मंगलबार, असोज ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • पुँजीगत खर्चको तुलनामा ऋणको साँवाब्याज भुक्तानी तीन गुणा

पुँजीगत खर्चको तुलनामा ऋणको साँवाब्याज भुक्तानी तीन गुणा

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

काठमाडौं- चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा सरकारले गरेको पुँजीगत खर्चको तुलनामा सोही अवधिमा भएको सार्वजनिक ऋणको साँवाब्याज भुक्तानी दायित्व करिब तीनगुणा बढी देखिएको छ। सरकारी ऋण बर्सेनि बढ्दै गएसँगै त्यसको साँवा र ब्याज भुक्तानीका लागि हुने खर्च पनि बढ्दै गएको हो।

Kumaribank

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार कात्तिक १२ गतेसम्ममा सरकारले २५ अर्ब ७८ करोड ९० लाख रूपैयाँ बराबर पुँजीगत खर्च गरेको छ। त्यस्तै गत असोज मसान्तसम्ममा सरकारी ऋणको साँवाब्याज तिर्न ६७ अर्ब ७० करोड ७१ लाख रूपैयाँ खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकबाट देखिन्छ। यो अवधिमा भएको कुल पुँजीगत खर्चको तुलनामा सरकारी ऋणको साँवाब्याज तिर्न भएको खर्च करिब तीन गुणाले बढी हो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको असोज मसान्तसम्मको सरकारी ऋणको विवरणअनुसार यो अवधिसम्ममा आन्तरिक ऋणको साँवा ४२ अर्ब ८४ करोड १७ लाख रूपैयाँ र ब्याज १३ अर्ब ७१ करोड ५० लाख रूपैयाँ गरी कुल ५६ अर्ब ५५ लाख ६७ लाख रूपैयाँ बराबर भुक्तानी भएको छ।

त्यस्तै, बाह्य ऋणको आठ अर्ब ७० करोड ३६ लाख साँवा र दुई अर्ब ४४ करोड ६८ लाख ब्याज गरी कुल ११ अर्ब १५ करोड चार लाख रूपैयाँ बराबर भुक्तानी भएको छ। त्यस्तै चालु आर्थिक वर्षको तीन महिना अवधिमा नेपालले ९७ अर्ब ३१ करोड रूपैयाँ बराबर आन्तरिक र नौ अर्ब ४७ करोड ८० लाख बाह्य गरी कुल एक खर्ब छ अर्ब ७८ करोड ८० लाख रूपैयाँ बराबर ऋण लिएको छ। योसँगै नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब ५४ अर्ब ५९ करोड ५१ लाख पुगेको कार्यालयले जनाएको छ।

गत असोज मसान्तसम्ममा नेपालले ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख रूपैयाँ आन्तरिक र ११ खर्ब ७१ अर्ब दुई करोड ३१ लाख रूपैयाँ बाह्य ऋण तिर्न बाँकी देखिएको हो।

Metro Mart

अर्कोतर्फ सरकारको घाटा बजेटको आँकडा पनि बढ्दै गएको छ। हालसम्म कुल तीन खर्ब तीन अर्ब ६५ करोड ३७ लाख बराबर बजेट खर्च हुँदा राजस्व संकलन भने दुई खर्ब ४८ अर्ब २८ करोड ५० लाख रूपैयाँ बराबर देखिएको छ। अर्थात् हालसम्म सरकारको आम्दानीको तुलनामा खर्च ५५ अर्ब ६७ करोड रूपैयाँ बढी छ।

प्रकाशित: Oct 30, 2023| 20:21 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्