वीरगञ्ज–दसैं सुरु भएसँगै यतिबेला सीमावर्ती भारतीय रक्सौल बजारमा नेपाली ग्राहकको भीड बढ्न थालेको छ भने वीरगञ्ज बजार भने चहलपहलविहीन छ।
नेपाली बजारभन्दा भारतीय बजारमा पूजापाठ, खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री सस्तो पाइने भएकाले विभिन्न ठाउँबाट स्थानीयले दसैं अवसरमा उपभोग्य सामग्री खरिद गर्न भारतीय बजार रक्सौलतर्फ आकर्षित हुन थालेका हुन्।
ठूलो संख्यामा नेपाली अहिले दिनहँुजसो समान खरिद गर्न सीमावर्ती भारतीय बजार रक्सौल आउन थालेपछि यहाँ भीड बढ्न गएको रक्सौलका व्यापारी बताउँछन्।नेपाली बजारभन्दा भारतीय बजारमा सस्तो दरमा समान पाउने तथा त्यहाँका व्यापारीले नेपाली ग्राहकसँग मृदु व्यवहार गर्ने गरेकाले नेपाली उपभोक्ता दसैंलगायत विभिन्न चाडपर्वमा समान खरिद गर्न सीमापारि भारतीय बजार आउने गरेको रक्सौलमा समान खरिद गरिरहेका नेपाली उपभोक्ता सन्तोषकुमार साहले बताए।
नेपाली बजारभन्दा भारतीय बजारमा प्रत्येक समानको मूल्य १० देखि २० सम्म सस्तो हुने भएकाले खरिद गर्न सीमापारि जाने गरेको उनको भनाइ छ। भारतीय सीमा सुरक्षा बल (एसएसवी)का जवानले दसैं अवसरमा दैनिक उपभोग्य समान खरिद गरी लैजाने नेपालीलाई अहिले सहज गरेकाले अहिले अरु दिनको तुलनमा भीड बढेको छ।
नेपाली ग्राहकले भारतबाट दाल, चिनी, खानेतेल, मसला, चामललगायतका समान खरिद गरी लैजाने गरेको भारतीय व्यापारी रामकुमार अग्रवालको भनाइ छ। टेक्सटाइल चेम्बर अफ कमर्स रक्सौलका अध्यक्ष अरुणकुमार गुप्ताले भारतको रक्सौलमा रहेको कपडा व्यापारीले कपडा खरिद गर्दा नेपाली रुपैयाँको बट्टा नकाट्ने भएकाले महिला कपडा पसलमा बढी भीड लाग्ने गरेकोे बताए।
दसैंजस्तो समय पनि मालसामान खरिद गर्न धेरैजसो ग्राहक सीमावर्ती भारतीय बजार जाने गरेकाले नेपाली बजारमा रौनक हराउँदै गएको छ।–रासस