काठमाडौं– कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन्। कांग्रेस संस्थापन इतर समूह शेखर कोइराला निकट केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि संस्थापन पक्षका नेता थापाले संसदीय दलको नेताबाट राजीनामा दिएका हुन्।
आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्रीबाट हटाइएका थापाले नैतिकताका आधारमा राजीनामा दिएको बताए।कोशीको विकसित राजनीतिक घटनाक्रम र नयाँ सरकार निर्माणको घटनाक्रमका कारण राजीनामा दिएको उनको भनाइ छ।
‘पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घटनाक्रमले गर्दा नैतिक रुपमा मैले संसदीय दलको नेताको रुपमा बसिरहन उपयुक्त नभएको महसुस गरी आजको मितिदेखि लागू हुने गरी मैले नेपाली कांग्रेस कोशी प्रदेश ससदीय दलको नेताको पदबाट राजीनामा दिइएको जानकारी गराउँदै दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहँदै आगामी दनमा क्रियाशील रहनेछु’ उनले राजीनामापत्रमा भनेका छन्।
कोशीमा दुई दुई पटक मुख्यमन्त्री बनेका थापाको दुबै पटकको सरकार सर्वोच्चको आदेशमा पदमुक्त भएका थिए। थापाले कार्की मुख्यमन्त्री भएकामा बधाइ दिएका छन्। उनले कार्की मुख्यमन्त्री भएकै दिन राजनीनामा दिनु संयोगमात्र भएको बताए। ‘यसमा कुनै आग्रह, पूर्वाग्रह छैन,’ उनले भने।