काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की चाडै नै कोसी प्रदेशमा सहमतिको सरकार विस्तार गर्ने बताएका छन्। मुख्यमन्त्री कार्कीले आफूलाई सरकार बनाउन सहयोग गरेकाहरुको एजेण्डाअनुसार नै प्रदेश सरकार विस्तार गरिने समेत बताए।
आफू सहमतिको सरकार बनाउन लागिपरेको कारण प्रदेश सरकार विस्तारमा ढिलाइ भइरहेको जानकारी दिए। मुख्यमन्त्री कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन जसले समर्थन गरेको हो, उसको गुण नबिर्सिने जिकिर गरे। उनले पहिलेको सरकारले पटकपटक सहमतीय सरकारको प्रयास गरेको र त्यसलाई आफूले सफल बनाउने धारणा राखे।
यता मुख्यमन्त्री कार्कीलाई समर्थन गरेर सरकारमा गएको नेकपा (एमाले)ले भने सरकार गठनमा मुख्यमन्त्रीले ढिलाइ गरेको आरोप लगाएको छ।
एमालेका नेता एवं कोसी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लव अधिकारीले एमालेलाई बाहिर राखेर निर्णय गर्ने कुरा मान्य नहुने बताए। उनले समर्थन गरेको दलको सल्लाहअनुसार सरकार गठन गर्नुपर्ने बताए।
मुख्यमन्त्री कार्की नेपाली कांग्रेसका सातजना विद्रोही प्रदेश सांसद र एमालेका ३९ जना सांसदहरुको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोसी प्रदेशको मुख्यमन्त्री बनेका थिए। कार्की मुख्यमन्त्री भएको १९ दिनसम्म मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन।