काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल साताव्यापी चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणमा अध्यक्ष नेपाल उपाध्यक्ष तथा कृषिमन्त्री डा.बेदुराम भुसालसहित १५ सदस्यीय टोलीको नेतृत्व गर्दै कात्तिक २१ गते मंगलबार चीनको राजधानी बेइजिङतर्फ जान लागेका हुन्।
अध्यक्ष नेपालको टोलीमा सातै प्रदेशका नेता कार्यकर्ता सहभागी हुने बुझिएको छ। उनको चीन भ्रमणलगत्तै चीनबाट उच्चस्तरीय प्रतिनिधिमण्डल काठमाडौं आउने तय भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ प्रतिनिधिमण्डलसहित नेपाल भ्रमणमा आउन लागेका हुन्। वाङलाई चीन सरकारले नेपाल–चीन सम्बन्धको इन्चार्ज हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणपछि चीनबाट पहिलो उच्चस्तरीय प्रतिनिधिमण्डल आउन लागेको हो। प्रधानमन्त्री प्रचण्ड र तिब्बत सेक्रेटरी वाङबीच १० असोजमा तिब्बतको राजधानी ल्हासामा भेटवार्ता भएको थियो। भेटवार्तामा नेपाल र चीनबीचका परम्परागत सीमानाकाका पूर्वाधार व्यवस्थापन गर्दै क्रमशः खुला गर्ने सहमति भएको थियो।
परराष्ट्र स्रोतका अनुसार तिब्बत सेक्रेटरी वाङले प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतसँग भेटवार्ताका लागि चिनियाँ दूतावासबाट अनुरोध आएको छ।