शनिबार, फागुन ३, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • प्रसाईं र युवा संघ दुवैले भक्तपुरबाट जुलुस निकाल्ने, यस्तो हुनेछ रुट

Siddartha premir insuranceSiddartha premir insurance

प्रसाईं र युवा संघ दुवैले भक्तपुरबाट जुलुस निकाल्ने, यस्तो हुनेछ रुट

 |  बुधबार, मंसिर ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ६, २०८०

ntc landingntc landing

काठमाडौं- भोलि बिहीबारको विरोध प्रदर्शनका लागि एमाले निकट युवा संघ र मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईं समूहले तयारी तीव्र पारेका छन्।

himalayan bank box

दुवै समूहले माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेका भए पनि प्रशासनले यो क्षेत्रमा निषेधाज्ञा जारी गरेर प्रदर्शनका लागि फरक-फरक स्थान तोकिदिएको छ। यसअनुसार युवा संघले तीनकुनेमा र प्रसाईं समूहले बल्खुमा प्रदर्शन गर्नेछन्।

युवा संघले सल्लाघारीबाट र प्रसाईं नेतृत्वको समूहले सानो ठिमीस्थित एसओएसबाट जुलुस निकाल्ने भएका छन्। युवा संघको जुलुस मोटरसाइकल सहित कोटेश्वर हुँदै च्यासलस्थित पार्टी कार्यालयमा पुग्नेछ। च्यासलबाट बागमती करिडोर हुँदै बिहान साढे १० मा युवा संघको जुलुस तीनकुने पुग्ने गरी रुट तय गरिएको छ।

दुर्गा प्रसाईं नेतृत्वको समूहको जुलुस सानोठिमीबाट पेप्सीकोला हुँदै मित्रपार्क पुग्ने र भित्री बाटो र चक्रपथ हुँदै बल्खु पुग्ने गरी रुट निर्धारण गरिएको छ।

जुलुसको नेतृत्व प्रसाईं र महेश बस्नेतले गर्नेछन्। बस्नेतको गृहजिल्ला भक्तपुर नै हो भने प्रसाईंको पनि भक्तपुरमा घर छ। प्रहरीले आजैदेखि लोकन्थलीस्थित प्रसाईंको घर र गुण्डुस्थित बस्नेतको घर आसपास सुरक्षा सतर्कता बढाएको छ।

'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल-२०७९' का नाममा 'मंसिर ७ नागरिकको साथ' नाराका साथ प्रसाईंको नेतृत्वमा प्रदर्शन हुन लागेको हो। युवा संघले भने महँगीको विरोधमा प्रदर्शन आयोजना गरेको हो। दुई समूहको फरक-फरक उद्देश्य भए पनि प्रसाईं र बस्नेतको व्यक्तिगत तिक्तताका कारण झडप हुन सक्ने आकलन गरिएको छ।

बल्खु र तीनकुनेमा बिहीबार हुने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ। बल्खुमा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले प्रदर्शन आयोजना गरेको छ भने एमाले निकट युवा संघले काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने भएको छ।

प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिने प्रहरी स्रोतले बताएको छ। प्रदर्शनस्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन्। काठमाडौंमा २ हजार ६३७, ललितपुरमा ५६४ र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ।

ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन्। उपत्यका ट्राफिक प्रहरीले सवारी व्यवस्थापनमा कठिनाइ हुने भन्दै अत्यावश्यक काम भएमात्र घरबाट बाहिर निस्कन भनेको छ।

आज एक सूचना जारी गर्दै प्रहरीले भोलि विभिन्न समूहले प्रदर्शन गर्ने भएकाले ट्राफिक व्यवस्थामा समस्या हुने भन्दै ट्र्राफिक प्रहरीलाई १०० वा १०३ नम्बरमा फोन गरी वा ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनी आफू जाने रुटको अवस्थाबारे जानकारी लिनसमेत आग्रह गरेको छ।

'तपाईंको सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्नहुन विनम्र अनुरोध गर्दछौं,' प्रहरीले भनेको छ।
 
प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागबाट सूचना संकलनका लागि ३५१ जना सुरक्षाकर्मी परिचालन गरेको छ। एकीकृत सुरक्षा योजना अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट २ सय जना सादा पोसाकका प्रहरी प्रदर्शनस्थलमा परिचालित हुनेछन्।

दुई समूहबीच झडपको सम्भावनालाई मध्यनजर गरेर प्रशासनले फरक फरक स्थान तोकिदिएको छ। प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ। प्रदर्शन स्थलमा सुरक्षा व्यवस्थापनको नेतृत्व काठमाडौंका एसएसपीले गर्नेछन्। प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने भएको छ। तीनकुनेमा भने अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएकाले ड्रोन प्रयोग गर्न सम्भव छैन। प्रदर्शन स्थलमा २ थान ज्यामर भेहिकल प्रयोग गर्ने सुरक्षा निकायको तयारी छ।

प्रकाशित: Nov 22, 2023| 16:03 बुधबार, मंसिर ६, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्