सोमबार, वैशाख २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रियसभामा विपीन जोशीको रिहाइको पहलदेखि संयुक्त राष्ट्रसंघका महासचिवको चर्चा

राष्ट्रियसभामा विपीन जोशीको रिहाइको पहलदेखि संयुक्त राष्ट्रसंघका महासचिवको चर्चा

 |  बिहीबार, कात्तिक १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १६, २०८०

vianetvianet

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले इजरायलमा हमास समूहको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइको पहलदेखि संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणको उपलब्धिबारे चर्चा गरेका छन्। 

triton college

बैठकमा दलीय आधारमा बोल्दै सांसदहरुले सङ्घीयतालाई बलियो बनाउन थाती रहेको कानून चाँडो निर्माण गर्न तथा राष्ट्रियसभाको काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गरेका हुन्।

नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले विपीन जोशी हामासको नियन्त्रणमा रहेको पुष्टि भएको भन्दै जोशीको रिहाइका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। साथै उनले संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसको नेपाल भ्रमण उपलब्धिमूलक भएको र शान्ति प्रक्रिया र जलवायु परिवर्तनका विषयमा उठाएको विषय अन्तर्राष्ट्रियस्तरमा नेपालले चर्चा पाएको बताए।
    
नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले इजरायलमा हमासद्वारा मारिएका १० नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बन्धक बनाइएको भनिएका विपीन जोशीको खोजी र उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए।

उनले मुगुको छायाँनाथ गाउँपालिकामा हालै अज्ञात व्यक्तिबाट भएको सामूहिक हत्याका घटनाको दोषी पत्ता लगाएर कानुनी दायरामा ल्याउन माग गर्नुभयो । सांसद दाहालले राष्ट्रियसभाको काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाइनुपर्ने खाँचो औँल्याए।

नेपाली कांग्रेसका सांसद रमेशजङ्ग रायमाझीले इजरायलमा हमासको नजरबन्दमा रहेका भनिएका विपीन जोशीको शीघ्र रिहाइका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए। उनले सङ्घीयतालाई बलियो बनाउन बाँकी रहेका कानुन चाँडो बन्नुपर्नेमा जोड दिए। सभालाई प्रभावकारी बनाउन नसकिएको र महत्वपूर्ण विधेयक आउन नसकेको उनको भनाइ थियो ।
    
नेकपा (एकीकृत समाजवादी) का सांसद जयन्तीदेवी राईले सभाबाट महत्वपूर्ण विधेयक पारित भएको भन्दै आगामी दिनमा पनि सभाको भूमिकालाई थप प्रभावकारी बनाइनुपर्ने बताए। उनले मुलुकभित्र अहिले पनि विभिन्न किसिमका समस्या व्याप्त रहेको, भ्रष्टाचार, महँगी र कालोबजारी बढिरहेको भन्दै यसको नियन्त्रण र प्रभावकारी अनुगमन गर्न ध्यानाकर्षण गराए।

National life insurance

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद मृगेन्द्र कुमारसिंह यादवले इजरायलमा हमासको नियन्त्रणमा रहेका विपीन जोशीलाई कूटनीतिक पहलको प्रयास गरी सकुशल नेपाल ल्याउने पहलकदमी गर्न सरकारको ध्यानाकर्षण गराए। उनले नजिकिएको तिहारमा चिनीलगायतका खाद्यपदार्थको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सङ्घीयतालाई बलियो बनाउने महत्वपूर्ण विधेयकहरु ल्याउन माग पनि गरे।
    
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद शेखरकुमार सिंहले विपीन जोशीको उद्धारका लागि पहल गर्न सरकारसमक्ष माग गरे। उनले विगतमा गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल नामकरण भएको अहिले सप्तरी जिल्ला अस्पतालका रुपमा सञ्चालन रहेको भन्दै त्यसलाई  पुरानै नाममा अञ्चलस्तरीय अस्पताल कायम गर्न माग गरे। 

त्यस्तै, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रभावकारीरुपमा सञ्चालन गर्न, चन्द्रनहरको पुनःनिर्माणका लागि पहल गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराए। राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले विपीन जोशीको शीघ्र रिहाइका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए। 

प्रकाशित: Nov 02, 2023| 19:00 बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्