मंगलबार, असोज ७, २०८२

प्रभु बैंकलाई ‘बैंक अफ दि इयर–२०२३’ को उपाधि

 |  मंगलबार, मंसिर १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १९, २०८०

प्रभु बैंकले ‘बैंक अफ दि इयर–२०२३’ को उपाधि प्राप्त गरेको छ। बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’बाट प्रभु बैंकलाई सम्मान गरेको हो।

Kumaribank

सन् २००० देखि ‘दि बैंकर’ले गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी बैंकिङमा प्रतिष्ठित अवार्ड हो। ‘बैंक अफ दि इयर’ अवार्डलाई बैंकिङ उत्कृष्टताको मानकसमेत मानिन्छ।

‘दि बैंकर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका एक हजारभन्दा बढी बैंकमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनोट गरी ‘बैंक अफ दि इयर’ बाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ। बेलायतमा भएको समारोहमा प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले सम्मान ग्रहण गरेका थिए।

अवार्डपछि अध्यक्ष सिटौलाले प्रभु बैंक नेपालको बैंकिङ प्रणालीको सफलतामा एउटा इट्टा थप्न सफल भएको बताए। ‘वर्तमान अर्थतन्त्रको पृष्ठभूमिमा प्राप्त भएको यो सम्मानले बैंकिङ क्षेत्रलाई हौसला प्रदान गरेको छ। हाम्रा सेवा र सेयरधनीलाई उचित प्रतिफल दिन थप मद्दत पुग्ने छ’ उनले भने।

सीईओ शेरचनले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीको मिहिनेत, सेयरधनी, सेवाग्राही तथा शुभचिन्तकको साथले सम्मान प्राप्त गर्न सफल भएको बताए। ‘यो सुःखद सन्देश हाम्रो संस्था, सेयरधनी, कर्मचारी, सेवाग्राही तथा शुभचिन्तकका लागि मात्रै हैन, नेपालको बैंकिङ क्षेत्रकै सफलताको ठानेको छु। आगामी दिनमा नेपाली बैंकिङ क्षेत्रमा यस्तो सफलता थप प्राप्त हुँदै जानेछ भन्ने विश्वास समेत छ’ सीईओ शेरचनले भने। उनले बैंकको सेवा थप प्रभावकारी बनाउने प्रतिबद्धतासमेत जनाए।

Metro Mart

सन् २००६ मा प्रभु फाइनान्सबाट यसको यात्रा सुरु भएको थियो। प्रभु बैंक आज ३०० भन्दाबढी शाखा सञ्जाल, ७१ एक्सटेन्सन काउन्टर, ३१० एटीएम भएको बैंक हो। यसका ३१ लाखभन्दा बढी ग्राहक छन्।

प्रभुले २०७९ मा सेञ्चुरी बैंक आफूमा गाभेको थियो। सेञ्चुरीसहित बैंक, विकास बैंक र फाइनान्स कम्पनी गरेर ८ वटा बैंक तथा वित्तीय संस्था प्रभु बैंकमा गाभिएका छन्। हाल प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब, सम्पत्ति करिब साढे तीन ३ खर्ब, निक्षेप संकलन साढे २ खर्ब र ऋण प्रवाह २ खर्ब ५३ अर्ब पुगिसकेको छ।

प्रकाशित: Dec 05, 2023| 12:33 मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्