मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पहिलो त्रैमासमा राजस्व संकलन १५ र बजेट खर्च १६ प्रतिशत

पहिलो त्रैमासमा राजस्व संकलन १५ र बजेट खर्च १६ प्रतिशत

 |  बुधबार, कात्तिक १, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १, २०८०

काठमाडौं- चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो त्रैमासमा सरकारको राजस्व संकलन र बजेट खर्च दुवैको अवस्था न्यून देखिएको छ। महालेखा नियन्त्रक कार्यालयकाअनुसार असोज मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको १५ दशमलव ९३ प्रतिशत राजस्व संकलन गरेको छ भने १६ दशमलव ०२ प्रतिशत बजेट खर्च गरेको छ। 

National life

चालु आवका लागि सरकारले रू १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो। पहिलो त्रैमासिक अवधिमा रू दुई खर्ब ८० अर्ब ५७ करोड २५ लाख बराबर बजेट खर्च भएको छ। जुन खर्च वार्षिक विनियोजनको १६ दशमलव दुई प्रतिशत बराबर हो। 

यो अवधिमा सरकारले चालुतर्फ १८ दशमलव ६९, पुँजीगततर्फ पाँच दशमलव नौ र वित्तीय व्यवस्थातर्फ १६ दशमलव ०५ प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकबाट देखिन्छ। चालु शीर्षकमा रू ११ खर्ब ४१ अर्ब ७८ करोड बराबरको वार्षिक बजेट रहेकोमा असोज मसान्तसम्ममा रू दुई खर्ब १३ अर्ब ३९ करोड बराबर खर्च भएको छ।

त्यस्तै, पुँजीगत शीर्षकमा रू तीन खर्ब दुई अर्ब सात करोड बराबरको वार्षिक बजेट रहेकामा हालसम्म रू १७ अर्ब ८३ करोड ३१ लाख बराबर खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकमा रू तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर बजेट छुट्याइएकामा पहिलो त्रैमास अवधिमा रू ४९ अर्ब ३४ लाख ९० हजार बराबर खर्च भएको छ।

हालसम्मको सरकारी राजस्व संकलन हेर्दा रू दुई खर्ब ३४ अर्ब ६३ करोड २४ लाख बराबर रहेको छ। जुन वार्षिक लक्ष्यको १५ दशमलव ९३ प्रतिशत बराबर हो। सरकारले चालु आवका लागि रू १४ खर्ब ७२ अर्ब ४८ लाख ४७ हजार बराबर वार्षिक राजस्व उठाउने लक्ष्य राखेको छ।

पहिलो त्रैमासमा संकलन भएको राजस्वमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको १५ दशमलव २८ प्रतिशत अर्थात् रू एक खर्ब ९९ अर्ब ४६ करोड २१ लाख र गैरकर राजस्वतर्फ वार्षिक लक्ष्यको १६ ददशमलव ७९ प्रतिशत अर्थात् रू १९ अर्ब ६५ करोड ३० लाख बराबर रहेको छ। चालु आवका लागि रू ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म वार्षिक लक्ष्यको शून्य दशमलव १२ प्रतिशत अर्थात् रू ६ करोड १८ लाख बराबर अनुदान लिएको छ।

प्रकाशित: Oct 18, 2023| 18:02 बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्