काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी भएको घोषणा गरेको छ। स्थापनादेखि अहिलेसम्म कुन विचार लिने भनेर स्पष्ट नभएको रास्वपाले महोत्तरीको गौशाला बैठकबाट विधानको प्रस्तावना पारित गर्दै आफूलाई लोकतान्त्रिक दल घोषणा गरेको हो।
'राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो,' रास्वपाले पारित गरेको प्रस्तावनामा भनिएको छ, 'यसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्णलोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासनमार्फत् समन्यायिक समावेशी समाज निर्माण गर्नु हो।'
उसले लोकल्याणकारी राज्यको लागि सार्वजनिक, निजी र सामुदायिक स्रोतको दिगो परिचालनमार्फत सामाजिक बजार अर्थतन्त्रमार्फत रोजगार वृद्धिको लक्ष्य सार्वजनिक गरेको छ। थप भनिएको छ, 'लोककल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत- साधनको दीगो परिचालन गर्दै उद्यममैत्री, लगानी-अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि स्वच्छ र सुदृढ नियमनकारी संरचना बनाई राष्ट्रिय आय र रोजगारीको विस्तार, श्रमप्रति समर्पित, सामाजिक पूँजीको अभिवृद्धि र जलवायु-पर्यावरणीय सन्तुलन कायम गर्न यो पार्टी सर्वात्मना प्रतिबद्ध छ।'
नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक-सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान, विश्वभर फैलिएका नेपालीहरुको सामूहिक सामर्थ्य र एसियाको उदाउँदो भूराजनीतिक महत्वलाई आत्मसात् गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई सदा अक्षुण्ण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभीष्ट रहनेछ।