जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको तीन-चार दिनपछि आएका केही समाचारले ध्यान आकृष्ट गर्यो। भूकम्पको चौथो दिनसम्म पनि पीडितहरूसम्म पर्याप्त राहत सामग्री पुगेको थिएन। शोकाकुल सर्वसाधारणले बढ्दो चिसोमा खुला आकाशमुनि रात बिताउनु परिरहेको थियो।
स्मरण रहोस्- जाजरकोट भूकम्पमा पूरै राज्य संयन्त्र लागिपरेको छ। प्रधानमन्त्री भूकम्पको केही घण्टामै जाजरकोट पुगेका हुन्। त्यसपछि गृहमन्त्रीलगायत थुप्रै मन्त्रीहरुको लर्को लाग्यो। सांसदहरु नपुग्ने कुरै भएन। राष्ट्रपति समेत युरोप भ्रमण रद्द गरेर लौरो टेक्दै जाजरकोटका ध्वस्त बस्तीहरुमा पुगे। तर, किन पुगेन राहत ? एकद्वारका नाममा राहत सामग्री सदरमुकाममा थुप्रियो अनि पीडित हेरेको हेर्यै। स्थानीय तह र स्वयंसेवकहरू योजनाबद्ध ढंगले परिचालित भएर युद्धस्तरमा परिचालित भएका भए आँशुले भरिएका पीडितका तस्बिर मिडियामा आउने थिएनन्।
अर्को मन छुने समाचार बीबीसी हिन्दीले छापेको थियो। समाचारअनुसार जाजरकोटमा मानिसहरु स्टिलका कचौरा र थालको मद्दतले भग्नावशेषमा पुरिएमा मानिसलाई बचाउन कोसिस गरिरहेका थिए। स्थानीय मानिससँग स्रोतसाधन नहुँदा बचाउन सकिने कतिपयले ज्यान गुमाउनु परेको समाचार छ। प्रशिक्षित उद्धारकर्ताहरुले समेत पर्याप्त स्रोत साधनबिना काम गर्नु परिरहेको अवस्था छ।
पछिल्लो एक दशकभित्रै हामीले भोगेको यो दोस्रो ठूलो भूकम्पीय विपत्ति हो। आठ वर्ष अघिमात्रै झन्डै साढे १० हजारको ज्यान जाने गरी गएको भूकम्पबाट हामीले के पाठ सिक्यौं त ? के पूर्वतयारी गर्यौं त ? सरकारले के गर्यो? जनताले के गर्यो? थाल-कचौराले खोस्रेर मान्छे बचाउने आश गर्नुपर्ने नियतिमा हामी कसरी पुग्यौं ? सोचनीय विषय छ।
जाजरकोट र रुकुम पश्चिमका दृष्यहरु हेरिरहँदा ०७२ को भूकम्पका केही अनुभव सेयर गर्न मन लाग्यो।
२०७२ वैशाख १२ गते शनिबार हामी धनकुटाबाट सुनसरी आउँदै थियौं। आईजीपी उपेन्द्रकान्त अर्यालसहित हामी अनुगमनमा थियौं। जिल्ला प्रहरी कार्यालय सुनसरीको ब्रिफिङ लिने कार्यक्रम थियो त्यसदिन। आईजीपी ब्रिफिङ गर्दै हुनुहुन्थ्यो, अचानक जमिन हल्लिन थाल्यो। कम्पनबाट महसुस भइहाल्यो- निकै ठूलो भूकम्प गएको छ। एकै छिन त सबै आत्तियौं। भागदौड नै भयो, तर तुरुन्तै सम्हालिएर एक्सनमा उत्रिहाल्यौं। आईजी साब सँगै भएकोले मुभ हुन सजिलो पनि भयो।
म त्यतिखेर आईजी सचिवालयको हेड थिएँ। तुरुन्तै मैले हेडक्वार्टरमा आवा गरेर देशैभर नेपाल प्रहरीलाई अलर्ट गराउन भनेँ। जिल्ला प्रहरीको कन्ट्रोल रुममा गएर लिखित आदेश पनि तयार गरेँ आईजी साबको तर्फबाट। तथ्य सूचना प्रवाह गर्ने, रेस्क्यु टिमहरु तयार गर्ने, भिजिबिलिटी बढाउने, आवश्यक स्रोतसाधन जुटाउने, सबै जिल्लाका दैवी प्रकोप उद्धार संयन्त्रहरुलाई सक्रिय बनाउने निर्देशन