शुक्रबार, जेठ २२, २०८३

मेलामा बिकेनन् बाँस र निगालोका सामान

 |  सोमबार, कात्तिक ६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ६, २०८०

कास्की- पोखरा महानगरपालिका– १ पुरानो टुँडिखेल क्षेत्रमा शनिबार दिनभर दसैँ मेला लाग्यो। यहाँ अन्य सामग्रीभन्दा बाँस र निगालोबाट बन्ने घरेलु सामग्री धेरै देखिन्थ्यो। ती सामग्री बेच्ने व्यापारीको मन खुसी थिएन्। उहाँहरुमध्ये कसैले बाँस र निगालोको चोयाबाट बनेका घरेलु सामग्री गाउँगाउँ पुगेर खरिद गरेर ल्याउनुभएको थियो भने, कसैले आफैंले बुनेर पोखरा झारेका थिए।

National life

ती व्यापारीले साँझसम्म पनि भनेजस्तो व्यापार नभएको गुनासो गरिरहनुभएको थियो। कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ खोरामुखबाट डोको, नाङ्लो व्यापार गर्न आउनुभएको बुद्धिबहादुर विकले अघिल्ला वर्षमा जस्तो व्यापार नभएको सुनाए। उनले भने, “बाँस र निगालोको चोयाबाट बनेका सामग्रीको व्यापार घट्दै गएको छ। पहिलेपहिले यही मेलामा ल्याउनेबित्तिकै सबै बिकीसक्थ्यो अहिले त कोहीकोहीले मात्र लगेका छन्”, उनले भने, “अहिले सामग्री बिक्री हुनै छाड्यो, कुहिएर खेर जाने भयो। यस्तै भयो भने घरखर्च चलाउन गाह्रोपर्ने भयो।”
    
बुद्धिबहादुर आफैँले बाँस र निगालोको चोयाबाट डोको, डालो, नाङ्लो, भकारी, कोक्रो, पेरुङ्गो, मान्द्रोलगायत सामग्री बुन्छन्। भनेजस्तो व्यापार नहुँदा जाँगर नचल्ने उनले बताए। “यो काम साह्रै गाह्रो छ। म अहिले ६८ वर्ष भए सानैदेखि बाँसका सामग्री बुन्न थालेको हुँ”, उनले भने, “पहिले घरमै आएर किनेर लैजान्थे। अहिले त बेच्न हिँड्दा पनि बिक्न गाह्रो भयो। यही भएर काम गर्न जाँगर पनि चल्दैन्।”

अर्का व्यापारी बलराम चापागाईंले पनि विदेशबाट प्लास्टिकका सामग्री भित्रिन थालेसँगै यस्ता सामग्रीको व्यापार घटेको बताए। उनका अनुसार विदेशी सामान हेर्दा आकर्षक र सस्तो हुने भएकाले बाँस र निगालोका सामग्रीको बिक्री घटेको हो। “मैले दसैँको मेला पोखरामा लाग्ने दसैँ मेलामा यस्तो सामान बेच्न थालेको १६/१७ वर्ष भयो। बर्सेनि यसको व्यापार घट्दै गएको छ”, उनले भने, “अहिले मानिस भकारीमा राख्ने धान बोरामा राख्न थाले। अनि डालोको स्थानमा बाल्टिन प्रयोग गर्न थाले।” 

पोखरा महानगरपालिका–१ बगरकी ओमकुमारी गुरुङले पनि अहिले आफ्नो घरमा प्लास्टिकको सामान बढी प्रयोग गर्ने बताइन्। बाँस र निगालोको सामान बजारमा पाउन मुस्किल भएकाले पनि आफू प्लास्टिकको सामानमा आकर्षित भएको उनले बताइन्। 

“बाँसका सामग्री उचाल्न, बोक्न र यताउता लैजान सजिलो हुन्छ। पहिला मैले धेरै यस्तै सामान बढी प्रयोग गर्थे”, उनले भनिन्, “अहिले पहिला जस्तो चोयाबाट बनेको सामान पाउनै गाह्रो छ। अनि बजारमा प्लास्टिकको सामान प्रयोग गर्नै पर्‍यो।”

Shivam cement

चोयाबाट बनेका सामग्रीलाई व्यवसायीकरण गर्न नसकिएको स्थानीय ओमकुमारीले बताइन्। यस्ता सामग्रीलाई सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले बजार प्रवद्र्धन र सीप हस्तान्तरण गर्न सहयोग गर्नुपर्ने ओमकुमारीको भनाइ छ। “चोयाबाट बन्ने घरेलु सामग्रीको उत्पादन नै घट्दै गएको छ। यो हाम्रो पुर्खौंदेखि चल्दै आएको प्रविधि पनि हो”, उनले भनिन्, “यसलाई जोगाइराख्न सरकारी तथा गैह्रसरकारी सङ्घसंस्थाले बजार प्रवद्र्धन गर्न र सीप हस्तान्तरण गर्न सहयोग गर्नुपर्छ।” 

प्रकाशित: Oct 23, 2023| 22:02 सोमबार, कात्तिक ६, २०८०
प्रतिक्रिया दिनुहोस्