बिहीबार, वैशाख २०, २०८१

विचार

सामाजिक सद्‍भाव बिगार्ने टिकटक कि मानिस?

सामाजिक सञ्‍जालको प्रयोग गरेर घृणा फैलाउने तथा अपराध गर्ने काम बढी छ भने त्यो देशको राजनीतिक दल तथा सरकारको असफलता पनि हो। त्यसैले सरकारले टिकटक बन्द गर्ने गरेको निर्णय सर्वथा गलत छ। यो लोकतान्त्रिक मूल्यमान्यता तथा सिद्धान्तको विरुद्ध हो।
 |  मंगलबार, कात्तिक २८, २०८०

भानु बोखिम

भानु बोखिम

मंगलबार, कात्तिक २८, २०८०

नेपाल सरकारले चिनियाँ सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ। प्रकाशित समाचारको आधारमा भन्‍ने हो भने अपराध र घृणा फैलाउने काम भएको कारण टिकटक बन्द गर्ने निर्णय गरेको हो। निश्चय नै अपराध र घृणा फैलाउने काम क्षमायोग्य काम हैनन्। तर यो प्रविधिले नभएर प्रविधि प्रयोगकर्ताले गरेका काम हुन्। तसर्थ प्रयोगकर्ताको सट्टा प्रविधि तथा उपकरण बन्द गरेर सरकार उल्टो बाटो हिँडेको छ।

triton college

कुनै पनि प्रविधिको सबल र दुर्बल पक्ष हुन्छन्। यसलाई मध्यनजर गर्दै प्रयोगकर्ताले सधैँ अधिकत्तम मानव हितमा काम गर्नुपर्छ। तर, जहाँ बेथिति, भ्रष्टाचार र त्योसँग जोडिएर नागरिकमा नैराश्यता व्याप्त हुन्छ,  त्यहाँ कुनै पनि प्रविधि तथा उपकरणको दुरुपयोग हुने सम्भावना बढी हुन्छ। टिकटकको प्रसङ्गमा भएको पनि यही हो। अन्य सामाजिक सञ्जाल पनि यसमा अछुतो छैनन्। तसर्थ सरकारले प्रतिबन्ध भन्दा पनि नियमनको पाटोलाई मजबुत बनाउनु पर्छ। सरकार भने यतातिर लागेन। किनभने सामाजिक सञ्जालको दुरुपयोगमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हाम्रो सिङ्गो राजनीतिक संस्कार र नेताहरूको अकर्मण्यता जोडिएको छ। कसरी त? यससँग जोडिएको अपराध र घृणा भावलाई नेताको व्यवहार र बोलीले पारेको प्रभावमा जोडेर हेरौँ।

अराजकतावादी सिद्धान्तका प्रतिपादकहरु मानिस आफैँमा असल गुणले युक्त हुन्छ, भन्छन्। उनीहरु राज्यको नियन्त्रणकारी चरित्रलाई रुचाउँदैनन्। तर हामीजस्तो तेस्रो विश्वको राज्य र राजनीति नियन्त्रकारी मात्र छैन। सत्ता र शक्तिको अधिकत्तम दुरुपयोग गर्ने नेता तथा राजनीतिक दलहरु छन्। नेताहरूको भनाई र गराईमा एकरूपता छैन। आवधिक निर्वाचनमा नागरिकले तीनै दल र नेतालाई मत दिन्छन्। तर, यो उनीहरु प्रतिको विश्वास नभएर आफ्नो राजनीतिक सहभागिताको कर्मकाण्ड मात्र हो। आफूले मत दिएको नेताले देश विकास गर्छन् भन्नेमा नागरिकलाई विश्वास छैनन्। अविश्‍वासबाट पैदा हुने सोंच र योजनाहरु नकारात्मक नै हुन्छन्। यस्तोमा राजनीति मार्फत कमाऊ धन्दामा लागेका नेताहरूबाट जसरी पनि धन कमाउन नागरिक प्रेरित हुनु अस्वाभाविक होइन। 

बढ्दो बेथिति, भ्रष्टाचार र महँगीमा पैसाको महत्व अझ बढी हुन्छ। यस्तोमा जसरी पनि कमाउनु पर्छ भन्ने सोंच नागरिकमा हुन्छ। यी सोच भएका मध्ये कतिले अपराधको सहारा लिन्छन्। सायद नेताहरू नैतिकवान् हुन्थे अनि सरकारमा पुगेर नीति र प्रणालीमा देश चलाउँथे भने नागरिकमा नैराश्‍यता कम हुन्थ्यो। आत्मविश्वास र सकारात्मक सोच भएको मान्छेले व्यक्तिको मात्र नभएर समग्र समाजको हित सोच्छ। समग्र समाजको हित सोच्नेले व्यक्तिगत हितको लागि कुनै पनि प्रविधि र उपकरणको दुरुपयोग गर्दैन। त्यो अर्थमा टिकटक प्रयोग गरेर आपराधिक गतिविधि हुनु भनेको हाम्रो नेताको व्यवहारले जनतामा कस्तो मनोविज्ञान निर्माण गर्‍यो भन्ने हो।    

सरकारको अर्को आरोप भनेको टिकटकमार्फत् घृणा फैलाएर सामाजिक सद्भाव खलबल्याउने काम भयो। घृणा फैलाउने काम मानिसको अभिव्यक्ति र व्यवहारले हो। भलै यसलाई द्रुत गति दिने काम टिकटकले गर्‍यो। तर, सबैभन्दा महत्त्वपूर्ण कुरा हामी कति संस्कारयुक्त छौं भन्‍ने हो। मानिस सामाजिक प्राणी हो। समाजमा कुनै न कुनै धर्म, संस्कार अनि दर्शनबाट प्रभावित हुन्छ। त्यो अर्थमा प्राय सबै कुनै न कुनै धर्म, दर्शन र संस्कारको अनुयायी छौं। तर, हामी आफूले अँगालेको बाहेक अन्य धर्म, संस्कार अनि दर्शनप्रति कति फराकिलो सोच र दृष्टिकोण राख्छौं? निश्चय नै हामी मध्ये धेरैले राख्दैनौं। 

corrent noodles
Metro Mart

यो फरक विचार र सोच भएको व्यक्तिप्रतिको असहिष्णु व्यवहारको परिणाम हो। फरक सोंच र विचारप्रति राणा शासन र पञ्चायत त सहिष्णु हुन सकेन नै, प्रजातन्त्र हुँदै लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका नेता तथा राजनीतिक दलले पनि सभ्य र सौम्य तरिकाले अभिव्यक्ति संस्कारको विकास गर्न सकेनन्। नेताहरू आफ्नो जमात र कार्यकर्तालाई उत्तेजक बनाएर ताली बनाउने अभिव्यक्ति दिनमै रमाए। एक पक्षले उत्तेजक अभिव्यक्ति दिएपछि बदलामा अर्कोले त्यही गर्ने भयो। हाम्रो समाज सहिष्णु त थिएन नै। राजनीतिक दल तथा नेताहरुको व्यवहारले नागरिक पनि फरक विचार र दृष्टिकोणप्रति असहिष्णु तरिकाले अझ मुखरित हुन थाले। यस्ता घृणा भावहरु सामाजिक सञ्जालमा पनि छताछुल्न छन्। जसमा कति अभिव्यक्ति ठूला भनिएका नेताकै हुन्छन्। हाम्रो नेताले सिद्धान्त, नीति र दर्शनको आधारमा सही र गलतको पैरवी गरेनन्। राजनीतिको द्वन्द्व र अर्को नेतासँगको परिस्थितिजन्य सम्बन्धको आधारमा अभिव्यक्ति दिए। यसले आफ्नो योजनाको आधारभन्दा बढी अरुको आलोचना गरेर अघि बढ्ने प्रवृत्तिको विकास भयो। यसले नागरिकमा आफ्नो सीमा हेर्ने भन्दा अरुको खोट देखाउने प्रवृत्तिको विकास भयो। यस्तो सोचलाई प्रविधि वा उपकरणमाथि प्रतिबन्ध लगाएर नियन्त्रण हुँदैन।
 
