बिहीबार, वैशाख २०, २०८१

सत्ता राजनीतिमा एमाले कार्ड

अहिले सम्पूर्ण कम्युनिष्ट मत ५० प्रतिशतभन्दा बढी छ। यस्तोमा कम्युनिष्ट एकता कति भारी पर्छ, यो कुरा नेपाली कांग्रेसले राम्रोसँग बुझेको छ।
 |  सोमबार, असोज २९, २०८०

भानु बोखिम

भानु बोखिम

सोमबार, असोज २९, २०८०

मूलत: अहिले पछिल्लो निर्वाचनअघिकै सत्ता गठबन्धन कायम छ। सत्ता गठबन्धनमा रहेका दलहरुबीच वा दलभित्र द्वन्द्व छ। यो द्वन्द्वमा खेलेर गठबन्धन टुटाउनु नेकपा एमालेको एकमात्र अभिष्ट हो। तर, आफ्नो अभिष्ट पूरा गर्न खोज्दा एमाले आफैं प्रचण्डबाट एक पटक प्रयोग भइसकेको छ। पछिल्लो पटक एमाले  पुनः षड्यन्त्रको खेलमा सामेल भएको छ। तर, षड्यन्त्रमा सफल हुन्छ वा आफ्नै षड्यन्त्रको शिकार हुन्छ, यसको छिनोफानो केही समय लाग्न सक्छ।

triton college

राजनीतिमा मतदेभ चलिरहन्छन्, तर मनभेद हुनु हुँदैन भनिन्छ। तर यी तर्कहरु नैतिकवान् राजनीतिकर्मी वा दललाई हो। हाम्रो जस्तो बाह्रै काल सत्ताको दाउपेचमा लाग्ने नेताहरुको अघि मतभेद र मनभेद दुवै स्वार्थले निर्धारण गर्छन्। वास्तवमा गठबन्धन सैद्धान्तिक धरातल मिल्नेहरुबीच हुनुपर्ने हो, तर कम्युनिष्ट पृष्ठभूमिको ठूलो दल प्रतिपक्षमा रहँदा दोश्रो र तेश्रो कम्युनिष्ट दल नेपाली कांग्रेससहित सरकारमा छ। हुन त सिद्धान्तको कुरा दलको घोषणापत्रमा मात्र सीमित छ। व्यवहारत: सबै दल पुँजीवादी र सत्ताप्रेमी हुन्। यस्तो अवस्थामा संघीय संसद्‍मा दोश्रो ठूलो दल रहेको नेकपा एमालेले सत्तारोहण गर्न खोज्नु आश्चर्यको कुरा हैन।

माओवादी र एमालेको एकतापछि केपी ओली शक्तिशाली प्रधानमन्त्री भए। तर, आफ्नै पार्टीका शक्तिशाली प्रधानमन्त्रीबाट प्रचण्ड र माधवकुमार नेपालले अपमानित महसुस गरे। यति अपमानित महसुस गरे कि अझै पनि उनीहरुको लागि ओलीसँगको सहकार्य अन्तिम विकल्प हो। सकेसम्म नेपाल र प्रचण्ड दुवैको लागि देउवा नै प्रिय पात्र हुन्। पार्टीगत हिसाबले दुवै नेतालाई नेपाली कांग्रेसभन्दा एमालेसँग सहकार्यको चाहना छ। उनीहरुले समय-समयमा उठाएको समाजवादको लक्ष्य र कम्युनिष्ट एकताले यही कुरा इंगित गर्छ। तर, दुवैको लागि कम्युनिष्ट एकतामा ओलीको समस्या छ। भलै उनीहरुले उठाएका समाजवादको लक्ष्य सार्वजनिक खपतका विषय हुन्, तर कम्युनिष्ट एकता भने उनीहरुले चाहेकै कुरा हुन्।

बदलिँदो राजनीतिक परिवेशमा यो माधव नेपाल र प्रचण्डको दलसहित एमालेको लागि पनि बाध्यता बन्दै गएको छ। यद्यपि यो एकताको लागि प्रचण्ड र माधव दुवै ओलीको वर्चश्व स्वीकार्न सक्ने अवस्थामा छैनन्। त्यो अर्थमा उनीहरुले ओली र उनको दललाई प्रयोग मात्र गर्न सक्छन् र प्रचण्डले एक फेर प्रयोग पनि गरिसकेका छन्।  

निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री हुन चाहेका थिए। तर, देउवाले पार्टीको विमति देखाएर प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्न चाहेनन्। त्यही मौकामा ओलीले गोटी चाले। एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भए। यसले प्रचण्डपछि ओली प्रधानमन्त्री तय गरेको थियो। तर, प्रचण्डले आफू प्रधानमन्त्री हुन र देउवालाई पुरानो बाचा सम्झाउनको लागि खेलेको कार्डमात्र सावित भयो ओली र उनको दल। अहिले कांग्रेसकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री छन्। तर, राजनीति हो, प्रयास गर्न छाड्नु हुन्न। केपी ओली सत्ता गठबन्धनमा खेल्न प्रयासरत छन्। पछिल्लो समय कोशी प्रदेशको सरकार गठनमा खेल्ने प्रयास गरेका छन्, जसको केन्द्रविन्दुमा भने फेरि पनि देउवा नै छन्।

corrent noodles
Metro Mart
shekhar_deuwa_prachanda-1697273594.jpg
कांग्रेस नेता शेखर कोइराला, सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड।

देउवालाई साइजमा ल्याउनको लागि प्रचण्डले ओली र एमाले कार्ड खेलेका थिए भन्नेमा अब सन्देह रहेन। उनै देउवासँग असन्तुष्ट कांग्रेसकै शेखर कोइरालाले एमालेको समर्थनमा आफू पक्षीय नेतालाई मुख्यमन्त्री बनाउन सफल भएका छन्। तर, खेल बाँकी नै छ। खेल ओलीले भने जस्तो नबढ्ने संकेत पनि देखिइसकेको छ। अहिले एमालेको समर्थनमा शेखरले आफ्नो पक्षका नेता केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त त गराए, तर गठबन्धन नतोड्ने भनेर गरेको हस्ताक्षर सहितको चिर्कटो पनि समाचारहरुमा छाइसकेको छ। यसको अर्थ यो हो कि उनले चाहँदैमा एमालेसँग सहकार्य हुँदैन।

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले चाँडै विश्वासको मत लिँदैछन्। सत्तारुढ दलको विगतको रवैया नियाल्ने हो भने मुख्यमन्त्री केदार कार्कीलाई एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र माओवादीले पनि विश्वासको मत दिन सक्छन्। यस्तो भयो भने कोशी प्रदेशको सरकारमा बस्न एमालेलाई नैतिक कठिनाइ पर्नेछ। सरकारबाट बाहिरिए पुनः एमाले देउवाको हैकमविरुद्ध प्रयोग भएको सावित हुनेछ।

शेखर देउवाको शैलीसँग असन्तुष्ट छन्। देउवाको निर्णयविरुद्ध जानको लागि शेखरले ओलीको सहारा लिए। तर, गठबन्धन भने देउवाको मात्र आवश्यकता हैन सिंगो कांग्रेसको आवश्यकता हो। साथै गठबन्धन संस्कृतिको लागि प्रचण्ड र नेपाल जति सहज छन्, त्यति सहज नहुन सक्छन् ओली। यो अर्थमा शेखरको रुची एमाले र ओलीसँग हैन। तर देउवाको शेखी झार्न प्रयोग गरिएको कार्डमात्र हो।

२०१५ सालमा पहिलो निर्वाचन हुँदा कम्युनिष्ट मत १० प्रतिशत पनि थिएन। तर, अहिले सम्पूर्ण कम्युनिष्ट मत ५० प्रतिशतभन्दा बढी छ। यस्तोमा कम्युनिष्ट एकता कति भारी पर्छ, यो कुरा नेपाली कांग्रेसले राम्रोसँग बुझेको छ। अर्काेतिर कम्युनिष्ट एकता माधव र प्रचण्ड दुवैको चाहना हो भन्ने कुरा कहिँकतै छिपेको छैन। ओलीसँगको अरुचिले मात्र उनीहरु अघि बढिरहेका छैनन्। तर, पछिल्लो घटनाक्रमले एमालेमा ओलीको एकछत्र राज भत्किएको संकेत गरेको छ। यो माधव र प्रचण्डको चाहना अनुकूलको हो। यस्तो भएमा कम्युनिष्ट एकताको कुरा अघि बढ्न सक्छ। त्यसको लागि उनीहरुलाई सरकारमा राखेर एमालेसँग दूरीमा राख्नु नै कांग्रेसले आफ्नो हित देख्छ।

राजनीति कुनै दल विशेषले सोचेजस्तो अघि बढ्दैन। यहाँ निरन्तर प्रतिस्पर्धा र दाउपेच चलिरहन्छ। यद्यपि अहिले सत्तासिन साना कम्युनिष्टको ओलीप्रतिको अरुचि र एमालेसँग कांग्रेसले देखेको चुनौती नै सत्तासिन दलहरुको मिलन विन्दु हो। यस्तोमा एक अर्कालाई घुर्क्याउन मात्र एमाले प्रयोग भएको थियो र फेरि पनि प्रयोग भएको सावित हुने सम्भावना प्रबल छ।

प्रकाशित: Oct 16, 2023| 14:50 सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्