काठमाडौं– सत्तारुढ कांग्रेसको दुई गुटका कारण अन्योल हुँदै आएको कोशी प्रदेशमा अन्ततः मुख्यमन्त्री नियुक्त भएका छन्। कोशीको मुख्यमन्त्रीमा संस्थापन इतर शेखर कोइराला समूहका केदार कार्की नियुक्त भएका हुन्।
आज बिहान ४७ जना सांसदको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ र कांग्रेसको कोइराला पक्षका ८ गरी ४७ जना सांसले हस्ताक्षर गरेका छन्।
हस्ताक्षर सनाखत भएसँगै प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबोलाई कोशीको मुख्यमन्त्री बनाउने सहमति गरेको थियो। सोहीअनुसार शुक्रबार आङ्बोले बहुमत सांसदको हस्ताक्षरसहितको दाबी पेस गरेका थिए।
दुवै पक्षले बहुमत सदस्यहरूको हस्ताक्षर पेश गरेपछि प्रदेश प्रमुख खापुङले शुक्रबार ढिला भएका कारण सनाखत गर्न आज बिहान ८ देखि २ बजेसम्मको समय छुट्याएका थिए। मुख्यमन्त्रीमा कार्कीलाई समर्थन गरेका सांसदहरू ९ बजे प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका थिए।
हस्ताक्षर गरेका सांसद सशरीर उपस्थित भएर सनाखत गरेपछि कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको सूचना प्रदेश प्रमुखको कार्यालयले जारी गरेको छ।
