शनिबार, वैशाख २६, २०८३

कोशीका मुख्यमन्त्री कार्कीलाई बहुमत सांसदको समर्थन

 |  बुधबार, कात्तिक १, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्। आज भएको मतदानमा उनले दुई तिहाइभन्दा बढी सांसदको समर्थन पाएका हुन्।

National life

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले प्रदेश सभाको ९३ मध्ये ८६ मत प्राप्त गरेका छन्। उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत परेको घोषणा गरिन्। राप्रपाका पाँच सांसदले विपक्षमा मत दिए। राप्रपाका एक जना सांसद बैठकमा अनुपस्थित थिए।

मुख्यमन्त्री कार्कीलाई उनकै दल कांग्रेस (२९), एमाले (३९), माओवादी केन्द्र (१३), एकीकृत समाजवादी (४) र जनता समाजवादी (१) ले विश्वासको मत दिएका हुन्।

आफ्नै दल नेपाली कांग्रेस र सत्ता गठबन्धनको संस्थागत निर्णयको विपक्षमा उभिएर विद्रोह गर्दै मुख्यमन्त्री बनेका कार्कीलाई एमालेले समर्थन गरेको थियो। सत्ता गठबन्धनभित्रको असन्तोषमा खेल्न कार्कीलाई मुख्यमन्त्री बन्न सघाएको एमालेलाई त्रस्त पार्ने गरी गठबन्धन दलहरूले पनि विश्वासको मत दिएका छन्।

कांग्रेसका विद्रोही कार्कीलाई सघाएको एमाले सरकारमा गठबन्धनका दलहरूको प्रवेश रोक्न लागेको छ। तर, गठबन्धन दलहरू भने कार्की नेतृत्वको सरकारलाई आफ्नै बनाउने प्रयासमा लागेका छन्।

मुख्यमन्त्री नियुक्त भएलगत्तैदेखि कार्कीले कोशीमा गठबन्धन दलहरूसँग छलफल तीव्र पारेका छन्।

एमालेले गठबन्धनका अरू दललाई सरकारमा सामेल गराए पनि माओवादीलाई नगराउन मुख्यमन्त्री कार्कीलाई दबाब दिँदै आएको छ। यद्यपि मुख्यमन्त्री कार्की भने विश्वासको मत लिएलगत्तै माओवादीसहितका दलहरूलाई सरकारमा सामेल गराउने तयारीमा छन्।

प्रकाशित: Oct 18, 2023| 18:46 बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्