आइतबार, साउन ४, २०८२

ओलीको निष्कर्ष - प्रचण्डले तत्काल सरकार छोड्नुपर्छ

 |  बुधबार, मंसिर ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ६, २०८०

vianetvianet

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सरकार छोड्नुपर्ने निष्कर्ष निकालेका छन्। 

अध्यक्ष ओलीले बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्ड नेतृत्व सरकारले मुलुकलाई प्रतिगमनतर्फ जानका लागि अनुकुल वातावरण बनाएकाले तत्कालर सरकार छोडनुपर्ने बताएका हुन्। 

‘वास्तवमा देश अप्ठ्यारो स्थितिमा छ। यहाँ पुर्‍याउने यही गठबन्धन सरकार हो। र, वास्तवमा यो गठबन्धन रहेसम्म सरकारका भएको हुनाले उहाँहरूले त भन्न पर्ला। यथार्थ चाँही राम्रो छ भन्नुपर्ला उहाँहरूले। यथार्थ चाँही त्यस्तो होइन,’ ओलीले भने, ‘यथार्थ यो गठबन्धन सरकारले अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउन सक्ने सम्भावना छैन। यस्तोमा के गर्ने अब? अहिले विभिन्न प्रकारका शक्तिहरू, विभिन्न प्रकारका राजनीतिक प्रवृत्ति र सोचहरू असफल भइसकेका, इतिहासमा असफल भएका अढाई सय वर्षका राजतन्त्रको इतिहासमा २४० वर्षको इतिहासमा विकास निर्माणको कुरा कहिले थालिएका छ भन्दा २०२० सालबाट कोदारी राजमार्ग बनाएको कुरा छ। २४० वर्ष के हेरेर बस्यो? दुनियामा बाटो बनेको देखेका थिएन? नेपालमा बनाउन पर्दैन थियो?’

ओलीले वर्तमान सरकारले मुलुकको अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउने सम्भावना नरहेको दाबी समेत गरे। उनले देश अप्ठ्यारो परिस्थितिमा रहेकाले प्रतिगामी तत्वहरु सल्बलाएको भन्दै देशलाई सही बाटोमा ल्याउने काम एमालेले मात्रै गर्न सक्ने बताए।

‘अहिलेको सरकारको यो निकम्मापन, जसले प्रतिगमनतर्फ जानका लागि अनुकूल वातावरण सृजना गर्ने र प्रतिगामी शक्तिहरूलाई हौसला प्रदान गर्ने काम गरेको छ। त्यो नालायकी स्वीकार्य हुन सक्दैन। कि उपयुक्त ढंगले सरकार चलाउनु पर्छ होइन भने सरकार छोडनु पर्छ,’ ओलीले भने, ‘वैधानिकताको एउटा धागो समातेर यी अहिले गठबन्धनमा छन यिनीहरू। यिनीहरूबाट अव हामीले देखिसक्यौं– हामीलाई समेत पुराना भन्छन नि। उमेरका हिसाबले पुराना हुँदैन। हामीसँग कामको हिसाबले, विचारका हिसाबले कसैको पनि तुलना हुन सक्दैन। हामी नयाँ पार्टी हौँ।’

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको सत्ता स्वार्थका कारण मुलुकको स्वाधिनता सबैभन्दा अपहेलित, अपमानित र तिरस्कृत हुने पुगेको बताए। पछिल्लो यो अढाई वर्षको बीचमा मुलुकको राष्ट्रिय हित, गौरव र सम्मान धेरै कमजोर हुन पुगेको पनि दोहोर्‍याए। वर्तमान सरकारले मुलुकको असंलग्नता र तटस्थतासम्बन्धि परराष्ट्र नीति पनि धरापमा पारेको ओलीको आरोप थियो।

‘अहिले हाम्रो असंलग्नता धरापमा परेको छ। हाम्रो तटस्थता धरापमा परेको छ। अहिले स्वाधिनता अपहेलित, अपमानित, तिरस्कृत भएको जस्तो छ। यो अवस्था राष्ट्रका लागि शोभनीय र सम्मानजनक होइन। यो परिस्थिति यो अढाई वर्षको बीचमा यो परिस्थिति निर्माण भएको छ। र, यी अढाई वर्षहरुमा देश राष्ट्रिय सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हितहरू र राष्ट्रिय गौरव र सम्मानका हिसावले लामो समययता यस्तो कमजोर भएको थिएन,’ उनले भने, ‘अहिले यो अढाई वर्षमा कमजोर भएको छ। राष्ट्रिय हितको रक्षा होइन, सत्ता प्राप्तीको स्वार्थलाई केन्द्र भागमा राखेर चल्दा देशको स्वाभिमानको र स्वाधिनतको रक्षा होइन, सत्ताका निम्ति अरुका लागि कम्फटेवल भईदिने नीतिले गर्दा यी कुराहरु कमजोर बनेका छन। जो अत्यन्तै गम्भीर कुरा हुन्। यसले हामीलेलाई अप्ठयारो भविष्यहरूतर्फ धकेल्न सक्ने खतराहरु पैदा भएका छन।’

त्यस अवसरमा अध्यक्ष ओलीले बामपन्थी एकतामा भन्दा एमालेलाई सुदृढ राष्ट्रिय शक्ति बनाउने काममा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत पनि गराएका थिए।

प्रकाशित: Nov 22, 2023| 18:40 बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्