काठमाडौं– कोशी प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक सोमबार २० कात्तिक दिउँसो १ बजे बस्ने भएको छ। अर्को सूचना जारी नभएसम्म १ कात्तिकमा स्थगन गरिएको बैठक कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बस्ने भएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
कोशी प्रदेशमा बिनाविभागीय मन्त्री बनेका रामबहादुर रानामगरले शनिबार बिहान पदबाट राजीनामा दिएपछि एमाले भने विधिवत् रुपमा सरकारबाट बाहिरिएको छ।
गठबन्धनबाट विद्रोह गरेका कांग्रेस नेता शेखर कोइराला पक्षधर ८ सांसद र एमालेका ३९ सहित ४७ जना प्रदेशसभा सांसदको समर्थनमा गत २७ असोजमा केदार कार्की मुख्यमन्त्री बनेका थिए। कार्कीले १ कात्तिकमा प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। उनलाई राप्रपाबाहेकका दलका संसादले विश्वासको मत दिएका थिए।