शनिबार, वैशाख २६, २०८३

बीपीका विचार नमान्दा कांग्रेस कमजोरः शशांक कोइराला

कांग्रेसभित्र सत्ता र शक्ति आर्जनको भोक बढेकाले बीपी विचार ओझेल परेको पुत्र शशांको चिन्ता।
 |  शनिबार, असोज २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २७, २०८०

काठमाडौं–बीपीपुत्र डा शशांक कोइरालाले पार्टीभित्रको इतिहास र विचारका कारण कांग्रेस अरु पार्टीभन्दा बलियो रहेको बताएका छन्। आज कांग्रेस र नेविसंघ लमजुङ–काठमाडौं सम्पर्क समितिले दसैं, तिहार तथा छठ पर्वका अवसर आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा कोइरालाले पछिल्लो समय कांग्रेसभित्र बिपीको विचार समाप्त हुने डर लागेको बताएका हुन्। 

National life

‘बिपीको विचारमा उभिएर पार्टी अगाडि बढेकाले आपसी एकताका साथ बिपीको विचार अँगालेमा कांग्रेसलाई कुनै शक्तिले हराउन सक्दैन’, नेता कोइरालाले भने।उनले बिपीको पहिलो सरकारको पालामा नेपालमा विकासको ढोका खुलेको स्मरण गर्दै देशमा भएको सम्भावनालाई उच्चतम प्रयोग गरी विकास र समृद्धिका लागि पार्टीका नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा कांग्र्रेस नेता दिलबहादुर घर्तीले १२ बुँदे सम्झौताका आधारमा देशमा शान्ति  र स्थिरता कायम भएको बताए। उनले अहिलेको संविधान कांग्रेसको नेतृत्वमा जारी भएकाले कार्यान्वयनको जिम्मेवारी पनि पार्टीकै काँधमा रहेको उल्लेख गरे।

कांग्रेस केन्द्रीय सदस्य नानु बाँस्तोला र लक्ष्मी खतिवडाले पार्टीलाई कमजोर बनाउन विभिन्न शक्ति लागेको भन्दै सचेत भएर अगाडि बढ्नुपर्ने बेला आएको बताए।कांग्रेस लमजुङका सभापति डा टकराज गुरुङ र पूर्वसभापति भेषबहादुर पौडेलले लमजुङमा पार्टीलाई विजय बनाउन काठमाडौंमा बसोबास गर्ने कार्यकर्ताको ठूलो भूमिका रहेको धारणा व्यक्त गरे।

संविधानसभा सदस्य चन्द्रबहादुर कुँवर, पूर्वसहायकमन्त्री डा रामचन्द्र अधिकारी, कांग्रेस गण्डकी प्रदेशका संगठन विभाग प्रमुख हरि बराल, नेविसंघका पूर्वकोषाध्यक्ष शिव रिमाल, नेविसंघ लमजुङ–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष डिबी पराजुलीलगायतले लमजुङमा अग्रजले गरेको त्यागलाई आत्मसात गर्दै कांग्रेसको संगठन विस्तारमा जुट्नुपर्ने बताएका थिए।

कांग्र्रेस लमजुङ–काठमाडौं सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारी, सचिव रमेश अधिकारीलगायतले पार्टीभित्र युवा पुस्तालाई अगाडि बढाउन जरुरी रहेको बताए।–रासस 

प्रकाशित: Oct 14, 2023| 18:37 शनिबार, असोज २७, २०८०
प्रतिक्रिया दिनुहोस्