वाशिङ्टन डिसी- अमेरिकाको औपचारिक भ्रमणमा आउनुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी सहयोग नियोग (यूएसएआईडी)का प्रमुख प्रशासक सामन्था पावरबीच भेटवार्ता भएको छ।
उक्त भेटका अवसरमा नेपालको विकासका प्राथमिकताहरूमा यूएसएआईडीका चालु कार्यक्रमहरू र त्यसको प्रभावकारिताका विषयमा छलफल भएको थियो।
प्रशासक पावरले अमेरिकी सरकारका तर्फबाट नेपालको प्रजातान्त्रिक प्रक्रियाको प्रगति एवं मजबुत सम्बन्ध निर्माणका क्षेत्रमा प्रतिबद्धता जाहेर गरेका छन्।
प्रशासक पावरले नेपालको समावेशी आर्थिक विकासको अभिवृद्धिका लागि नियोगको प्रतिबद्धता व्यक्त गर्दै नेपाल सरकार तथा निजी क्षेत्रमार्फत लगानीका सम्भावनाका बारेमा नियोगको कार्यबारेसमेत छलफल गरेका थिए।
यूएसएआईडीको मुख्यालय वाशिङ्टन डिसीमा भएको सो भेटमा मन्त्री साउदले नेपालको आर्थिक, सामाजिक विकासमा विगत छ दशकभन्दा लामो समयदेखि यूएसएआईडीले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे।
उनीहरुले दुई देशका बीचमा विगत ७५ वर्षभन्दा लामो समयदेखि नेपाल अमेरिकाबीचको निकट साझेदारी र सम्बन्धका विषयमा चर्चा गरेका थिए।
सन् २०२२ को मे ५ मा पाँच वर्षका लागि नेपाल सरकार र यूएसएआईडीले गरेका विकाससम्बन्धी सम्झौताअनुसार ६५ करोड ९० लाख अमेरिकी डलर बराबरको सम्झौता भएको थियो।
उक्त रकम नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भएर मध्यमस्तरको विकासशील देशका रूपमा प्रवेश भएपछिको अवस्थालगायतका विषयमा खर्च गरिने उल्लेख गरिएको छ।
हिजो भएको भेटमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनलगायत दूतावासका अधिकारीसमेत सहभागी थिए।
नेपालका विभिन्न विकास आयोजना तथा कार्यक्रममा अमेरिकी सहयोग नियोगको महत्त्वपूर्ण योगदान रहँदै आएको छ।
सन् १९५१ मा भएको प्वाइन्ट फोर प्रोग्राम’ अन्तर्गतको सम्झौताअनुसार अमेरिका नेपालको पहिलो द्विपक्षीय दाताका रूपमा विगत सात दशकभन्दा लामो समयदेखि महत्त्वपूर्ण विकास साझेदार बन्दै आएको छ।