काठमाडौं–सत्तारुढ कांग्रेसभित्रको किचलोले कोशी प्रदेशमा भत्किएको १० दलीय गठबन्धनको धागोलाई चुँडिन नदिन केन्द्रमा कांग्रेस र माओवादीबीच फेरि सम्झौता भएको छ। गठबन्धनमा कांग्रेसको भागमा परेको मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने संस्थापन सभापति शेरबहादुर देउवाको निर्णयपछि संस्थापन इतर शेखर कोइराला समूहले एमालेसँग मिलेर आजै मात्र कोशीमा मुख्यमन्त्री पाएको छ।
कोशीमा कोइरालाको समर्थन र एमाले सांसदको हस्ताक्षर बुझाएर आज मात्रै केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन्। कार्कीलाई कांग्रेसकै ८ सांसदले समर्थन जनाएका छन्।
यसअघि बुधबार धुम्बाराही निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकमा सभापति देउवाले कोशीमा कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्न राप्रपासँग समेत वार्ता गर्ने बताएका थिए। तर, देउवाले गरेको उक्त घोषणा विपरीत बिहीबार सत्ता गठबन्धन बैठकले एकाएक नेकपा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति गरेपछि शेखर समूह आक्रोशित भएको थियो।
त्यसलगत्तै शेखर समूहले कांग्रेस नेता कार्कीको नेतृत्वमा कोशीमा सरकार निर्माणका लागि एमालेसँग सहमति गरेपछि राजनीति एकाएक जटिल मोडमा पुगेको हो। साढे दुई वर्षअघि निर्माण भएको हालको गठबन्धनले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई सत्ताबाट हटाएको थियो। त्यसैले सत्ताविमुख भएको केही समयदेखि नै अहिलेको र अघिल्लो प्रतिनिधिसभाकालमा ओलीले गठबन्धन तोड्ने प्रयास थाले पनि सकेनन्। ओलीले केन्द्रमा नसके पनि कोशीमा भत्काइदिनासाथ सत्ता गठबन्धनका नेताहरु त्रसित भएको बुझ्न कठिन छैन।
सोही कारण कोशीमा एमालेको सहयोगमा मुख्यमन्त्री बनेका कार्कीलाई सत्ता गठबन्धनबाटै मत दिइने प्रधानमन्त्री प्रचण्ड, देउवालगायतका नेताहरुले बताइसकेका छन्। यो भनेको एमालेबाट कोशीमा मुख्यमन्त्री बनेका कार्कीले गठबन्धनबाटै मत पाउने संकेत देखिँदै छ।
आमनिर्वाचन २०७९ पछि देउवाले माओवादी प्रचण्डलाई प्रधानमन्त्री छाड्न नमान्दा सत्ता गठबन्धन केही साताका लागि टुट्यो। तर, दुई महिना पुग्दानपुग्दै राष्ट्रपति निर्वाचनमा फेरि कांग्रेस–माओवादी पुरानै गठबन्धनमा फर्किएका थिए।
कांग्रेस–माओवादीसहितको गठबन्धन केन्द्रमा एकढिक्का छ। तर, त्यो गठबन्धन कोशीको हकमा भने टुटेको छ। गठबन्धनको केन्द्रीय निर्णय विपरीत कोइराला समूहले एमालेसहितको सहयोगमा कोशीमा सरकार बनाएपछि केन्द्रमा गठबन्धनमा रहेका दलहरु खासगरी माओवादी र कांग्रेस एकअर्का सशंकित हुने अवस्था आइपुगेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल, सभापति देउवा र प्रधानमन्त्री प्रचण्डले फोन, वार्ता गर्दासमेत अस्वीकारेर कोशीमा गठबन्धनलाई बगाएदिएका शेखरले अन्यत्रका प्रदेश र केन्द्रमा गठबन्धन सरकारलाई नटुटाउने भनेर आजै मात्र हस्ताक्षर गरेका छन्। नेता कोइरालाले सत्ता गठबन्धनप्रति दृढ रहने लिखित प्रतिबद्धतासमेत जनाएका छन्।
सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि कोइराला समूहले पार्टी निर्णलाई बेवास्ता गर्दै एमालेसँग सहकार्य गरेको हो। कोशीमा कोइराला नजिकका कार्कीले कांग्रेसका ८ प्रदेश सांंसद र एमालेका ३९ जनासहितको हस्ताक्षर बुझाएपछि आज बिहान मात्रै प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका छन्।