दिइयो। `संवेदनशील हुनुहोला, धैर्य राख्नुहोला, विचलित नभई साहसका साथ उद्धारमा खट्नुहोला' भनेर रेडियो सेटबाट आईजीको निर्देशन सबै कर्मचारी र कार्यालयमा पठाइयो। भएका कर्मचारी घरभित्र नबस्ने र बाहिर फिल्डमा निस्कने अनि तत्काल मोबिलिटी हाइ गर्ने भन्ने निर्देशन गयो। कहाँ के क्षति भयो भनेर रेडियो सेटबाट तथ्यांक पनि लिन थाल्यौं। एनटिसी, एनसेलको नेटवर्कले काम गर्न छोडिसकेको थियो। फेसबुक, ट्विटर, भाइबर प्रभावकारी सावित भए त्यतिखेर।
फेसबुकले ल्याएको सुरक्षा चेकका कारण पनि मान्छेहरूलाई आफ्ना आफन्त भूकम्पमा सुरक्षित भए-नभएको भन्ने जानकारी पाउन सहज भयो। गुगलले विकास गरेको म्यापबाट पनि निकै सहयोग पुग्यो। यद्यपि, सामाजिक सञ्जालको दुरूपयोग हुन नदिन हामीले उत्तिकै सजगता अपनाएका थियौं।
सडक भासिएर पहिरो खसेर अवरुद्ध हुन सक्ने, बाटोमा सवारीसाधन पल्टिन सक्ने, खोला-नदीहरु थुनिन सक्ने भएकाले सडक विभागका डोजर, क्रेन आदि तयार राख्न भनियो। सँगै ड्राइभरहरुलाई पनि तयारी अवस्थामा रहन भनियो।
बढी क्षति काठमाडौंमा भएको खबर आएपछि तुरुन्त आउनुपर्ने भयो तर विमानस्थल नै बन्द भइसकेको थियो। परिवार काठमाडौंमै भएकाले सञ्चार सम्पर्क अवरुद्ध हुँदा के-कसो भयो भन्ने चिन्ता पनि भयो। परकम्पहरु गइरहेकाले सडकबाट जानु हुँदैन भन्ने सल्लाह जिल्लाका प्रहरी अधिकारीहरुले दिइरहेका थिए। तर, त्यहाँ बसिरहने अवस्था थिएन। पृथ्वी हल्लिरहेकै बेला गाडीमा हामी हिँड्यौं सुनसरीबाट। ठाउँ-ठाउँमा सडक अवरुद्ध थियो, हामी पन्छाउँदै आयौं। यात्राका क्रममा पनि आवश्यक निर्देशन दिने, सम्पर्कमा बस्ने र परिचालन गर्ने काम भइरह्यो।
काठमाडौं आइपुग्दा झन्डै मध्यरात भइसकेको थियो। त्यसपछि सिधै हेडक्वार्टर पुगेर हाम्रो सेललाई एक्टिभ गरायौं र गृह मन्त्रालय पुग्यौं। दिउँसोदेखि नै वाकीटकीबाट निर्देशन दिने काम त भइरहेको थियो। गृहमा सरोकारवालाहरुको बैठक बसेर उद्धारलाई थप तीव्र बनाउने निर्णय भयो। उद्धारसँगै राहतको काम पनि गर्नुपर्ने अवस्था थियो। मानिसहरु सडकमा थिए, चौरमा थिए, अरु खाली ठाउँमा थुप्रिएका थिए। उनीहरुका लागि खानेकुरा, ओढ्ने-ओछ्याउने कुराको बन्दोबस्त गर्नुपर्ने थियो। अस्पतालमा भयावह अवस्था थियो। मुख्य कुरा उद्धारको थियो। धेरै जनसंख्या भएका काठमाडौं, भक्तपुर, ललितपुरसहित १३ वटा जिल्ला प्रभावित थिए। निकै ठूलो विपत्ति भएकाले व्यवस्थापन निकै चुनौतीपूर्ण थियो। उद्धारका लागि भारत, चीनलगायत देशबाट पनि उद्धारकर्ता आउन थाले। तिनलाई पनि सही तरिकाले मोबिलाइज गर्नुपर्ने अवस्था थियो।
