काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १० वर्षसम्म हिंसात्मक रुपमा चलाइएको कथित जनयुद्ध सञ्चालनको आधार इलाका रुकुम पश्चिम पुगेका छन्। रुकुम पश्चिममा आयोजना गरिने सहिद मेलालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड हेलिकोप्टरमार्फत रुकुम पुगेका हुन्।
रुकुम पुगेका प्रचण्ड जनतासँग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत माओवादी केन्द्र रुकुम पश्चिम बाफिँकोट गाउँपालिका– ६ र ७ को विस्तारित बैठकमा सहभागी भएको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्ड सहिद परिवार, घाइते परिवार र अगुवा कार्यकर्तासँग भेट्ने र आजै काठमाडौं फर्कने कार्यतालिका छ। प्रधानमन्त्री प्रचण्डसँगै माओवादी उपमहासचिव जनार्दन शर्मा र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा रुकुम पश्चिम पुगेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डको नेतृत्वमा २०५२–६३ सम्म भएको कथित जनयुद्धमा १७ हजार नेपालीले ज्यान गुमाएको सरकारी विवरण छ।