भारतीय हास्य कलाकार कपिल शर्माको कार्यक्रम 'द ग्रेट इन्डियन कपिल शो' को तेस्रो सिजन सुरु भएको छ। अभिनेता सलमान खान यो सिजनको पहिलो अतिथिका रुपमा आएका थिए।
सलमान आफ्नो फिल्म 'सिकन्दर' को प्रचार गर्न कपिलको शोमा आएका हुन्। त्यस क्रममा कपिल र उनको टोलीले सलमानलाई फिल्म र व्यक्तिगत जीवनसँग सम्बन्धित प्रश्नहरू सोधे।
एक प्रश्नको उत्तर दिने क्रममा सलमानले आफू 'ब्रेन एन्युरिज्म' नामक रोगबाट पीडित भएको बताए।
आफ्नो स्वास्थ्य समस्याको बारेमा कुरा गर्दै सलमानले सिकन्दरको छायांकनका क्रममा उनको करङमा चोट लागेको बताए।
उनले भने, "हामी हरेक दिन हड्डी भाँचिरहेका छौं, करङ भाँचिएका छन्, हामीलाई ट्राइजेमिनल न्यूराल्जिया भएको छ। दिमागमा एन्युरिज्म छ। तैपनि हामी काम गरिरहेका छौं। एवी मालफर्मेसन छ, तैपनि हामी हिँडिरहेका छौं। म एक्सन गर्छु। म हिँड्न सक्दिन, अझै पनि म नाचिरहेको छु। मेरो जीवनमा यही भइरहेको छ।"
सलमानको यो भनाइपछि मानिसहरू इन्टरनेटमा ब्रेन एन्युरिज्मसँग सम्बन्धित सूचना खोजिरहेका छन्। ब्रेन
ब्रेन एन्युरिज्म वास्तवमा के हो ? यो रोग कति खतरनाक छ?
रक्तनली फुल्ने समस्यालाई एन्युरिज्म भनिन्छ। यो समस्या नसाको कमजोरीको कारणले हुन्छ, विशेषगरी जहाँ नसा दुई भागमा विभाजित हुन्छ।
जब रगत यो कमजोर भागबाट जान्छ, यसको दबाबले त्यो ठाउँलाई बाहिरतिर फुलाउँछ, जसरी बेलुन फुल्छ।
एन्युरिज्म शरीरको कुनै पनि नसामा हुन सक्छ, तर तिनीहरू सामान्यतया दुई ठाउँमा धेरै हुन्छन्: हृदयबाट शरीरमा रगत पुर्याउने धमनीमा र मस्तिष्कमा ।
यदि एन्युरिज्म मस्तिष्कमा छ भने यसलाई ब्रेन एन्युरिज्म भनिन्छ।
ब्रेन एन्युरिज्मका प्रकार
ब्रेन एन्युरिज्म मुख्यतया तीन वर्गमा विभाजित छन्:
सेकुलर एन्युरिज्म
यसलाई बेरी एन्युरिज्म पनि भनिन्छ। यो एन्युरिज्म बोटमा झुण्डिएको अंगुरजस्तो देखिन्छ। यो मुख्य धमनी वा यसका हाँगाहरू मध्ये एकबाट निस्कने रगतले भरिएको गोलो थैली हो। यो प्रायः मस्तिष्कको आधार (तल) धमनीहरूमा बन्छ। बेरी एन्युरिज्म सबैभन्दा सामान्य प्रकारको एन्युरिज्म हो।
फ्युसिफर्म एन्युरिज्म
यस प्रकारको एन्युरिज्ममा धमनी वरिपरि सुन्निन्छ। अर्थात्, धमनीका सबै भागहरू सुन्निन्छन्।
माइकोटिक एन्युरिज्म
यो एन्युरिज्म संक्रमणको कारणले हुन्छ। जब संक्रमणले मस्तिष्कको धमनीहरूलाई असर गर्छ, यसले तिनीहरूको पर्खाललाई कमजोर बनाउँछ। यसबाट एन्युरिज्म बन्न सक्छ।
मस्तिष्क एन्युरिज्मका लक्षणहरू