आम मानिसको व्यवहार र सोच निर्माणमा देशको राजनीतिक दलले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा भूमिका खेलेको हुन्छ। त्यो अर्थमा सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरेर घृणा फैलाउने तथा अपराध गर्ने काम बढी छ भने त्यो देशको राजनीतिक दल तथा सरकारको असफलता पनि हो। त्यसैले सरकारले टिकटक बन्द गर्ने गरेको निर्णय सर्वथा गलत छ। यो लोकतान्त्रिक मूल्यमान्यता तथा सिद्धान्तको विरुद्ध हो।
 
सरकारले टिकटक बन्द गर्ने निर्णयको पक्ष र विपक्षमा मत जाहेर भएका छन्। भलै सरकारको पक्षमा सुनिने आवाज मिहिन छन्। उनीहरूको तर्कमध्ये एक अन्य देशमा पनि टिकटक बन्द रहेको कुरा छ। त्यसमध्ये एक हो भारत तर भारतले टिकटक चीनसँग सीमा विवाद र लडाइँसँगको कारण बन्द गरेको कुरा घाम झैँ छर्लङ्ग छ। टिकटक बन्द गर्ने मध्ये अफगानिस्तानको चर्चा गर्नु खासै औचित्य छैन, किन भने यो देश अहिले पनि एउटा बन्द समाजको निर्माण गरेर शासन गर्न खोजिरहेको छ। अधिकांश युरोपेली देश तथा अमेरिकामा बन्द हुनुको कारण सूचनाको चुनौती चोरी हुने जोखिमसँग मात्र जोडिएको छैन। उनीहरूको राजनीतिक दर्शन र आर्थिक पाटोसँग जोडिएको द्धन्द्पनि हो। यो द्वन्द्वमा उनीहरूले गरेको निर्णय लोकतान्त्रिक मूल्यमान्यतामा टेकेर गरेका छन् भनेर विश्वास गर्न सकिँदैन।

लोकतान्त्रिक देशले गरेका सबै निर्णय लोकतन्त्रको मानक हुन्छन् भन्ने पनि छैन। तसर्थ विभिन्न आयामबाट नागरिकलाई फाइदा पुर्‍याएको टिकटक बन्द गर्नु सर्वथा गलत निर्णय हो। यसले घृणा भाव फैलाएको र अपराधको लागि प्रयोग भएकोमा दुई मत रहेन। तर यसलाई प्रयोग गरेर मान्छेले राम्रो काम पनि गरेका छन्। मान्छेले आफ्नो व्यापार व्यवसाय प्रवर्द्धन गर्न टिकटकको प्रयोग गरेका छन्। कतिलाई आफ्नो कला र सृजना प्रस्फुटन गर्ने मञ्च भएको छ। उनीहरूले यसबाट नै आफ्नो लागि अवसर सृजना गरेका छन्। सूचना प्रवाह गरेर जनचेतना जोगाउनको लागि पनि टिकटक प्रयोग भएको छ। सरकारले टिकटकको यि सकारात्मक पक्षलाई नजर अन्दाज गरेर नकारात्मक पाटोलाई मात्र नियाल्नु न्यायोचित हुँदैन।

तसर्थ प्रविधि एक किसिमको उपकरण मात्र हो। कुनै पनि उपकरण मानव जीवनको हितको लागि प्रतिपादन तथा निर्माण गरिएका हुन्छन्। तर मानिसले यसको दुरुपयोग पनि गर्न सक्छन्, जसको परिणाम मानव समाजको लागि स्वीकार्य हुँदैन। तर यसमा दोष उपकरण स्वयंको नभएर मानिसको नियत हो। तसर्थ मानिसको नियतमाथि नियमन गर्ने हो। खराब नियत भएकाले टिकटकको दुरुपयोग गर्दैमा टिकटक नै प्रतिबन्ध गर्ने हैन। 

प्रकाशित: Nov 14, 2023| 15:10 मंगलबार, कात्तिक २८, २०८०
प्रतिक्रिया दिनुहोस्