बुधबार, असार ४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • संसद्‍मा सानालाई ठूला दलको त्रास, प्रधानमन्त्री भन्छन् - चाँडै मुख्य दल एकसाथ उभिएर अपिल गर्छौं

संसद्‍मा सानालाई ठूला दलको त्रास, प्रधानमन्त्री भन्छन् - चाँडै मुख्य दल एकसाथ उभिएर अपिल गर्छौं

 |  बिहीबार, कात्तिक १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १६, २०८०

vianetvianet

काठमाडौं- प्रतिनिधि सभाको यस वर्षको बर्षे अधिवेशन अन्त्य हुने अन्तिम दिन बसेको बैठकमा साना राजनीतिक दलका नेताहरुलाई ठूला दलको त्रास रहेको देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् ठूला भनिएका तीन दल आफूबाहेकका लागि अनुदार रहेको र उनीहरुको सिण्डिकेट रहेको आरोप लगाए।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ठूला भनेका दलको सिण्डिकेट संसद्‍मा लादिने काम भएको र संसद्‍मा दर्ता भएका संकल्प प्रस्तावहरु छलफल नचलाउँदा असान्दर्भिक हुन पुगेको बताए। उनले नागरिक र सरोकारवालको सुझाव नलिइ बनाउने प्रवृत्तिका कारण कानूनहरु राम्रो बन्न नसकेकोसमेत दाबी गरे। 

‘ठूला भनेका दलको सिण्डिकेट लादिने यो संसद्‍मा संकल्प प्रस्ताव कार्यसूचीमै चढ्न सकेन। बेलैमा छलफल नचलाउँदा ती प्रस्ताव अहिले असान्दर्भिक भएका छन्। तर समस्याको दीर्घकालीन समाधानको लागि प्रस्ताव ढिलो चाँडो छलफल चलाउनै पर्छ,' सभापति लामिछानेले भने।

संसद्ले सत्ता पक्षको बहुमतको बलमा कानुन बनाउँदा जनताको राय लिने स्वभाविक प्रक्रियालाई निरुत्साहित गरिएको उनको आरो छ। 'कानुन बनाउँदा राय लिउँ भन्दा बहुमतको बलमा पेलिँदो रहेछ। यो संसद् ठूला भनिएका तीन दलहरू बाहेकका लागि अनुदार छ।’

त्यसैगरी जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले देश 'टाइटानिक' जहाज जस्तै डुबिरहेको उल्लेख गर्दै शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको बताए। अध्यक्ष राउतले प्रतिशोध साँध्‍नका लागि सरकारबाट पक्राउ गर्ने कुरा राम्रो नभएको समेत बताए। उनले देशमा जनताका लागि लोकतन्त्र नभएको समेत दाबी गरे।

'आम जनताको लागि लोकतन्त्र कहाँ छ?' भनेर उनले प्रश्‍न गर्दै कुन विधेयक पारित गर्ने वा नगर्ने भनेर अँध्यारो कोठामा तीन नेताले तय गर्ने गरेको र त्यसलाई नै सार्वभौम सत्ता भनिएको तर्क गरे। 

'अँध्यारो कोठामा तीन जना नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता सम्पन्न भन्न सकिन्न,' उनले भने, 'यस्तै संसद चल्ने हो भने व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार छन् । ३४ वर्षदेखि कहाँ पुगिसक्यो देश ? त्यो हेरेका छैनौं।'

उनले ठूला दलहरूले नयाँ दललाई अपहेलना गरिरहेको आरोप समेत लगाए। 'चियापान समारोहमा बोलाउँछौं र त्यहाँ नयाँलाई त हामी भष्म पार्दिन्छौं भन्छौं। कस्तो खालको आक्रोश हो? आफू भित्र समीक्षा गर्न सक्नुहुन्न,' उनले भने, 'जनताको आवाज उठेपछि त्यो सुन्नुपर्छ। जनताको कुरा उठेपछि बत्ती बल्छ, लामो भाषण गर्दा केही हुँदैन थियो।' 

यसरी साना दलहरुले ठूला दलले अपहेलना गरेको गुनासो गरिरहेको समयमा नै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख राजनीतिक दलहरू एकै स्थानमा उभिएर वर्तमान राजनीतिक र आर्थिक संकट समाधानका लागि भएको समझदारी सार्वजनिक गर्ने घोषणासमेत गरेका छन्। 

बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालले स्तरोन्नति गरेर थप गर्न लागेको २ सय शय्या सञ्चालनका लागि निर्माण हुने भवनको शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक र आर्थिक संकट समाधाना सरकार पनि गम्भीर भएको दाबी गरेका हुन्। 

‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न विस्तृत शान्ति सम्झौताका पक्षधर मुख्यदलहरू एकै स्थानमा उभिएर १/२ दिनभित्रै हामीले सार्वजनिक गर्ने तयारीमा छौं,’ उनले भने, ‘अहिले राजनीतिक संकट र आर्थिक संकट समाधान गर्ने विषयमा पनि सरकार गम्भीर छ।’ उनले प्रधानमन्त्रीकै उपस्थितिमा समीक्षात्मक समीक्षासहित विशेष कार्ययोजना पनि सार्वजनिक गर्न लागेको बताए।

यद्पि प्रधानमन्त्री प्रचण्डले सार्वजनिक गर्ने भनिएको समझारी के हो भन्‍ने स्पष्ट हुन सकेको छैन। यसअघि संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसको भ्रमण अघि र पछि मुख्य राजनीतिक तीन दलका नेताहरुबीच पटक-पटक भेटवार्ताहरु भएका छन्। उक्त भेटवार्ताका क्रममा शान्ति प्रक्रिया चाँडो टुंग्याउन मुख्य दलहरु सहमत भएको विषयहरु सार्वजनिक भएका थिए। 

यसअघि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय सहमतिको सरकारको विषयमा पनि छलफल भएको बताएका थिए। अहिलेको सरकारले प्रभावकारीरुपमा काम गर्न नसकेको भन्दै सत्ता साझेदार दल नेपाली कांग्रेसकै नेताहरुले बताउन थालेपछि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय सरकारको विषयमा छलफल भएको विषय बाहिर ल्याएका हुन्। 

प्रकाशित: Nov 02, 2023| 18:10 बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्