प्राकृतिक प्रकोप व्यवस्थापनमा नेपालको पूर्वतयारी सधैं कमजोर नै छ। त्यसमाथि गोरखा भूकम्प हाम्रो लागि पहिलो विपत्ति थियो ठूलो लेभलको। त्यसअघि २०४५ र १९९० सालमा गएका भूकम्पको व्यवस्थापन कसरी गरियो भन्ने अनुभव हामीसँग थिएन। जोखिम छ भन्ने जान्दाजान्दै पनि पूर्वतयारीको काम भने खासै भएको थिएन। सेना र प्रहरीसँग उपलब्ध जेजति साधनस्रोत र जनशक्ति छ, त्यसकै भरमा काम गर्नुपर्ने अवस्था थियो। अहिले पनि त्यही अवस्था छ। बाहिरबाट आउने विज्ञहरुले भनेको कुरा पनि यही हो- मान्छे असाध्यै राम्रा नेपालका। गरौं भन्ने भावना छ, मोटिभेट छन्, जोशजाँगर छ तर स्रोतसाधनको अभाव छ। मानिस फसेको छ, बचाउ भनेर चिच्याइरहेको छ तर उद्धार गर्ने उपकरण छैन। यहाँसम्म कि फलाम काट्ने समेत साधन छैन। स्रोतसाधनको अभावमा कतिपय पीडितलाई हप्ता दिनपछि उद्धार गर्नुपर्ने अवस्था आयो भने कतिपयले उद्धारको प्रतीक्षामै ज्यान गुमाए। यस्ता पीडादायी दृष्य धेरै देख्नुपर्यो त्यतिखेर।
नयाँ बसपार्क, स्वयम्भू लगायत बढी क्षति भएका ठाउँमा आईजीपी, मलगायत सिनियर अफिसरहरु आफैं पुगेर खट्यौं। गृह मन्त्रालय र नेपाली सेनामा पनि रेस्क्यु सेन्टर खडा गरिएको थियो। अर्को चुनौती के पनि थियो भने अस्पतालहरु आफैं पनि चुस्तदुरुस्त थिएनन्। कतिपय अस्पताल नै भत्किएका थिए, स्वास्थ्यकर्मीको मनोबल कमजोर बनेको थियो। फिल्डमा खटिएका सुरक्षाकर्मीकै घर भत्किएका थिए, कतिपयले परिवारका सदस्य गुमाएका थिए। उनीहरुलाई पनि सान्त्वना दिँदै उद्धार र राहतमा खटाउनुपर्ने चुनौती थियो।
पहिलो चरणको उद्धार र राहतपछि मेरो नेतृत्वमा प्रभावित जिल्लाहरुमा गएर सुरक्षा निकायहरुलाई ब्रिफिङ गर्ने र मनोबल उच्च बनाइराख्न काउन्सिलिङ गर्ने काम भयो। मानिसहरु अझै ट्रमाबाट बाहिर आउन सकेका थिएनन्। मुम्बईबाट पनि काउन्सिलर बोलाइएको थियो। म आफैंले पनि यूएनमा क्राइसिस म्यानेजमेन्टमा काम गरेकोले सहज भयो। हामी त्यसरी हिँड्दा पनि परकम्प आइरहेकै थियो। रसुवामा त मृत्युको मुखमा पुगेर बाँचेको अनुभव छ।
उद्धार, राहतसँगै नियमित सुरक्षाको काम पनि गर्नुपर्ने थियो। विपतको समयमा आपराधिक क्रियाकलाप झन् बढी हुन्छ। चोरी, लुटपाट, पाकेटमारी हुने, विभिन्न अफवाह फैलिने, कालोबजारी गर्नेहरु सक्रिय हुने, व्यापारीहरुले सामान थुपारेर जोखिम बढी हुन्छ। महिलामाथि हिंसा हुने, बालबालिका असुरक्षित हुने सम्भावना उत्तिकै हुन्छ। त्यस्तो सघन स्थितिमा काम गर्नुपर्ने थियो। खाद्यान्नलगायत अन्य आवश्यक राहत वितरणका लागि जिल्लाहरुबाट तथ्यांक लिएर चेकलिस्ट बनाएर काम गरियो। एक हप्तासम्म त दिनको दुई घण्टामात्र आँखा चिम्लिएर काम गर्यौं।
सीमित साधनस्रोतका बीच पनि प्रहरीले आफ्नो एफोर्ट छाडेन। दक्ष विदेशी उद्धारकर्ताहरुले उद्धार गर्न नसकेका ठाउँमा पनि नेपाल प्रहरी गई उद्धार गरेर उदाहरण प्रस्तुत गरियो। भूगोलसँग परिचित भएकाले हामीलाई सजिलो पनि भयो। कतिपय विदेशी त भिरालो जमिन देख्दा पनि डराउँछन्। विदेशी उद्धार टोलीले पनि ठाउँठाउँमा नेपाली उद्धार टोलीको प्रशंसा गरेका थिए। अर्काको दुःखलाई आफ्नै दुःख हो भनेर आत्मसात् गर्ने कुरामा नेपाल प्रहरी चुकेन। अत्यन्तै सीमित स्रोतसाधनका बीच त्यसरी काम गर्न ठूलो प्रतिबद्धता चाहिन्छ। सेवाभाव र बहादुरी नै हाम्रो पुँजी रहेछ भन्ने महसुस भयो त्यतिखेर।
