काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजमा विसंगति, विकृति, अराजकता, फैलाउने र राज्यको जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खाले प्रवृत्तिलाई नियन्त्रण गर्न टिकटक बन्द गरिएको प्रस्टीकरण दिएका छन्।
आज नेपाल संवत् ११४४ अवसरमा भक्तपुरको ठिमीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सत्तारुढ दल र प्रमुख प्रतिपक्ष सबैको सहमतिमा टिकटक बन्द गरिएको बताएका हुन्।
‘सत्तारुढ र प्रतिपक्ष दलका नेताबीचको लामो छलफलपछि सामाजिक सद्भाव, पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउने उद्देश्यले टिकटिक बन्द गरिएको हो’, उनले भने।
टिकटक बन्द गर्दा कतिपयलाई चित्त नबुझे पनि सरकारले निर्णयलाई पूर्ण कार्यान्वयनमा लैजाने उनले दाबी गरे। सोमबारको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो।
सरकारको निर्णयपछि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक संस्थालाई पत्र लेखेर टिकटक बन्द गर्न परिपत्र गरेको थियो। टिकटिक बन्द गर्ने सरकारको निर्णयप्रति कांग्रेस, एमालेलगायत दलका नेताहरुले भने विरोध गरेका छन्।