मंगलबार, असार ३, २०८२

बालुवाटारमा प्रचण्डसँग ओली र देउवाको भेट

 |  बुधबार, कात्तिक १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १५, २०८०

vianetvianet

संक्रमणकालीन न्यायको विषयमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताले छलफल गरेका छन्। बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दलका नेता एव‌ं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो।

संक्रमणकालीन न्यायसम्बन्धी कानुनको विषयमा अधिकांश रूपमा सहमति जुटिसकेकोले केही नमिलेको विषय राजनीतिक रूपमा टुंग्याउनुपर्ने भएपछि शीर्ष नेतृत्व छलफलमा जुटेका हुन्। बालुवाटारमा ओली पुगेलगत्तै छलफलका लागि सभापति देउवा पनि पुगेका थिए। उनीहरुबीच झण्डै २ घण्टा छलफल भएको बताइएको छ।

संक्रमणकालीन न्यायसम्बन्धी कानुन संसद्को शान्ति तथा मानव अधिकारमा समितिमा विचाराधीन छ। समितिले उपसमिति बनाएर अधिकांश विषयमा सहमति गरेको छ। उपसमितिले सहमतिमा नै प्रतिवेदन तयार गरेको छ। राजनीतिक तहमा टुंग्याउनुपर्ने केही विषय भने टुंगिन बाँकी छन्।

नेपाल भ्रमणमा रहेका बेला राष्ट्रसंघका महासचिव गुटेरेसले पनि शान्ति प्रक्रिया टुंगो लगाउन सरकार र राजनीतिक दललाई कूटनीतिक दबाब दिएका थिए। गत आइतबार महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका कारण शान्ति प्रक्रिया टुंगोमा पुग्न नसकेको बताएका थिए। गुटेरेससँगको भेटमा अध्यक्ष ओलीले गम्भीर अपराधमा आममाफी नहुने र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू र सर्वोच्च अदालतको फैसलालाई ध्यानमा राखेर शान्ति प्रक्रिया छिटोभन्दा छिटो टुंगियोस् भन्ने एमालेको चाहना रहेको बताएका थिए।

मंगलबार प्रधानमन्त्री प्रचण्डले विश्व समुदायको ध्यान आकर्षित गर्नुपर्नेमा केही नेताहरूले संयुक्त राष्ट्रसंघका महासचिवलाई गलत ब्रिफिङ गरेको भन्दै ओलीप्रति आपत्ति जनाएका थिए। उनले महासचिव गुटेरेसले शान्ति प्रक्रियाबारे राम्रा धारणा व्यक्त गर्दै गर्दा ओलीले भने हामी विभाजित रहेको सन्देश दिएको आरोप लगाए।

आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा गुटेरेसले भनेका थिए, ‘संक्रमणकालीन न्यायले पीडित, परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्नुपर्छ। संयुक्त राष्ट्रसंघ नेपाललाई अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गर्ने प्रक्रियाको विकास गर्न र त्यसलाई व्यवहारमा उतार्न सहयोग गर्न तयार छ।’

 

प्रकाशित: Nov 01, 2023| 12:09 बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्