काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भूकम्पपछिको अवस्था र उद्धार तथा राहतमा भइरहेको ढिलाइबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १४ बुँदे सुझाव बुझाएका छन्।
आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई पार्टीका तर्फबाट १४ बुँदे सुझावसहितको पत्र बुझाएका हुन्।
‘पार्टीको कार्यक्रमका लागि पाल्पामा थियौं। भूकम्पको खबर सुन्नेबित्तिकै पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर हामी सीधै जाजरकोट गएका थियौं। यस निवेदनमा मैले देखेको भूकम्प प्रभावित क्षेत्रको अवस्था र तत्काल गरिनुपर्ने कार्यको सूची तपाईंसमक्ष राखेको छु,’ सभापति लामिछानेको सुझावपत्रमा भनिएको छ।
सरकारले प्रभावित क्षेत्रमा चाहिएका सामग्री तत्काल लैजान र गुणस्तरीय त्रिपाल उपलब्ध गराउन आग्रह गरेका छन्। भूकम्प प्रभावित जनता दुई दिनमै आफ्नो जोहो गर्न आफैं संघर्षरत रहेको देखिएकाले यसले उनीहरू निराश भएको उनले उल्लेख गरेका छन्।
सरकार जनताको अभिभावक हुनुपर्ने स्मरण गराउँदै रास्वपाले जनसमुदायमा सरकार रहेको प्रत्याभूति दिलाउन उपयुक्त कदम चाल्न आग्रह गरेका छन्। राहत सामग्री वितरणमा दलीयकरण देखिएकाले एकरुपतामा लैजान उनले सुझाएका छन्।
राहत प्रशासन कार्यालयमा थुप्रिए पनि प्रभावितले नपाएको र एकद्वार प्रणाली व्यवस्थापन खराब रहेको भन्दै सुधार्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्। रास्वपा सभापति लामिछानले भूकम्पलगत्तै इपिसेन्टर जाजरकोट र रुकुम पश्चिम पुगेका थिए।