मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • आन्तरिक अर्थतन्त्रमा बढोत्तरी गरेर बसाइँसराइका समस्या सम्बोधन गर्न सकिन्छ : मन्त्री बस्नेत

आन्तरिक अर्थतन्त्रमा बढोत्तरी गरेर बसाइँसराइका समस्या सम्बोधन गर्न सकिन्छ : मन्त्री बस्नेत

 |  मंगलबार, मंसिर १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १२, २०८०

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा आन्तरिक तथा बाह्य बसाइँसराइका कारण सिर्जित समस्या विकराल बन्दै गएकाले त्यसलाई समाधान गर्न आवश्यक रहेको बताएका छन्। 

National life

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)को सहकार्यमा आज काठमाडौंमा आयोजित ‘जनसङ्ख्या र बसाइँसराइ व्यवस्थापन सबलीकरणसम्बन्धी राष्ट्रिय परिसंवाद’ कार्यक्रममा मन्त्री बस्नेतले योजनाबद्ध विकास अवधारणाको प्रभावकारी कार्यान्वयन र शासकीय क्षमतामा सुधारमार्फत अहिलेका समस्या समाधान गर्न सकिने बताए।

'पन्ध्रौँ आवधिक योजना र राष्ट्रिय जनसङ्ख्या नीति, २०७२ मा बसाइँसराइको समस्यालाई यथोचित रुपमा सम्बोधन गर्ने प्रयास गरिएको भए पनि समस्याको समाधान गर्न सकिएको छैन। संघीय, प्रादेशिक र स्थानीय गरी तीनवटै तहका सरकार यी समस्याबारे सजग हुन आवश्यक छ', स्वास्थ्यमन्त्री बस्नेतले भने, 'स्रोत साधनको व्यवस्थापन, क्षमता विकास, विकासमा समन्वय र आन्तरिक अर्थतन्त्रमा बढोत्तरी गरेर बसाइँसराइका समस्या सम्बोधन गर्न सकिन्छ।'

नेपालका गाउँमा जनसङ्ख्या न्यून हुँदै गएर देशलाई आवश्यक जनशक्ति प्राप्त हुन नसक्ने, विकासका लागि बाह्य जनशक्ति ल्याउनुपर्ने अवस्था रहेको उनले बताए। विकासका क्रियाकलापलाई व्यवस्थित गर्ने, सरोकारवाला निकायमा साझा अवधारणा निर्माण गर्ने, र बसाइँसराइमा देखिएका समस्या तथा चुनौतीलाई सामूहिकरुपमा सम्बोधन गर्नुपर्ने बेला आएको स्वास्थ्यमन्त्री बस्नेतको भनाइ छ। विभिन्न कारणले हिमाल र पहाडको जनसङ्ख्या घट्दै गएर तराई क्षेत्रमा बढेको र विदेशी मुलुकमा बसाइँसराइ गरेर जाने क्रम बढेको पनि उनले बताए।

त्यस्तै, चिकित्सा शिक्षा ऐन संशोधन गर्दै जाने र चिकित्सा शिक्षा पढ्ने वातावरण सहज बनाउने स्वास्थ्यमन्त्री बस्नेतको भनाइ छ। नेपालका ठूला अस्पताललाई चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठानका रुपमा विकास गर्न सकिने उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाइँले नेपालमा बाह्य तथा आन्तरिक बसाइँसराइ उच्च रहेका कारण वितरणमा असमानता बढ्दै गएको र यसबाट आर्थिक उत्पादन तथा वितरणमा प्रत्यक्ष प्रभाव पर्न गएको बताइन्। 'गरिबी, अशिक्षा, भौगोलिक विकटता, अव्यवस्थित बसोबास, बसाइँसराइ र आप्रवासनका कारण जनसङ्ख्या र विकासकाबीच असन्तुलन देखिएको छ। यसले आन्तरिक उत्पादन र समग्र अर्थतन्त्रमा प्रभाव बढ्दै गएको छ', सचिव गुरागाइँले भनिन्।

प्रजननदर घट्दै गएको, औसत आयुमा वृद्धि हुँदै गएको, युवा दक्षजनशक्ति विदेशिने क्रम जारी रहेको, ज्येष्ठ नागरिकको जनसङ्ख्या बढ्दोक्रममा रहेको जस्ता प्रवृत्ति अहिले देखिएको पनि उनले बताइन्। विकास गर्दा जनसङ्ख्यालाई केन्द्रमा राखिनुपर्ने सचिव गुरागाइँको भनाइ छ।

आईओएम मिसनको नेपालका प्रमुख हेलेन फोर्सले दिगो विकाससँग सम्बन्धित लक्ष प्राप्तिका लागि पनि बसाइँसराइ एक महत्वपूर्ण पक्ष रहेको बताए। जनसङ्ख्या घट्ने बढ्ने प्रवृत्तिको विश्लेषणबाट नेपालको नीति निर्माणमा सहयोग पुग्ने उनले बताए।

प्रकाशित: Nov 28, 2023| 14:37 मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्