काठमाडौं– सत्तारुढ कांग्रेसले सानेपा मुख्यालयमा आयोजना गरेको पर्व लक्षित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा एमालेका शीर्ष नेताहरु सहभागी भएका छन्।
चियापान कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरु प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा, विष्णु रिमाललगायतका नेता सहभागी भए।
कांग्रेसको चिया निम्तोमा मुलुकमा भइरहेका विभिन्न घटनाक्रमलाई लिएर राजनीतिक दलप्रति प्रश्न उठिरहेकोबारे सोधिएको प्रश्नमा एमाले अध्यक्ष ओलीले भने, ‘हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोसिस गरिएको छ, यस विषयको जवाफ यथासमय यथोचित ढंगले दिइनेछ।’
कांग्रेसले बडादसैं, तिहार, नेपाल संवत् र छठलगायत पर्व अवसरमा आज कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गरेको हो।
कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रीगण, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ।
१६ पुस २०३३ मा बीपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले २०३४ देखि चियापान सुरु गरेको हो।