काठमाडौं– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यावस्था सामान्य बन्दै गएको उनको निजी सचिवालयले जनाएको छ। चीन भ्रमणका क्रममा रहेका बेला १ कात्तिकमा हृदयाघात भएपछि मन्त्री नारायणकाजी बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा उपचाररत छन्।
उपप्रधानमन्त्री श्रेष्ठ आज बिहानदेखि अस्पतालभित्रै सामान्य हिँडडुल गर्न थालेको उनका स्वीकय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए। हृदयाघात भएपछि उनको छातीमा ‘स्टेन्ट’ राखिएको छ।
उपप्रधानमन्त्री श्रेष्ठसँग चिनियाँ समकक्षी एवं चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङले अस्पताल पुगेर भेट गरेका छन्। भेटमा उनले नारायणकाजीको शीघ्र स्वास्थ्यलाभको कामना गरे। यसअघि सार्वजनिक सुरक्षामन्त्री वाङले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्योपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय अन्तर्राष्ट्रिय विभागका निर्देशक पेङ सीउ सानले उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गरी पूर्णस्वास्थ्य लाभको कामना गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्नो प्रतिनिधि पठाएर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यलाभको कामना गरेको स्वकीय सचिव श्रेष्ठले जानकारी दिए।
चीन सरकारले उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा उच्च प्राथमिकता दिएको छ। तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल को–अपरेसन (बिएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको थियो।