शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • को हुन् दुर्गा प्रसाईंका महिला 'कार्यकर्ता' माथि दुर्व्यवहार गर्ने ?

को हुन् दुर्गा प्रसाईंका महिला 'कार्यकर्ता' माथि दुर्व्यवहार गर्ने ?

 |  बुधबार, मंसिर ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ६, २०८०

मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंको आह्वानमा मंसिर ७ गते काठमाडौंमा हुने प्रदर्शनमा भाग लिन आएका महिलाहरूको समूहलाई पार्टी प्यालेसबाट निकालिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले  यसबारे छानबिन थालेको छ। भक्तपुरको लोकन्‍थलीस्थित इन्द्रसान पार्टी प्यालेसमा बसेका महिलाहरूलाई मंगलबार बेलुका करिब सवा १० बजेतिर निकालिएको थियो।

triton college

सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा सार्वजनिक भएको भिडयोमा सुत्ने तयारी गरिरहेका महिलाहरूलाई युवाहरूको समूहले त्यहाँबाट बाहिर निस्कन भनिरहेको सुनिन्छ। ‘७ गतेको कार्यक्रममा आउनुभएको हो? हेलो दिदीहरू?’ भनेको आवाज भिडियोमा सुनिन्छ। धम्कीपूर्ण शैलीमा युवाहरूको एक समूहले महिलाहरूलाई उक्त पार्टी प्यालेसबाट बाहिरिन भनेका छन्।

जवाफमा महिलाहरूले भनेका छन्- ‘हामी जान्छौं, लुगा लगाउन दिनुस् हामीलाई।’ युवाहरूले महिलाहरूलाई छिटो पार्टी प्यालेसबाट निस्कन भनेका थिए। एक जना युवाले भिडियो खिच्दै भनेका छन्- दुर्गा प्रसाईंलाई फोन गर्नू, युवा संघले हामीलाई निकाल्यो भनेर। हेलो दिदीहरू दुर्गे प्रसाईंलाई फोन गर्नुस् युवा संघले लखेट्यो भनेर, गइहाल्नु गइहाल्नु। साथै युवाहरूले प्रदर्शनका लागि आएकाहरूलाई काठमाडौंमा कतै पनि बास बस्न नदिने भनेको भिडियोमा सुनिन्छ। महिलाहरूले राति भएकोले पार्टी प्यालेसमा बस्न दिन आग्रह गरेका थिए।

पार्टी प्यालेसबाट निकालिएपछि महिलाहरूले मेडिकल व्यवसायी प्रसाईंलाई फोन गरेका थिए। केही बेरपछि प्रसाईंका स्वकीय सचिव बताउने एक व्यक्तिले जिल्ला प्रहरी परिसर काठमाडौंमा फोन गरेर सुरक्षा माग गरेका थिए। केहीबेरमा डीएसपी पवन भट्टराईको नेतृत्वमा प्रहरी टोली महिलाहरूको समूह भएको ठाउँमा पुग्दा धम्क्याउने युवाहरु हिँडिसकेका थिए। सुरक्षाका लागि प्रहरीहरू बसेपछि महिलाहरु त्यहीँ सुते र आज बिहान गौशालातिर जाने भनेर निस्किए।

महिलाहरूमाथि अभद्र व्यवहार गर्ने युवा समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ। सिसिटिभी फुटेज हेरेर थप अनुसन्धान अघि बढाइएको र सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्नेहरूलाई खोजी गरिएको प्रहरीले बताएको छ।

Metro Mart
vianet

यसैबीच प्रसाईंले आफ्ना समर्थकमाथि युवा संघका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएका छन्। राजधानीमा बिहीबारदेखि आयोजना गर्न लागिएको विरोध प्रदर्शनमा भाग लिन आएका समर्थकमाथि युवा संघका कार्यकर्ताले आक्रमण गरेको उनले बताए।

आफ्ना समर्थकलाई युवा संघका कार्यकर्ताले कोटेश्वर, गौशाला, नयाँ बसपार्क र सुन्धाराका होटलमै प्रवेश गरेर धम्की दिइरहेको पनि प्रसाईंले बताए। उनका अनुसार प्रदर्शनमा भाग लिन विभिन्न जिल्लाबाट समर्थकहरू राजधानी आउन थालेका छन्।

काठमाडौंमा मंसिर ७ गते युवा संघ र प्रसाईं पक्षले कार्यक्रम गर्न लागेका छन्। दुवै टोलीले माइतीघरमा कार्यक्रम गर्ने सम्भावना देखेपछि काठमाडौं प्रशासनले एक महिना माइतीघर-नयाँ बानेश्वर क्षेत्र निषेधित क्षेत्र तोकेको छ भने दुवै पक्षलाई कार्यक्रम गर्ने स्थानसमेत तोकिदिएको छ। यसअनुसार युवा संघले तीनकुनेमा र प्रसाईंले बल्खुमा कार्यक्रम गर्दैछन्।

प्रकाशित: Nov 22, 2023| 11:36 बुधबार, मंसिर ६, २०८०
प्रतिक्रिया दिनुहोस्