मंगलबार, जेठ १, २०८१

भारतबाट थप बिजुली बिक्री अनुमतिमा ढिलाइ

दसैंमा दैनिक करिब ५ सय मेगावाट विद्युत् खेर जाँदै

उत्पादित विद्युत् देशभित्र खपत गर्न नसक्दा र थप निर्यातका लागि भारतबाट स्वीकृति पाउन नसक्दा अहिले दैनिक रुपमा ५ सय मेगावाट हाराहारी विद्युत् खेर फाल्नुपर्ने बाध्यात्मक अवस्थामा प्राधिकरण।
 |  बुधबार, कात्तिक ८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ८, २०८०

काठमाडौं–भारतले थप विद्युत् आयात अनुमति नदिँदा दसैंमा देशभित्रको आन्तरिक खपत घट्दा जलविद्युत् आयोजनाबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ। दसैंमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखाना बन्द हुँदा र काठमाडौंमा चिसो सुरु भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युत् माग घटेको छ। 

triton college

तर, बर्खा सकिएको र नदी तथा खोलानालामा सफा पानीको बहाव हुनेहुँदा यो समय नेपाल विद्युत् प्राधिकरण, यसका सहायक कम्पनी र निजी क्षेत्रका स्वामित्वका जलविद्युत आयोजनाबाट बिनाअवरोध विद्युत् उत्पादन हुने गरेको छ।

प्राधिकरण, यसका सहायक कम्पनी र निजी क्षेत्र क्षेत्रका जलविद्युत् आयोजनाबाट हाल दैनिक रुपमा करिब २ हजार २ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ।त्यसमध्ये करिब १ हजार मेगावाट देशभित्र खपत भइरहेको भने करिब साढे ६ सय देखि ७ सय मेगावाटसम्म विद्युत् भारततर्फ निर्यात भइरहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत् देशभित्र खपत गर्न नसक्दा र थप निर्यातका लागि भारतबाट स्वीकृति पाउन नसक्दा अहिले दैनिक रुपमा ५ सय मेगावाट हाराहारी विद्युत् खेर फाल्नुपर्ने वाध्यात्मक अवस्था उत्पन्न भएको बताए।

corrent noodles
Metro Mart

कुलमान घिसिङ, कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण

‘दसैंका कारण आन्तरिक रुपमा माग घटेको छ, यही अवस्थालाई ध्यान दिएर यहाँ खपत गरी बचत भएको थप करिब ३ सय मेगावाट विद्युत्का निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएका थियौं, तर अहिलेसम्म स्वीकृति पाउन नसक्दा फूलपातीको अघिल्लो दिनबाट दैनिक रुपमा करिब ५ सय मेगावाट स्वच्छ हरित विद्युत् खेर गइरहेको छ। यसबाट दैनिक रुपमा करौंडौं रुपैयाँ गुमाइरहेका छौं’, कार्यकारी निर्देशक घिसिङले भने।

प्रक्रियामा रहेकाले छिट्टै थप विद्युत् निर्यातका लागि स्वीकृति पाउनेमा विश्वस्त रहेको उनको भनाइ छ। स्वीकृति नपाउने हो भने अझै विद्युत् खेर फाल्नुपर्ने अवस्था उनले बताए। प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ।

प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ। एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ।

भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ। नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ।

यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ।

तीन महिनामा साढे ९ अर्ब बढीको बिजुली बिक्री

प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब  ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ। प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो।

प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को  साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ। असोजमा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ।

तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ  । जेठ र असारमा भारतर्फत निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो ।

दसैंमा बिनाअवरोध विद्युत् आपूर्ति

विद्युत् प्राधिकरणले यस वर्षको दसैंमा बिनाअवरोध विद्युत् आपूर्ति गरेको छ। यस वर्ष पनि पहाडी भेगका केही स्थानमा फाट्टफुट्टबाहेक दसैंमा विगत वर्षमा झैं बिनाअवरोध विद्युत् आपूर्ति भएको प्राधिकरणका कार्यकारी निर्देशक  घिसिङले उल्लेख गरे। ‘दसैंमा विद्युत् प्रणाली नियमित (स्मुथ) रुपमा चल्यो, कहीं–कतै अवरोध भई विद्युत् आपूर्ति बन्द भएन’, घिसिङले भने।

प्राधिकरणले दशैंमा विद्युत् अपरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत्गृहका प्रमुख र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो।

प्रकाशित: Oct 25, 2023| 11:57 बुधबार, कात्तिक ८, २०८०
प्रतिक्रिया दिनुहोस्