सोमबार, असार २, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • महासचिव गुटेरेसलाई राष्ट्रपति पौडेलको आग्रह- नेपालले भोगेको जलवायु परिवर्तनको असरबारे गम्भीर बनिदिनुस

महासचिव गुटेरेसलाई राष्ट्रपति पौडेलको आग्रह- नेपालले भोगेको जलवायु परिवर्तनको असरबारे गम्भीर बनिदिनुस

 |  आइतबार, कात्तिक १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १२, २०८०

vianetvianet

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि नेपालले भोग्नुपरेको नकारात्मक परिणामबारे गम्भ‍ीर भईदिन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन्।  राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि जलवायु परिवर्तनका कारक बनेका विकसित मुलुकहरुलाई दायित्व पूरा गर्न राष्ट्रसंघलाई पहलकदमी लिन पनि आग्रह गरेका हुन्। 

नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति पौडेलसँग आइतबार शीतल निवासमा गरेको शिष्टाचार भेटमा उनले सो आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। 

‘जलवायु परिवर्तनको कारण हामी होइनौं, अरुले अधिक कार्बन उत्सर्जन गरेका कारण हामी मारमा परेका छौं, यस्तो अवस्थामा राष्ट्रसंघले वातावरण बिगार्नेहरुलाई दायित्व पूरा गर्न झकझक्याउनुपर्दछ’, राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै प्रेस सल्लाहकार पोखरेलले भने, 'हामीले त व्यहोर्यौ व्यहोरयौ अब सारा विश्व र मानजजातिले नै व्यहोर्नुपर्ने हुन्छ, त्यसैले हामी सबैले संयुक्त प्रयास गरौं। त्यसमा नेतृत्व राष्ट्रसंघले लिनुपर्छ।'

उनले सगरमाथा अन्‍नपूर्ण आधार शिविरजस्ता ठाउँहरुको भ्रमण स्वयं महासचिवले गर्ने भएकाले सेतो हिमाल कसरी कालो हुँदैछ, अतिवृष्टि र अनावृष्टि के कस्तो प्रभाव पर्‍यो भन्ने कुरा महसुस गर्न पाउने विश्वास पनि व्यक्ति गरे।

भेटका क्रममा महासचिव गुटेरेसले कार्बन उत्सर्जनमा नेपालको कुनै कमजोरी नहुँदा-नहुँदै पनि नेपालले सबैभन्दा बढी यसको असर भोग्नु परिरहेको उल्लेख गर्दै ‘कोप’का सन्दर्भलाई लिएर जलवायु परिवर्तनबारे  विश्वलाई सन्देश दिन आफ्नो नेपाल भ्रमण प्राथमिकतामा परेको बताएका थिए। आफ्नो नेपाल भ्रमण तीन एजेण्डामा केन्द्रित रहेको बताउँदै सफल शान्ति प्रक्रिया, जलवायु परिवर्तनको असर र विश्व अस्थिरताको कारक बनेको असमानताको न्यूनिकरणका लागि विश्वलाई सन्देश दिन नेपाल उपयुक्त ठाउँ भएकोले यहाँ आएको बताएका थिए। 
 
राष्ट्रपति पौडेलले शान्ति सम्झौताअनुसार नै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने काममा नेपाल अघि बढेको उल्लेख गर्दै पीडितलाई राहत, दण्डहीनतालाई प्रश्रय नहुने गरी अदालतको आदेश र संयुक्त राष्ट्रसंघको चासो यी सबैलाई ध्यान दिएर मेलमिलापको सिद्धान्तको आधारमा बाँकी काम पूरा हुने बताएका छन्। 

उनले अहिलेको जटिल विश्व राजनीतिक अवस्थामा राष्ट्रसंघको भूमिका अझ बढेको बताउँदै नेपाल राष्ट्रसंघीय शान्ति मिसनको दोस्रो ठूलो योगदानकर्ता मुलुक भएको स्मरण गराएका थिए। पौडेलले शान्ति सेनामा खटिएका नेपाली सेनाको नेतृत्व तहको जिम्मेवारीका लागि आग्रह गरेका थिए। 

उनले राष्ट्रपति पौडेलले शान्ति सम्झौताको मस्यौदा गरेको स्मरण गराउँदै उनकै कार्यकालमा यसको बाँकी काम पूरा हुने विश्वास व्यक्त गरे।  सो भेटमा परराष्ट्रमन्त्री एनपी साउद, राष्ट्रपति कार्यालयका सल्लाहकारहरु, पदाधिकारीहरु तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो।
 

प्रकाशित: Oct 29, 2023| 17:55 आइतबार, कात्तिक १२, २०८०
प्रतिक्रिया दिनुहोस्