उद्धारका क्रममा हामीलाई सर्वसाधारणको असाध्यै सहयोग रह्यो। महाविपत्तिमा नेपाली जनतामा जुन धैर्यता देखियो, प्रभावित समुदायका आपसी तिक्तता बिर्सेर जसरी सबैले एकअर्कालाई सहयोग गरे र प्रहरीसँग मिलेर काम गरे, त्यो प्रशंसनीयछ। स्थानीय संघसंस्थाले पनि उद्धारमा समन्वय गरे। त्यसबाट मलाई अनुभव भयो- हामी नेपालीमा एकताको भावना प्रचुर रहेछ; परेका बेला हामी मिलेर काम गर्न सक्दा रहेछौं।
भूकम्पमा सामाजिक सञ्जालको भूमिका पनि महत्त्वपूर्ण रह्यो। सामाजिक सञ्जालमा हामीले नेटवर्क बनाएका थियौं, जसले सूचना प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गर्यो। सर्वसाधारणले फेसबुक र ट्विटरमा राखेका सूचनाका आधारम हामीले ठाउँठाउँमा उद्धार टोली पठायौं।
रेस्क्यु गर्नेहरू आधुनिक उपकरण र साधनस्रोतले युक्त भएर जानुपर्ने हुन्छ। आफू तन्दुरूस्त भएर जानुपर्ने हुन्छ। तर, हाम्रा प्रहरीहरू चिउरा र भुजियाका भरमा रेस्क्युमा जानुपर्ने अवस्था आयो। तैपनि प्रहरी कर्मचारी आफ्नो जिम्मेवारीबाट भागेनन्। एक सेकेन्ड पनि खेर नफाली प्रहरीहरूले मनदेखि नै काम गरे। विदेशबाट आएका रेस्क्यु टोलीहरूले बोकेका उपकरण देख्दा 'यस्ता सामग्री हामीसँग पनि भएका भए कोही चाहिने थिएन, हामी आफैं गरिहाल्थ्यौं भन्ने पनि लागेको थियो। आधुनिक उपकरण अनि नेपालीको साहस र बहादुरीलाई सँगसँगै लैजान सकेको भए द्रुत गतिमा काम हुन्थ्यो। हाम्रो स्पिरिटलाई अझ बढी ऊर्जा मिल्थ्यो।
पछि अमेरिकाको हवाईमा भएको कार्यक्रममा मैले यही विषयमा कार्यपत्र प्रस्तुत गरेको थिएँ। भूकम्प व्यवस्थापनको अनुभवका आधारमा तयार गरिएको लिखित सुझाव सरकारलाई पनि बुझाइएको थियो। भएका स्रोतसाधनको परिचालन गर्ने, दोहोरोपन हुन नदिने, कसले के काम गर्ने भन्ने कुरा स्पष्ट पार्ने लगायत सुझाव हामीले दिएका थियौं। विपत्तिको बेला जोकोही आत्तिनु, हडबडाउनु स्वाभाविक हो। यस्तो बेला कसले के काम गर्ने भनेर पहिले नै स्पष्ट छ भने तुरुन्त एक्सनमा उत्रिन सहज हुन्छ।
विपत्ति बारम्बार आइरहे पनि पूर्वतयारीमा हामी कहिल्यै सबल भएनौं। देशको केन्द्रीय राजधानीसहित १३ जिल्ला प्रभावित भएको, साढे १० हजारभन्दा बढीको ज्यान गएको र लाखौं भौतिक संरचना ध्वस्त भएको गोरखा भूकम्पबाट हामीले के सिक्यौं त ? के पूर्वतयारी गर्यौं त ? गरेकै रहेनछौं। गरेको भए अहिले दुई जिल्लामा भूकम्प जाँदा यत्रो कोकोहोलो हुने थिएन।
(खनाल नेपाल प्रहरीका पूर्व महानिरीक्षक हुन्।)