मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले मुख्यालयमा प्रधानमन्त्रीले भने - संक्रमणकालीन न्यायका विषयमा प्रमुख दलबीच समझदारी छ 

एमाले मुख्यालयमा प्रधानमन्त्रीले भने - संक्रमणकालीन न्यायका विषयमा प्रमुख दलबीच समझदारी छ 

 |  बुधबार, कात्तिक १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १५, २०८०

vianetvianet

काठमाडौं- नेकपा एमालेले पार्टी मुख्यालय च्यासल पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलहरुबीच समझदारी बनेको बताएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै प्रमुख दलहरु संक्रमणकालीन न्यायलाई चाँडो टुंगोमा पुर्‍याउन सहमत भएको बताएका हुन्। 

उनले भने, 'कांग्रेस सभापति, एमाले अध्यक्ष र म बसेका थियौं, एउटा अन्डरस्ट्यान्डिङ बनेको छ, यो विषय छिट्टै टुंगिन्छ,' प्रधानमन्त्री दाहालले भने। प्रधानमन्त्री दाहालले पीडितलाई केन्द्रमा राखेर नै कानुन निर्माण हुने बताए।

'हामीले पीडितकेन्द्रित भएर कानुन बन्ने भनेर पटक-पटक भन्दै आएका छौं। विधेयकमा पनि त्यही छ,' उनले भने, 'मैले जहिल्यै पनि दलहरुलाई एकै स्थानमा ल्याउन पहल गरेको छु। आज बिहानको मिटिङ पनि त्यही पहल हो। त्यो सकारात्मक भएको छ। अस्ती कांग्रेसको शुभकामना र आज भएको कार्यक्रमले पार्टीहरुबीचमा सहमझदारी बनाउन राम्रो वातावरण बनेको छ।'

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटका क्रममा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डकै कारण संक्रमणकालीन न्याय प्रक्रिया टुंगिन नसकेको बताएका थिए। उनले प्रधानमन्त्री प्रचण्डले नै 'हिंसा दिवस' लाई उत्सवको रुपमा मनाएर पीडितलाई थप पीडा पुर्‍याउने काम गरेको उल्लेख गरेका थिए। 

राष्ट्रसंघका महासचिव गुटेरेसले पनि मंगलबार संघीय संसद्‌को संयुक्त सदनलाई सम्बोधन गर्दै पीडितलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय मापदण्ड, मानवअधिकार र सर्वोच्च अदालतको आदेशलाई पालना गर्दै संक्रमणकालीन न्याय प्रक्रिया टुंगो लगाउन सुझाएका थिए। 

सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिहरु छानबिनसम्बन्धी विधेयकले संसद्मा‌ विचाराधीन रहेको छ। उक्त विधेयक पीडितकेन्द्रित नभएको भन्दै द्वन्द्वकालका पीडितहरुले नै आलोचना गर्दै आएका छन् ।

प्रकाशित: Nov 01, 2023| 17:29 बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्