आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले विगतमा झैं यो वर्ष पनि कोजाग्रत पूर्णिमाका अवसरमा आज नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व सभामुखहरू अग्निप्रसाद सापकोटा र दमननाथ ढु्ङ्गाना, जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित उच्चपदस्थ राजनीतिकर्मीसहित विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
चियापानमा प्रधानमन्त्री दाहालले चाडपर्वका अवसरमा आयोजित यस्ता कार्यक्रमले आपसी एकता अभिवृद्धि, राष्ट्रिय राजनीतिलाई स्थिरता, सहमति र सहकार्यको दिशातिर लैजाने बताए। उनले यस्ता कार्यक्रमले आउने दिनमा जनताको विकास र समृद्धिको अपेक्षा पूरा गर्ने विश्वाससमेत व्यक्त गरे।
“यो चियापान संस्कृति विपी कोइराला जीवितै हुँदा सुरु गरिएको संस्कृति हो। यसले आपसी एकता र सद्भाव वृद्धि गरेको छ, यो बीचमा मेरो दौडधुप पनि परिवर्तनका लागि सङ्घर्षमा होमिएका सबै राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउनमा केन्द्रित छ”, प्रधानमन्त्री दाहालले भने।
त्यस्तै पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले प्रमुख राजनीतिक दलमाथि प्रश्न उठाउने प्रयास गरिएको बताए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले जवाफ दिने समय नभएको भन्दै उचित समयमा जवाफ दिने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चियापान कार्यक्रम आयोजना गरेर नेपाली कांग्रेसले उच्च राजनीतिक संस्कार बसालेको बताए। चियापानमा उपस्थित विशिष्ठ व्यक्तित्वहरू तथा सर्वसाधारणलाई पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र केन्द्रीय सदस्यले स्वागत अभिवादन गरेका थिए। दिउँसो १ बजेदेखि सुरु भएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम अपराह्न ५ बजेसम्म सञ्चालन भएको थियो। कांग्रेसले बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन गर्दै आइरहेको चियापान कोरोना महामारीका कारण विगतका केही वर्षहरूमा आयोजना हुनसकेको थिएन।
विपी कोइराला विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो।