतीसँग भिड्दै छन् । हल्चोकस्थित एपीएफको खेल मैदानमा हुने खेलमा पहिलो बिहान ११ बजे र दोस्रो खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।
उतारचढावको प्रदर्शनले गरि रहेको च्यासलसँग संकटाले लिगमाआफ्नो चौथो जितको खोजिमा छ । लगातार तीन खेल जितेको संकटा चौथो खेलमा आर्मीसँग ५-१ को फराकिलो अन्तरले परासजत भएको थियो ।
पछिल्ला खेलमा पुलिससँग २-० ले पराजित भएको च्यासल त्यसअघि भने एनआरटीलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको थियो । पछिल्लो हारपछि दुवै टोली जितको लय कायम गर्न इच्छुक हुनेछन् ।
अर्को खेलमा अहिले सम्मको अपराजित टोली मनाङलाई अग्रता बढाउने मौका हुनेछ । सरस्वती भने लगातार जित दर्ता गरेर लय समाउन प्रयासरत छ । सुरुवाती दुई खेलमा पराजित सरस्वति पछिल्लो दुई खेलमा विदेशी खेलाडीको आगमनसँगै बलियो रुपमा प्रस्तुत भएको छ ।
विदेशी खेलाडी भिक्टर सरस्वतीको नतिजामा निर्णायक भूमिका खेल्दै आएका छन् । उनले यसअघि मनाङ र थ्री स्टारबाट खेलिसकेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४