काठमाडौं-काठमाडौंमा शुक्रबार सुरु हुन लागेको एसिया प्यासिफिक समिटको पर्दापछाडि क्रिस्चियन धर्म प्रवद्र्धनको डिजाइन रहेको खुलासा भएको छ।
एसिया प्रशान्त क्षेत्रका राष्ट्रप्रमुख, सरकार प्रमुख, उच्च अधिकारी र धार्मिक प्रतिनिधिसहित करिब दुई हजार बढी विदेशी पाहुना काठमाडौं आएका छन् । एसिया प्यासिफिक क्षेत्रमा खराब शासकका रूपमा छवि बनाएका कम्बोडियाका राष्ट्रपति हुन सेनलगायतका पात्रहरू काठमाडौंमा छन्। काठमाडौं आएकी म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी पनि पछिल्लो समय विवादास्पद पात्र हु्न् । रोहिन्जा समुदायमाथि म्यानमारको सैनिकले गरेको ज्यादतीमा रमिते बनेको भन्दै उनको अन्तर्राष्ट्रिय स्तरमा आलोचना भएको छ ।
उनीहरुको व्यक्तिगत छवि अभिवृद्धिका लागि यो राम्रो अवसर भए पनि अन्तर्राष्ट्रिय नजरमा नेपालको छवि धमिलिन सक्ने चिन्ता कूटनीतिक वृत्तमा व्यक्त भएको छ।
एसिया प्यासिफिक समिटमा युनिफिकेसन चर्चकी प्रमुख हक जा हन पनि सहभागी हुँदैछिन् । उनीबाट प्रधानमन्त्री केपी ओली र पत्नी राधिका शाक्यसहित १५ सय दम्पतीले आशीर्वाद लिने कार्यक्रम छ। त्यो सूचीमा विभिन्न दलका नेता, उच्च पदस्थ सरकारी अधिकारी र नागरिक अगुवासमेत छन् ।
चार दिनसम्म चल्ने समिट जलवायु परिवर्तन, सञ्चार विकास र अन्तर धार्मिक संगठनहरुबीचको सम्बन्धमा केन्द्रित हुने भनिए पनि रणनीतिक एजेन्डा इसाई धर्म प्रवद्र्धन रहेको बुझिएको छ।
नेपाललाई धर्म प्रचारको अखडा बनाउन खोजिएको र सरकार यसमा उदार र उदासीन देखिएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । यस्तै धर्म प्रचारकलाई राजकीय स्वागत गरेर सर्वसाधारणलाई सास्ती दिएको भन्दै नागरिक स्तरबाट विरोध भएको छ।
धर्म परिवर्तन गराउने डिजाइनसहित यो संस्थाले केही अनौठा कार्यक्रम सञ्चालन गर्दै आएको छ। यो संस्थाले बिहे गर्ने भन्दै सयौं जोडीलाई खुलामञ्चमा उतार्ने काम गर्दै आएको छ। यस्तै बंगुर फार्म खोल्ने, भैंसी पाल्ने शीर्षकमा पनि यो संस्थाले लगानी गर्दै आएको छ। तर कतै पनि गाई फार्म खोल्न यसले अनुमति दिँदैन।
क्रिस्चियन धर्म प्रचारका लागि खोलिएको संस्थाको आयोजनामा हुन लागेको यो समिटको सहआयोजक सरकार स्वयं छ। सम्मेलनको मुख्य आयोजक युनिभर्सल पिस फेडेरेसन हो। यसको मुख्यालय न्युयोर्कमा छ। यसका अधिकांश सञ्चालक कोरियामा छन्। यो संस्थाले विश्वव्यापी रुपमा क्रिस्चियन धर्म प्रवद्र्धन अभियान चलाउँदै आएको छ। नेपालमा यही संस्थामार्फत धर्म प्रचार तथा प्रवद्र्धनको काम भइरहेको छ ।
नेपालमा यो संस्थाको नेतृत्व परिवार दल खोलेर मन्त्री भएका एकनाथ ढकालले गर्दै आएका छन्। अहिले यो सम्मेलनको तयारी तथा आयोजनामा पनि उनको भूमिका महत्त्वपूर्ण छ। धर्म परिवर्तन गराउने डिजाइनसहित यो संस्थाले केही अनौठा कार्यक्रम सञ्चालन गर्दै आएको छ। यो संस्थाले बिहे गर्ने भन्दै सयौं जोडीलाई खुलामञ्चमा उतार्ने काम गर्दै आएको छ। यस्तै बंगुर फार्म खोल्ने, भैंसी पाल्ने शीर्षकमा पनि यो संस्थाले लगानी गर्दै आएको छ। तर कतै पनि गाई फार्म खोल्न यसले अनुमति दिँदैन। मुलुकका विभिन्न भागमा रहस्यमय तरिकाले क्रिस्चियन धर्म प्रचारका लागि अनेक गतिविधि सञ्चालन भइरहेका छन् ।
नेपालको संविधानमा धर्म परिवर्तन गराउन नपाइने व्यवस्था छ। त्यसैगरी संविधानमा धर्म निरपेक्षता उल्लेख छ। यसको अर्थ राज्यले कुनै धर्ममा लगानी गर्दैन भन्ने हो। तर सरकार आफैंले नेपालको संविधान उल्लंघन गर्दै विवादास्पद संस्थासँगको सहकार्यमा सम्मेलन आयोजना गरेको छ।
यो सम्मेलनका लागि फेडरेसनले सरकारसँग ३१ करोड माग गरेको छ।यसको नारासमेत क्रिस्चियन धर्म प्रचारसँग मिल्दोजुल्दो रहेको छ। सम्मेलनको नारा ‘हाम्रो समयका गम्भीर चुनाती’राखिएको छ।
नगरिक प्रतिक्रियाबाट जोगिन सरकारले सहआयोजकको हैसियतबाट हटेको प्रचार गरे पनि त्यो गलत हो भन्ने कुरा सरकारका गतिविधिले पुष्टि गरेको छ। सम्मेलनमा सहभागी हुन आउने विभिन्न देशका प्रतिनिधि आवतजावत गर्ने सडकमा रातारात खाल्डा पुरिएको छ। सम्मेलनमा सहभागी हुन आउने राष्ट्र प्रमुख तथा अधिकारीलाई स्वागत गर्नका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री त्रिभुवन विमानस्थलमा पुगेका छन्।
राप्रपा अध्यक्ष कमल थापाले धर्म प्रचारक संस्थाले आयोजना गरेको कार्यक्रममा सरकार सहभागी भएको उल्लेख गरेका छन् । थापाले ट्वीट गर्दै भनेका छन् ‘धर्मप्रचारक संस्थाद्वारा आयोजित विवादास्पद भेलामा सहभागी पाहुनाहरूलाई जुन तहबाट राजकीय सम्मान र स्वागत अर्पण गरिएको छ, त्यो अवाञ्छित छ। प्रचलित कूटनीतिक मान्यता अनुकूल पनि भएन। स्वागत हुनुपर्छ तर मर्यादाविपरीत होइन। जनतालाई सास्ती दिने जोरबिजोर गलत र अनावश्यक छ। यो ज्यादतीको भत्र्सना गर्दछु ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४