एमाले समर्थनबाट कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका शेखर पक्षीय नेता केदार कार्की।
कोशीमा प्रदेश सांसदहरुको सनाखत भइरहँदा बालुवाटारमा भने सत्ता गठबन्धनका नेताहरुको बैठक बसेको थियो। बैठकमा सत्ता गबन्धनलाई कायमै राख्ने सहमति भएको छ। कोशीबाहेक गण्डकी, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम र बागमतीमा पनि कांग्रेस–माओवादी गठबन्धनकै सरकार छन्।
कोशीले सहमति बगाएजस्तै अरु प्रदेशमा पनि किचलो आउन सक्ने आशंकामा प्रचण्डले देउवा र कोइरालालाई वरिपरि राखेर गठबन्धनलाई बलियो बनाउनुपर्ने वक्तव्य निकाल्न लगाएको बुझिएको छ।
सोहीअनुसार प्रचण्ड, देउवा र नेता कोइरालाले लिखित सहमति नै गरेका छन्। जसमा भनिएको छ, ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र प्रस्ट छौं। यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुने दिने छैनौं।’
गठबन्धनलाई नभत्काउने निर्णय तीन नेताबीच भएको प्रधानमन्त्री प्रचण्डले समेत बताएका छन्। आज चितवन पुगेका प्रचण्डले कार्कीजी अब हामी सबैको मुख्यमन्त्री भनेकाले राजनीतिक घटनाक्रम थप जटिल मोडमा पुग्ने आशंका पनि बढाएको छ। प्रचण्डले कोशीमा कांग्रेस संस्थापन इतरबाट मुख्यमन्त्री बनेका केदारलाई स्वीकार गरेको बताएका छन्।
‘अहिले कार्कीजी मुख्यमन्त्री बन्नुभएको छ। अब उहाँ हामी सबैको पनि मुख्यमन्त्री हुनुभयो। त्यसकारण त्यो समस्या जसरी सोचिएको र मिडियामा जसरी चर्चा परिचर्चा भएको छ, अब सेफ ल्यान्डिङ गरिएको छ,’ उनले भने। कोशीमा जे भयो–भयो, अन्यत्र नहोस् भन्ने चाहना सत्तारुढ दल र गठबन्धनभित्र बलियो भएको प्रचण्डले दाबी गरे। उनले भने, ‘आज बिहान मात्रै कांग्रेस सभापति शेरबहादुरजी, म आफैं र शेखरबीचमा एउटा समझदारी बनाएका छौं। हामी गठबन्धनलाई बलियो बनाउनेमा दृढ र स्पष्ट छौं। कुनै पनि हालतमा गठबन्धनलाई कमजोर बनाउन दिइने छैन।
राजनीतिमा चिसो–तातो भइराख्ने हुँदा कहिलेकाहीँ गठबन्धनभित्र विवाद हुँदा झन् बलियो भएर आउने पनि वातावरण बन्ने आफूलाई विश्वास रहेको प्रधानमन्त्री प्रचण्डले सुनाए। उनले भने, ‘आज बिहान भएको सहमतिले गठबन्धनलाई अझ बलियो बनाउन मद्दत गर्छ। विश्वासको मत दिने कुरा भइहाल्यो। अब केन्द्रको गठबन्धन बलियो हुने हामीबीच सहमति भएपछि विवाद हट्यो।’ प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले पनि कोशीमा गठबन्धनकै सरकारले निरन्तरता पाउने बताए। ‘कोशीमा कांग्रेस नेता केदार कार्कीको नेतृत्वमा गठबन्धनकै सरकार कायम रहन्छ,’ उनले भने।
९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ सांसद आवश्यक पर्छ। कोशीमा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीको एक सांसद छन्।
आज मात्रै मुख्यमन्त्री नियुक्त कार्कीले संविधानअनुसार एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिँदा ४७ संख्या जुटाउन अहिले हस्ताक्षर गरेका कांग्रेसका ८ र एमालेका ३९ सांसदले साथ देलान् या राजनीति अर्कै बाटो दौडिएला? त्यो भने पर्खिनुपर्नेछ।