ब्रेन एन्युरिज्म फुटेसम्म खतरनाक हुँदैन। यदि यो फुट्यो भने धेरै खतरनाक अवस्था हो, जसलाई सबराक्नोइड हेमोरेज भनिन्छ। यसले मस्तिष्कमा रक्तस्राव निम्त्याउँछ र मस्तिष्कलाई ठूलो क्षति पुर्याउन सक्छ।
फुटेपछि ब्रेन एन्युरिज्मका लक्षणहरू यस्ता हुन्छन्
अचानक, गम्भीर र असहनीय टाउको दुखाइ (मानौं कसैले तपाईंलाई टाउकोमा जोडले हिर्कायो)
घाँटी कडा हुनु
वाकवाकी लाग्नु र बान्ता हुनु
प्रकाश हेर्दा दुखाइ
नफुटेको ब्रेन एन्युरिज्मले सामान्यतया कुनै लक्षण देखाउँदैन, विशेषगरी यदि यो सानो छ भने।
यदि यो ठूलो छ भने यसले नजिकैका स्नायुहरूमा दबाब दिन सक्छ, जसले गर्दा टाउको दुख्ने, दृष्टिमा परिवर्तन हुने वा अनुहार सुन्निने जस्ता लक्षणहरू देखा पर्न सक्छन्।
ब्रेन एन्युरिज्म किन हुन्छ?
अनुसन्धानकर्ताहरूले रक्तनलीहरू किन कमजोर हुन्छन् भन्ने कुरा पूर्ण रूपमा बुझ्न सकेका छैनन्, तर यसको केही मुख्य कारणहरू दिइएका छन्।
- धूम्रपान
- उच्च रक्तचाप
- मस्तिष्क एन्युरिज्म भएको परिवारको सदस्य (आनुवंशिक कारण)
- कहिलेकाहीं जन्मदेखि नै रक्तनलीहरू कमजोर हुन्छन्
- टाउकोमा चोटपटक
- मद्यपान र लागू पदार्थको सेवन
ब्रेन एन्युरिज्म जुनसुकै उमेरमा जोकोहीलाई पनि हुन सक्छ, तर यो ४० वर्षभन्दा माथिका मानिसहरूमा बढी सामान्य हुन्छ। यो पुरुषहरूको तुलनामा महिलाहरूमा बढी हुन्छ।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार त्यहाँ प्रत्येक वर्ष प्रत्येक पन्ध्र हजार मानिसमध्ये एक जनामा ब्रेन एन्युरिज्म फुट्छ।
अमेरिकामा आधारित ब्रेन एन्युरिज्म फाउन्डेसनका अनुसार अमेरिकामा प्रत्येक वर्ष एक लाख मानिसहरूमा यसको आठदेखि दस घटनाहरू हुन्छन्।
उपचार के हो?
मायो क्लिनिक अमेरिकाको एक निजी संस्था हो जसले स्वास्थ्य अनुसन्धान गर्छ। संस्थाले मस्तिष्क एन्युरिज्मको बारेमा विस्तृत जानकारी दिएको छ।
फुटेको मस्तिष्क एन्युरिज्मको उपचार गर्न दुई सामान्य उपचारहरू छन् - सर्जिकल क्लिपिङ र एन्डोभास्कुलर उपचार। केही अवस्थामा यी उपचारहरू नफुटेको एन्युरिज्मको लागि पनि गर्न सकिन्छ, तर जोखिम उपचारको फाइदा भन्दा बढी हुन सक्छ।
ब्रेन एन्युरिज्मबाट कसरी बच्ने ?
धमनी विस्तार हुनबाट रोक्ने वा ठूलो हुने र फुट्ने जोखिम कम गर्ने सबैभन्दा राम्रो तरिका भनेको तपाईंको रक्तनलीहरूलाई क्षति पुर्याउने बानीहरूबाट बच्नु हो।
-धूम्रपान नगर्ने
- तारेको भुटेको खानेकुरा धेरै नखाने
- उच्च रक्तचापलाई नियन्त्रणमा राख्ने
- तनावबाट बच्ने
- मोटो नहुने