काठमाडौं– उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले २७ कात्तिकदेखि मंसिर १ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई)का लागि तय भएको भ्रमण स्थगित गरेका छन्।
दुबईमा आयोजना हुन लागेको १८औं दुबई एयर सो, २०२३ मा भाग लिन यूएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा उपप्रधानमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यूएई जाने कार्यक्रम तय भएको थियो। यसका लागि १६ कात्तिकको मन्त्रिपरिषद् बैठकले भ्रमणको स्वीकृतिसमेत दिएको थियो।
तर, १७ कात्तिक शुक्रबार राती जाजरकोटमा ६.४ रेक्टर स्केलको भूकम्प गएपछि उद्धार तथा राहतमा सक्रिय भएकाले उपप्रधानमन्त्री खड्काले भ्रमणको कार्यक्रम स्थगित गरेको रक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
‘भूकम्पपछि जाजरकोट र रुकुमपश्चितलगायतका क्षेत्रमा ठूलो धनजनको क्षति भएको र प्रभावितको उद्धार, राहत र पुनःस्थापनालगायतका काममा उपप्रधानमन्त्री खड्का स्वयं निरन्तर क्रियाशिल रहनुभएकाले यस विषम परिस्थितिमा वैदेशिक भ्रमणमा जान उपयुक्त नहुने निष्कर्षसहित यूएई भ्रमण रद्द गरिएको हो’, विज्ञप्तिमा उल्लेख छ।