काठमाडौं–उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनबाट स्वदेश फर्किएका छन्। गृहमन्त्री श्रेष्ठ बेइजिङबाट छेन्दु हुँदै आज बिहान काठमाडौं आइपुगेका हुन्।
मन्त्री श्रेष्ठ ३ कात्तिकमै स्वदेश फर्किने तालिका रहे पनि बिरामी भएपछि आज मात्रै आइपुगेका हुन्। चीन भ्रमणका क्रममा बेइजिङ रहँदा हृदयाघात भएपछि गृहमन्त्री श्रेष्ठ पूर्वनिर्धारित कार्यक्रमभन्दा केही दिन ढिला गरी स्वदेश फर्किएका हुन्।
बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएका बेला उनलाई हृदयाघात भएको थियो। हृदयाघातपछि अस्पताल भर्ना भएका श्रेष्ठ ६ कात्तिकमा डिस्चार्ज भएका थिए।
बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा अस्पतालमा पाँचदिने उपचारपछि स्वास्थ्यलाभ गरी श्रेष्ठ स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ। १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)को समापनलगत्तै हृदयाघात भएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो।
मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बने पनि चिकित्सकले अझै केही दिन विश्राम लिन सुझाएको उनको सचिवालयले बताएको छ। बीआरआई सम्मेलनमा सहभागी हुन गृहमन्त्री श्रेष्ठ गत २९ असोजमा सात सदस्यीय टोलीको नेतृत्व गर्दै चीन उडेका थिए।